बर्सेनि थपिन्छन् ५० हजार सवारी

|

काठमाडौं : काठमाडौं उपत्यकामा सवारीसाधनको व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ। उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक आदिका कारणले सवारीसाधन व्यवस्थापन एक चुनौतीको रुपमा स्थापित हुँदै गइरहेको छ। साथै, उपत्यकामा सवारीसाधनको व्यवस्थापनका लागि उपयुक्त स्थान र सडक नहुँदा सडकमा यातायातका साधनहरू भविष्यमा व्यवस्थापन कार्य जटिल बन्ने निश्चित जस्तै छ।

वर्षैपिच्छे थपिन्छन् ५० हजार सवारी

काठमाडौं उपत्यकाको जनसंख्यासँगै सवारीसाधनको संख्या पनि अत्यधिक बढेर गएको छ। जति सवारीसाधन छन् उचित मात्रामा सडक छैनन् उपत्यकामा। काठमाडौंमा एक घरबराबर ३ साना सवारी साधन छन्। प्रदेश नम्बर ३ ठूला तथा साना यातायात व्यवस्था कार्यालय प्रवक्ता राजन पोखरेल पाण्डे हाल काठमाडौं उपत्यकामा करिब १२ लाखको हाराहारीमा सवारी साधन रहेको बताउँछन्। उनी भन्छन् 'काठमाडौं उपत्यकामा वार्षिक पचास हजारभन्दा बढी  सवारीसाधन भित्रिन्छन्।'

उपत्यकामा बर्सेनि नयाँ साधन थपिइरहेको छ, यसरी बढ्ने हो भने उपत्यकामा सवारीसाधन व्यवस्थापनमा चुनौती थपिने उनले प्रष्ट पारे। साना सवारीसाधनलाई व्यवस्थापन गर्ने सरकारको स्पष्ट नीति बन्न नसक्दा पनि यातायात साधन व्यवस्थापनमा कठिनाइ भइरहेको उनले बताए। 

सबैभन्दा बढी साना निजी सवारीसाधन दर्ता भइरहेको उनले जानकारी दिए। यसै आर्थिक वर्षमा साना सवारीसाधन १७ हजार ७ सय ६७ दर्ता भएको  थियो। ठूला सवारीसाधन भन्दा पनि निजी सवारी साधनहरुलाई व्यवस्थापन गर्न नसक्दा दीर्घकालीन समयमा सवारीसाधन व्यवस्थापन समस्याको रुपमा आउने उनको धारणा छ।

यातायात व्यवस्था विभागमा दर्ता भएका सबै साधन काठमाडौं उपत्यकामा नरहेको पनि उनले प्रष्ट पारे। दर्ता भएका साधन बाहिर जिल्लामा  सञ्चालन छन्,' उनले भने,' तर, बाहिर गए पनि काठमाडौं उपत्यकामा सवारीसाधन बर्सेनि थपिइरहेका छन्।' मानिसभन्दा सवारीसाधन बढी भइसकेको उनको भनाइ छ। उपत्यकामा सवारी साधनको उचित व्यवस्थापन नहुने हो भविष्यमा विकराल समस्या उत्पन्न हुने उनको दाबी छ।

सार्वजनिक यातायातलाई बढी मात्रामा प्रश्रय दिने हो भने निजी सवारीसाधनप्रति नागरिकको मोह नहुने पोख्रेलले धारणा राखे। उनले भने,' सार्वजनिक यातायातले नागरिकलाई सहजताको साथ सेवा उपलब्ध गराउनुपर्छ। नागरिकले समयमा गन्तव्यमा पुग्न पाउनु उनीहरूको अधिकार हो।'

उपत्यकाको सवारीसाधन व्यवस्थापनको लागि प्रदेश सरकारले नयाँ नियमावली निर्माण गर्ने भएको छ। काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीसाधनलाई व्यवस्थापन गर्नलाई प्रदेश सरकारले यस्तो नीति निर्मााण गर्न लागेको जनाएको छ। 

काठमाडौं उपत्यकाको रिङरोडमा ठूला सवारीसाधन मात्र सञ्चालन गर्नेछ। रिङरोड र सहरका भित्री सडकमा एक पटकमा २ सय यात्रु बोक्न सक्ने क्षमता भएको ठूला सवारी सञ्चालन गर्नुपर्नेछ।

