अनुभव बटुलोस् भनेर प्रधानमन्त्रीले सरुवा गरिदिनुभयो

|

काठमाडौं : स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा भएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार पदभार ग्रहण गरेका छन्। 

उपप्रधानमन्त्रीसमेत रहेका यादवले निजी गाडीमा चढेर सिंहदरबारस्थित कानुन मन्त्रालयले पुगेर जिम्मेवारी सम्हालेका हुन्। 

स्वास्थ्यमन्त्रालयमा यादवको काम सन्तोषजनक नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझदेखि उनलाई कानुनमा सरुवा गरिदिएका थिए। पदभार ग्रहणपछि मन्त्री यादवले मन्त्रालय परिवर्तन प्रधानमन्त्रीको कायक्षेत्राधिकारको कुरा भएकाले केही नबोल्ने बताए।

भिडियो

‘मन्त्रालय परिवर्तन प्रमको कार्यक्षेत्रको कुरा हो, यसबारेमा उहाँले परामर्श गरिरहनुपर्दैन’, उनले भने। यादवले आफूलाई सबैतिर अनुभव बटुलोस् भनेर प्रमले स्वास्थ्यबाट कानुनमा पठाएको भन्दै ठट्टासमेत गरे।

‘प्रधानमन्त्रीले सबैतिर अनुभव गरोस् भनेर मलाई स्वास्थ्यबाट कानुनमा पठाउनुभएको होला’, उनले भने, ‘सरकार छाड्नेबारे पार्टीले केही निर्णय लिएको छैन। पार्टीले निर्णय नगरी यसबारेमा अहिल्यै केही भन्दिनँ। अहिले किन छाड्नु सरकार?’

निजी गाडीमा

स्वास्थ्यबाट सरुवा भएपछि यादव चढ्ने गाडी उनी दिल्लीमा हुँदै सरकारले फिर्ता लिएको थियो। कानुनमा पदभार ग्रहण गरिनसकेकाले त्यहाँको गाडी उपलब्ध भइसकेको थिएन।

यस्तोमा उनी निजी गाडीमा चढेर सिंहदरबार पुगेका थिए। ‘स्वास्थ्यमन्त्रालयको गाडी लगिहाल्यो’, उनले भने, ‘त्यही भएर निजी गाडीमै आएको, ट्याक्सी किन चढ्नू?’

संविधान संशोधनको कुरा राजनीतिक भएको उनको भनाइ थियो। ‘राजनीतिक तहमा छलफल हुनुपर्ने हो’, उनले भने, ‘राजनीतिक तहमा छलफल भएपछि निर्णय गर्ने हो। अहिले सही ठाउँमा आएको छु। संविधान कार्यान्वयनमा जोड दिनेछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.