बागलुङ : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बागलुङमा २ स्वतन्त्र उम्मेदवार र ८ वटा पार्टीले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र नं २ को २ प्रदेशसभा सदस्यको लागि हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा साझा बाम उम्मेदवार खडा गरेका छन्। नेपाली कांग्रेसले भने यसअघिको निर्वाचनका उपविजेता उम्मेदवारलाई नै चुनावी मैदानमा उतार्ने गरी मनोनयन दर्ता गराएको छ।
समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टि संयुक्त र संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र मंगोल नेशनल अर्गनाईजेशनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
साझा बाम उम्मेदवारको रूपमा राष्ट्रिय जनमोर्चाका नेता खिमविक्रम शाहीको मनोनयन दर्ता भएको छ। कांग्रेसबाट जीत सेरचनले उम्मेदवारी दर्ता गराएका छन्। उनी सोही क्षेत्रमा भएको यसअघिको निर्वाचनमा उपविजेता बनेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट निमबहादुर भण्डारी उम्मेदवार बनेका छन्। समाजवादी पार्टीबाट अशोककुमार बिकले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले गणेशबहादुर कँवरलाई उम्मेदवार बनाएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई उम्मेदवार बनेका छन्। राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर मगरले मनोनयन दर्ता गराएका छन्। मंगोल नेशनल अर्गनाईजेशनको तर्फबाट मित्र बहादुर मगर उम्मेदवार बनेका छन्।
संयुक्त बाम उम्मेदवारको मनोनयन दर्ताका लागि नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष भीमप्रसाद शेरचन पनि उम्मेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मनोनयन दर्तापछि बोल्दै नेताहरूले आ-आफ्नै उम्मेदवारले जित्ने दाबी गरे।
विवेकशील नेपाली दलको समर्थनमा ढोरपाटन नगरपालिका १ का सन्तोष भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यता, नेकपामा असन्तुष्ट बनेका शेरमान घर्तीको पनि स्वतन्त्र उम्मेदवारी परेको छ।
बाममा बागी
नेकपामा उम्मेदवारका लागि प्रदेश सरकारलाई गरेको सिफारिसमा ६ जनाको लिस्टमा परेका घर्तीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। लामो समय पार्टीमा रहेर काम गरेको भए पनि पार्टीले मूल्यांकन नगरेको भन्दै उम्मेदवारी दर्ता गराएको घर्तीले प्रतिकृया दिए।
‘नेताका नजिक अरू रहेछन्, जनताका नजिकै बसेर मैले काम गरीरहेको छु’ घर्तीले भने ‘चुनावी परिणाम जनताका पक्षमा आउँछ त्यसैको लागि मेरो उम्मेदवारी हो।’
नेकपा केन्द्रले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने निणर्य गरेपछि बागलुङमा राजमोका खिम विक्रम मात्रै साझा उम्मेदवार थिए। नेकपामा असन्तुष्ट पक्षले बागी उम्मेदवारी दर्ताका लागि घर्तीलाई सघाएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।