पाल्पा : तानसेन नगरपालिका र माथागढी गाउँपालिकामा पर्ने माडीफाँटमा रहेका खेतमा धान काट्ने चटारो छ। यतिबेला किसानहरु धान काट्न, मुठा बाध्न, उठाउन व्यस्त छन्।
कसैले खेतमै धान झारिरहेका छन्। केहीले थ्रेसरबाट पराल र धान छुट्याइरहेको देखिन्छ। जिल्लाको अन्न भण्डारको रुपमा चिनिएको माडीफाँटमा रोपिएको धान स्याहार्न यहाँका किसान बिहानैदेखि बेलुकी अबेरसम्म व्यस्त रहेका छन्।
मानबहादुर थापाले करिब २० रोपनी खेतमा लगाइएको धान काट्न करिब ५० जना खेतला लगाएको बताए। तर, ती खेतला पर्ममा आएका उनले बताए। ‘गाउँमा ज्यालादारी कामदार पाउन मुस्किल छ,’ थापाले भने, ‘पहिले छिमेकीको घरमा काम गर्न जान्छौं। त्यसपछि त्यही कामको पर्म (पैंचो) तिर्न उनीहरु आउँछन्। यसरी काम गर्न निकै सजिलो हुन्छ।’
करिब ६ महिनाको बच्चालाई काखमा लिएर खेतमा पुगेकी ढाकाकुमारी कुमलाले खेतमै कोक्रो बनाएर बच्चालाई सुताएकी छिन्। उनी साथीहरुसँग खेतमा धान काटिरहेकी छिन्। ‘एक्लै काम गर्न सकिँदैन्, गाउँमा पैसा तिरेर खेतला पनि पाइँदैन्,’ उनले भनिन्, ‘सिंगो गाउँ मिलेर एकापसमा सबैको धान काट्ने, उठाउने र दाइँ गर्ने अर्थात थ्रेसरबाट धान र पराल अलग अलग गराउने काम गर्छौं। घरमा एक्लै भए पनि छिमेकीसँग मिलेर आलोपालो काम गर्दा खेती गर्न सजिलो भएको छ।’
गाउँमा अझै पनि भाइचारको सम्बन्ध कायम रहेको तानसेन नगरपालिका–५ सेतीपोखरीका रवि विष्टले बताए। आफुलाई जान्ने र ठूला नेताहरु भन्नेहरुमा मानवीयता हराउँदै गए पनि गाउँका सामान्य किसानको यस्तो मिलाप अनुकरणीय रहेको उनको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।