ठूलो चुनौती बन्दै सवारी व्यवस्थापन

काठमाडौं उपत्यकामा यातायात तथा सवारीसाधन व्यवस्थापन ठूलो चुनौती बन्दै गइरहेको प्रदेश नम्बर-३ का भौतिक पूर्वाधारका सचिव तेजराज भट्टले बताए। प्रदेश सरकारले यातायात ऐन ल्याउन लागेको भट्टले जानकारी दिए। नीति बनेपछि यातायातका साधनलाई व्यवस्थापन कार्यलाई गम्भीरताका साथ लिने उनले बताए।

उनले भने,' पुराना साधनलाई विद्युतीय साधनलाई ल्याउनुपर्छ, व्यवस्थापनमा केही सहज हुन्छ।' उनका अनुसार काठमाडौं उपत्यकामा साना सार्वजनिक यातायातको साधनलाई विस्थापन गरेर विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न लागेको छ।

विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सक्दा विद्युतीय साधनलाई सञ्चालनमा ल्याएर उपत्यकामा सवारी साधनलाई केही हदसम्म व्यवस्थापन गर्न सकिने  उनको विश्वास थियो।

 २० वर्षभन्दा पुरानो साधनलाई पूर्णरूपमा हटाउने योजनालाई कार्यान्वयनमा ल्याउन सके व्यवस्थापनमा सहज हुने उनको भनाइ थियो। 'पहिले यातायात ऐन बनोस् छिट्टै कार्यान्वयनमा ल्याएर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखिनेछ,' उनले भने।

उपत्यकाको सवारीसाधन व्यवस्थापनको लागि प्रदेश सरकारले नियमावली तयार गरिरहेको प्रदेश -३ का प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले बताए। तर, नियमावली निर्माण मात्र गरेर सवारी साधन व्यवस्थापन गर्न नसकिने उनको दाबी थियो।

'३ नम्बर प्रदेशमा नयाँ सवारी साधन दर्ता प्रक्रिया बन्द गर्नुपर्छ,' उनले भने,' नयाँ लिन चाहेमा पुरानासाधनहरू सञ्चालनमा नआएकाको नम्बरमा दर्ता गर्ने व्यवस्था मिलाउनुपर्छ।' सरकारले साइकल लेन्ड र सार्वजनिक यातायातलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने उनको भनाइ छ।

प्रगतिको बाहक बन्यो सवारी

सवारीसाधनलाई नागरिकको प्रगतिको वाहकको रूपमा हेर्ने भएकोले सवारीसाधन खरिद गर्ने क्रम बढिरहेको पूर्वाधारविद् इन्जिनियर डा. सूर्यराज आचार्यले बताए। 'नागरिकको पहिलो आवश्यकता आज यातायातको साधन भएको छ,' उनले भने,' नेपालीको जीवनस्तर बढदै गएको छ। निजी साधन खरिद गर्ने प्रवृत्ति बढेको छ सरकारले यस्ता कार्यलाई निरुत्साहन गर्नुपर्छ।'

सवारीसाधन खरिद गर्दा देशलाई राजश्वमा फाइदा भए पनि नागरिकले ट्राफिक र यातायात व्यवस्थापनमा ध्यान नदिँदा समस्या बढिरहेको उनको भनाइ छ। उनका अनुसार सरकारले काठमाडौं उपत्यकामा सवारी व्यवस्थापनको लागि बढी गम्भीर भएर सोच्ने बेला आएको छ।

सार्वजनिक यातायातमा सर्वसाधारणको सहजरूपमा पहुँच पुर्‍याउन सकेमा नागरिकको सार्वजनिक यातायातमा आकर्षण बढने उनको दाबी थियो। सार्वजनिक यातायातले नागरिकलाई सेवा सुविधामा विश्वास दिलाउन सके साना सवारीसाधनको प्रयोगमा कमी आउने उनले विश्वास व्यक्त गरे।

उनले भने, 'केही वर्षका लागि काठमाडौं उपत्यकामा नयाँ सवारीसाधन दर्ता प्रक्रिया रोक्नुपर्ने उनको सुझाव थियो।' सरकारले ठूला सवारीसाधनलाई प्रोत्साहन गरी साना साधनलाई निरुत्साहन गर्ने योजना ल्याए सवारीसाधनको व्यवस्थापन गर्न सकिने उनको विश्वास छ। साइकल ल्याण्ड निर्माण गर्न सक्दा पनि यातायात व्यवस्थापनमा केही सहज हुने उनको धारणा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.