बैतडी : कीर्तिमानी क्रिकेट खेलाडी अञ्जली चन्द गृह जिल्ला बैतडीमा सम्मानित भएकी छन्। उनलाई बैतडी जिल्ला क्रिकेट संघले नगदसहित सम्मान गरेको हो।
चन्दलाई मंगलबार गोठलापानीमा नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले जानकारी दिए।
बैतडीको दशरथचन्द नगरपालिका ५ बस्कोट घर भएकी अञ्जलीले हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग) को क्रिकेट प्रतियोगितामा मालदिप्सबिरुद्ध २.१ ओभर बलिङ गर्दै कुनै रन नखर्चि ६ विकेट हात पारेकी थिइन्।
उक्त कीर्तिमान हालसम्म टि ट्वान्टी क्रिकेट प्रतियोगितामा विश्वका कुनै पनि खेलाडीले बनाएको छैन। सम्मान कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सुदूरपश्चिम प्रदेशसचिव तेजप्रकाश भट्ट, साविकको क्षेत्र नं ६ बैतडीका पूर्वअध्यक्ष बिनोदबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा क्यान सुदूरपश्चिम प्रदेश सचिव भट्टले अञ्जलीले बैतडीको मात्रै नभएर देशकै नाम विश्वमा चिनाउन सफल भएको बताए। क्रिकेटको उर्बरभूमि बैतडीले क्रिकेटमा थुप्रै खेलाडी जन्माएको स्मरण गराउँदै भट्टले प्रतिभावान खेलाडीलाई क्रिकेट संघले पनि उचित स्थान दिने बताए।
जिल्लामा खेलमैदानको अभावका बीच अञ्जलीजस्ता खेलाडीले बैतडीको शान बढाएको साविकको क्षेत्र नं ६ बैतडीका पूर्वअध्यक्ष बिनोदबहादुर चन्दले बताए। अञ्जलीजस्तै खेलाडी उत्पादनको लागि जिल्ला क्रिकेट संघले हरेक वर्ष जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको क्रिकेट संघ बैतडीका अध्यक्ष लालबहादुर चन्दले बताए।
सम्मान कार्यक्रममा अञ्जली चन्दले आफूले राखेको कीर्तिमान जिल्लाको मात्रै नभएर मुलुककै लागि भएकोले आफूले सदैव देशको नाम विश्वमा चिनाउन अझै प्रयास जारी राख्ने बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।