नेकपाबाट उपनिर्वाचनमा उम्मेदवार हुनेको टुंगो भोलि

|

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे सचिवालयका सदस्यहरूलाई जानकारी दिएका छन्।

ओलीले शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा बुधबार र बिहीबार ग्रान्डी अस्पतालमा भएको डायलाइसिस तथा त्यसपछिको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्य जाँचको रिपोर्ट आइनसकेकाले अगाडि के गर्ने भन्नेबारे छलफल नभएको प्रवक्ता श्रेष्ठको भनाइ थियो।  

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे पत्रकारहरूलाई श्रेष्ठले भने, ‘उहाँ सिकिस्त भएको होइन, तर उहाँको स्वास्थ्यमा केही समस्या देखापरेका कारणले परीक्षण भइरहेको छ।‘

श्रेष्ठले थपे, ‘प्रधानमन्त्रीको केही स्वास्थ्य प्रतिवेदन आउन बाँकी छ, त्यो प्रतिवेदन प्राप्त भएपछि उपचारका अरु माध्यमका बारेमा आवश्यक निर्णय हुन्छ।‘प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा डायलाइसिसपछि सामान्य अवस्थामा काम गरिरेको जानकारी दिए।

उपनिर्वाचनका उम्मेदवारको टुंगो भोलि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ।

नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिएका थिए। उनका अनुसार समय अभावले आजको बैठकबाट उम्मेदवारको टुङ्गो लगाउन नसकेको हो।

बैठकले तल्लो तहबाट आएका उम्मेदवारको सिफारिसमा प्रारम्भिक छलफलसमेत गरेको जनाइएको छ। ‘बैठकमा हामीले क्षेत्रीय निर्वाचन समन्वय समिति, जिल्ला कमिटी र प्रदेश कमिटीबाट आएका सिफारिस अध्ययन गरेका छौँ, तिनमा छलफल शुरु भएको छ’, श्रेष्ठले भने, ‘भोलिको  बैठकपछि उम्मेदवारको घोषणा गर्नेछौँ।‘

पार्टीले उम्मेदवार सिफारिस गर्दा तल्लो तहलाई कम्तीमा तीन जनाको नाम भने पनि कतिपय ठाउँबाट एक जनाको नाममात्र पनि सिफारिस छ भने कतिपय ठाउँबाट दुई, तीन जनाको सिफारिस भएको प्रवक्ता श्रेष्ठले बताए।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.