ताप्लेजुङ : ‘तमोर नदीमा र्याप्टिङ (जलयात्रा) गर्दा अति नै रमाईलो हुन्छ। कहिले काहीँ डर पनि लाग्छ, यस्तोमा नै रमाउने हो।’ २४ जनाको विदेशीहरुलाई नेतृत्व गरेर आएका इटालियन नागरिक डेभिडले तमोर नदीमा र्याप्टिङ गर्नुअघि भने।
पछिल्लो समय उनीसहित अल्टिमेट रिभर कम्पनीमार्फत स्पेन, फ्रान्स, इटालीका नागरिकले आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको सिमाना रहेको तमोर दोभानबाट र्याप्टिङ सुरु गरेका छन्। र्याप्टिङको सिजन सुरु भएसँगै यस नदीमा विभिन्न कम्पनीले करिब ५० जना विदेशीलाई र्याफ्टिङ गराएका छन्।
दोभानबाट सुरु भएको जलयात्रा कावेली दोभान, माझीटार, मूलघाट हुँदै ५ दिनमा चतारा पुग्न सकिन्छ। यस जलयात्रा रुटलाई निकै साहसिक रुट मानिन्छ। ‘र्याफ्टिङ गर्न विश्वमा भएका कुनै पनि नदीमा यति रमाइलो हुँदैन।’ अर्का विदेशी नागरिक जोनले भने ‘यहाँको प्राकृतिक सुन्दरताले नै लोभ्याउँछ।’
६ जना जापानी नागरिकलाई र्याफ्टिङका लागि लिएर आएका र्याफ्टिङ स्टार कम्पनीका र्याफ्टिङ गाइड सुरेसकुमार चौधरीका अनुसार नेपालका र्याफ्टिङ गर्न मिल्ने १६ नदीहरूमध्ये यो नदी निकै अप्ठ्यारो छ। नेपालमा रहेका करिब ६ हजार नदी नालामध्ये तमोर, कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण लगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ।
‘पहिलो दिन तमोर दोभानदेखि कावेलीसम्म निकै जोखिम छ।’ र्याफ्टिङ गाइड चौधरीले भने ‘तर उनीहरू (पर्यटक) यस्तोमा नै र्याफ्टिङ गर्न मन पराउँछन्।’ तीव्र बहाव र पहाडका खोंचहरूमा समेत निकै साहसपूर्ण रूपमा जलयात्रा गरिन्छ । विदेशीहरू जोखिमपूर्ण क्षेत्रमा र्याफ्टिङ गर्न रुचाउने भए पनि नेपाली र भारतीयहरू भने जोखिम नभएको ठाउँ रुचाउने चौधरीले बताए।
र्याफ्टिङ कम्पनीहरुले प्रतिव्याक्ति १२ सय डलर (करिब १ लाख ९८ हजार रुपैयाँ) मा यस नदीमा र्याफ्टिङ गराउँछन्। र्याफ्टिङका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने सम्भावना भएको यहाँ प्रचारको नै अभाव भएको उनको बुझाइ छ। विदेशी पर्यटकहरु जलयात्राका लागि ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल तथा गुराँसको राजधानी तिनजुरे मिल्के जलजले हुँदै पदयात्रा मार्फत तमोर दोभान आउने गरेका छन्।
पदयात्राका क्रममा विभिन्न हिमश्रृङ्खला, हिमाली घाँसे मैदान लगायतको समेत दृश्यावलोकन गर्न सकिने भएकाले तमोरमा र्याफ्टिङको लागि विदेशी आउने गरेको पर्यटन व्यावसायीहरु बताउँछन्। यसका लागि अझै धेरै प्रचारप्रसार आवश्यक रहेको र्याप्टिङ स्टारका चौधरीले बताए। यस सिजनमा पहिलोपटक गत कात्तिक ५ गते ५ जना विदेशीले र्याप्टिङ गरेका थिए।
त्यसपछि लगातार कार्तिक ११ गते ४ जना, १६ गते ८ जना, २७ गते ३० जना विदेशीले र्याफ्टिङ गरेको इलाका प्रहरी कार्यालय दोभानका प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले जानकारी दिए। तमोर नदीमा अझै धेरै विदेशी पर्यटक भित्र्याउन यहाँसम्म आउने पदमार्ग मर्मत, फोहोर व्यवस्थापन तथा प्रचारप्रसारमा ध्यान दिनुपर्ने पर्यटन व्यावसायीहरुको भनाइ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।