समाज

मैथिली, पहाडी र अवधि समुदायमा एकता र सदभाव बढाउने पर्व छठ

कात्तिक १६, २०७६

    कपिलवस्तु : तीनदशक अघिसम्म पूर्वी जिल्लाहरूबाट नोकरीका लागि कपिलवस्तुमा आएका तीन/चार परिवारले मात्र मनाउने गरिएको छठ पर्व बिगत केही वर्ष यता बिभिन्न जातजातिले समेत मनाउन थालेका छन्। पूर्वी जिल्लामा मनाइने छठ अहिले जनजाति, दलित, मुस्लिम, मधेसी समुदायले समेत धुमधामले मनाउन थालेका छन्। अहिले भने छठ पर्व जिल्लामा एकता र सदभावको पर्व बनेको छ।

    मैथीली, पहाडी र अवधी समुदायलाई छठ पर्वले जोडेको छ। केही वर्ष अघिसम्म पूर्वी तराइका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समाबेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत बिभिन्न जातजातिले समेत मनाउन थालेपछि यो पर्व समोबशी र सांस्कतिक पर्वका रुपमा विकसित हुँदै गएको हो।

    बिशेषगरी पूर्वका मधेसी समुदायले मात्र अंगालेको छठ पहाडी, नेवारी, मधेसी, दलित, मुस्लिम, जनजातिलगायतमा समेत लोकप्रिय बन्दै गएको पाइएको छ।आराध्य देव सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व बिहीबारबाट सुरु भई आइतबार सम्पन्न हुँदैछ। शनिबार परेको छठको पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर बिशेष पूजा गरिएको छ।

    कपिलवस्तु नगरपालिका ३ जमुहार खोला र रामघाट नदी, जर्लेहिया, शिवराज नगरपालिकाको नौडिहवा, यशोधराको मर्जादपुर, मायादेबीको बर्रोहिया, बाणगंगाको गजेहडा र कृष्णनगर लगायतका जिल्लाका बिभिन्न स्थानमा छठको पूजा गर्ने गरिन्छ।

    मुल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवामा बिभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ बिगत ५ वर्ष यता जिल्लाका बिभिन्न जातजातिले समेत छठ पर्व मनाउने गरेका छन्।

    जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चार नम्बर, चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउनेको संख्या हरेक वर्ष बृद्धि हुँदै गएको छ। छठ पुजन समितिका सचिव सूर्य नारायण कर्णले पूर्वी जिल्लाबाट नोकरीका लागि कपिलवस्तु आएका आधा दर्जन परिवारले मात्र मनाउने गरेको बताए। ‘चार/पाँच परिवारमा सीमित यो पर्व अहिले समाबेशीका रुपमा विकसित हुँदै गएको छ’ उनले भने।

    कपिलवस्तु नगरपालिका १ की नेवार समुदायकी महाश्येता शाक्यले पाँच बर्ष अघिदेखि छठपर्व मनाउँदै गएको बताइन्। माइती घरमा छठ पर्वको बारेमा सुने पनि पर्व मनाउने तर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाइलो लाग्ने गरेको बताइन्।

    बिभिन्न जात जातिहरूले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदान-प्रदान समेत हुने उनी बताउछिन्। कपिलवस्तु नगरपालिका–नयाटोलकी ६५ वर्षीय सुघरमती कुर्मीले जमुहरा नदीमा सबैसँग सामुहिक पूजा गर्ने गरेको बताइन्। यस पटक पनि छठ पूजाको तयारी गरेकी उनले मधेसी पहाडी सबै जातजातिसँग सामुहिक रुपमा पर्व मनाउन पाउँदा खुशी लागेको बताइन।

    ‘सबै जना नदीमा गएर पूजा गर्छाैं कुनै भेदभाव छैन’, उनले भनिन्। पूर्वीय संस्कृतिमाथि बिस्तारै पश्चात्यको पकड बढीरहेको बेला यो पर्वको ब्रतालु र श्रद्धालु बढनुले पनि यो पर्वको झन् महत्व बढ्दै गएको संस्कृतीविद् पशुपतिमणि त्रिपाठीले बताए।

    यो पर्वको महत्व र लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिनु पर्ने युवाअगुवा संजय मिश्रको माग छ। छठ पर्वको पहिलो दिन अर्थात कातिक शुक्ल चौथीको दिनदेखि सुरु हुने गर्दछ। पहिलो दिनलाई नहान खान भनिन्छ। यस दिन बिशेष शुद्धाशुद्धि अपनाइन्छ। यस दिनदेखि श्रद्धालुहरूले लसुन, प्याज, मसुरोको दाल, कोदो लगायतको परिकारको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गरिन्छ।

    दोस्रो दिन अर्थात पंचमीलाई खरना भनिन्छ। यस दिन ब्रतानलुहरू दिनभरि उपवास बसी बेलुका चन्द्रमाको दर्शन गरी सकेपछि मोटको नयाँ चुलो र भाडामा सख्खर, दूध, र चामलको खीर पकाइन्छ। केराको पातमा राखेर खीर छठी मातालाई चढाइन्छ र त्यसलाई प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ। पर्वको तेस्रो दिन अर्थात षष्ठीलाई सझियाघाट भनिन्छ।

    पर्वको मुख्य दिनका रुपमा रहेको यस दिन बिहानै तेल र ध्युमा चामलको ठेकुवा र कसार लगायतका परिकार पकाई पाँच थरिका मिठाई, उखु, अदुवा, नरिबल, मुला, सुथनी, सुपारी, ल्वाङ र सुकमेल लगायतका सामग्री राखिन्छ। सो सामग्री बासको टोकरी, सुपोमा राखेर जल, गाईको दूधसहित छठ पर्व मनाउने घाट वा जलासयमा पुगेर पूजापाठ गरी अस्ताउदो सूर्यलाई अर्घ दिई  घर फर्कने गर्दछन्। कतिपय ब्रतालुहरू घर नफर्की रातभरि बस्ने गर्छन्।

    भाकल बसेका केही ब्यक्तिले माटोका देबी देवताका मूर्ति बनाई पूजाआजा गर्नछन् जसलाई कोशिया भनिन्छ। कार्तिक सप्तमीका दिन उदाउदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व बिधिवतरुपमा सम्पन्न हुने गर्दछ। छठ पर्वका बिषयमा बिभिन्न कथा र किंबदन्ती रहेको पाइएको छ।

    सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको बताइन्छ। यस्तै महाभारतमा पाँच पाण्डवले बसेको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको थिइन्। त्यही बेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाई छ।

    पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडित बनेका साम्ब सूर्यको आराधनाबाट रोगमुक्त बनेपछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको जानकार बताउछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]