च्याम्पियन्स लिग फुटबलमा जर्मन जाइन्ट वार्यन म्यनिख र इटालीयन महारथी युभेन्टस नकआउट चरणमा प्रवेश गरेका छन्। बुधबार राति भएको खेलमा जित निकालेसँगै यी दुबै टिमले अन्तिम १६ को यात्रा तय गरेका हुन्।
वार्यनले रोबर्ट लेवान्डोस्कीको गोलमार्फत खेलमा अग्रता बनाएको थियो। समूह बी को खेलमा बार्यनले ओलम्पिकासलाई २–० ले पराजित गरेसँगै नकआउटमा स्थान बनायो।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६९ औँ मिनेटमा लेवान्डोस्कीले गोल गरे भने ८९ औँ मिनेटमा इभान पेरिसिकको गोलपछि वार्यनले सहज जित नकाल्यो। लेवान्डोस्कीले बार्यनका लागि बुण्डेस लिगा र च्याम्पियन्स लिग गरी अहिलेसम्म सबै १४ खेलमा गोल गरेका छन्। उनले यी दुई प्रतियोगितामा गरेर २० गोल गरेका छन्।
युभेन्टस कम्तीमा उपविजेता
इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ। समूह डीअन्तर्गत बुधबार राति भएको खेलमा लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दे युभेन्टस कम्तीमा समुहको उपविजेता बनेर नकआउटमा स्थान बनाउने छ।
अवे मैदानमा भएको खेलमा युभेन्टसका लागि आरोन रामसी र डुग्लस कोस्टाले गोल गरे। लोकोमोटिभ मस्कोका लागि अल मिरानचुकले एक गोल फर्काए पनि हार टार्न पर्याप्त रहेन।
युभेन्टसका रामसीले क्रिष्टियानो रोनाल्डोको फ्रि–किक प्रहारलाई तेस्रो मिनेटमानै पोस्टको दिशा दिँदै टिमलाई सुरुवाती अग्रता दिलाए। तर १२ औँ मिनेटमा अल मिरान्चुकले मस्कोका लागि बराबरी गोल फर्काए। त्यसपछिका अधिकांश समय खेल बराबरी भए पनि इन्जुरी समयको तेस्रो मिनेटमा कोस्टाले गोल गर्दै युभेन्टसको तीन अंक पक्का गरेका थिए।
चार खेलबाट १० अंक जोडेको युभेन्टस कम्तिमा समूहको उपविजेताको रुपमा अन्तिम १६ मा पुग्ने पक्का भएको हो। समूह डीअन्तर्गत नै भएको अर्को खेलमा एथ्लेटिको म्याड्रिड बार्यन लेभरकुजनसँग २-१ ले पराजित भयो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।