एक वर्षमै बन्ने गरी नमुना ट्रान्सपोर्ट भिलेजको गुरुयोजना

|

बुटवलः बुटवल उपमहानगरपालिकाले व्यस्त बजार क्षेत्रमा रहेका ढुवानी व्यवसाय (ट्रान्सपोर्ट) लाई एकै स्थानमा व्यवस्थित गर्ने काम सुरु गरेको छ। बुटवलमा अलग्गै ढुवानी ग्राम अर्थात् ट्रान्सपोर्ट भिलेज बन्ने छ।

व्यस्त शहर क्षेत्रमा असहज भइरहेको बेलामा उपमहानगरपालिकाले ढुवानीका सबै व्यवसायलाई एकै ठाउँमा व्यवस्थित गरेर सञ्चालन गर्न लागेको हो। यो उपमहानगरले गरेको अर्को महत्वपूर्ण कामको सुरुआत हो। ढुवानीग्रामको गुरुयोजना नै बनाएर काम अगाडि बढाइएको हो।

प्रदेशको अस्थायी मुकाम बुटवलमा जनघनत्व बढ्दै गएको र ट्राफिक व्यवस्थापनका काममा चुनौती थपिँदै गएपछि छरिएर रहेका ट्रान्सपोर्ट जति सबैलाई एकै ठाउँमा व्यवस्थित गर्ने भन्दै गत वर्ष माघमा नै कार्यपालिकामार्फत निर्णय गरेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनका अनुसार यो सँगै अहिले निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढाइएको छ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले ढुवानीका सवारीसाधन, व्यवसायीका साथै शौचालय, अस्पताल, गेष्ट हाउस, सुरक्षा चौकी, ग्यारेज, नापतौल र गुणस्तर चेकजाँचका औजारहरूसमेत एकै ठाउँमा राख्नेगरी निर्माण गर्न लागेको बताए। 

नयाँ गाउँको भैरहवामा व्यवस्थित ढुवानीग्राम बन्दै 

उपमहानगर १२ नयाँ गाउँ क्षेत्रको भैरहवामा बहुउद्देश्यीय ढुवानीग्राम निर्माणको काम सुरु गरेकोे छ। उक्त ढुवानीग्राम निर्माणका लागि बुटवलमा रहेका व्यवसायी समेतले सुरुमै निरीक्षण गर्दै सहकार्यको प्रतिबद्धता जनाएका थिए। यसैबीच बुटवल उपमहानगरपालिकाले ढुवानीग्राम निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता समेत गरिसकेको छ।

प्रमुख सुवेदीले भने,‘बिओटी मोडलमा (बिल्ट, अपरेट र ट्रान्सफर्मर मोडल) निर्माण हुने उक्त ढुवानी ग्राम निर्माणका लागि  २०७५ माघ २५ गते कार्यपालिकाले गरेको निर्णय गरेको थियो। त्यसैले यो कामलाई अहिले पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ।’

ढुवानी ग्राम निर्माणका लागि बुटवल उपमहानगरपालिका र रुपन्देही परिवहन प्रालिबीच हालै सम्झौता भएको छ। २०७६ असोज १८ मा मनसाय पत्र आह्वान गरिएको थियो। जसमा बुटवल ४ स्थित रुपन्देही परिवहन प्रालि र रामपुर ढुवानी सेवा सूचीकरणमा परेका थिए। पछि प्रस्ताव मूल्याकंनका आधारमा परिवहन प्रालिसँग निर्माणका लागि सम्झौता गरिएको हो।

सम्झौता अनुसार ढुवानीग्राममा जम्मा ४९ वटा सेडहरू निर्माण हुनेछन्। ती सबै सेडहरू अन्तर्राष्ट्रिय मापदण्डका रहने छन्। ढुवानीग्राम निर्माणपछि बुटवलका व्यस्त बजारमा हुने ढुवानी सोही क्षेत्रमा स्थान्तरण हुनेछन्। जसले बुटवलको भीडभाडलाई कम बनाउने र ढुवानीका सबै काम व्यवस्थित स्थानबाट हुने छन्।

रुपन्देही परिवहन कम्पनीले एक वर्षको अवधि‍भित्र नै तोकिएका सेडहरू निर्माण गर्ने गरी सम्झौता भएको छ। १५ वर्षपछि उक्त ढुवानीग्राम उपमहानगरपालिकालाई हस्तान्त्रण गर्ने बताइएको छ। 

यस्तो छ गुरुयोजना 

बुटवलले ढुवानीग्रामको अलग्गै गुरुयोजना नै बनाएर काम अगाडि बढाएको छ। गुरुयोजना अनुसार यस ढुवानीग्रामको कूल अनुमानित लागत  २३ करोड २४ लाख ७९ हजार ६ सय रहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।

सेड निर्माणको अनुमानित लागत प्रति सेड २६ लाख ३२ हजार तीन सय २० का दरले ४९ सेडको १२ करोड ८९ लाख ८३ हजार ६८० रहेको छ। निर्माण हुने एउटा सेड एक हजार ५ सय ५० वर्गफुट क्षेत्रफलको हुने छ।

प्रति सेडको मासिक बहाल प्रति वर्गफुट दुई रुपैयाँका दरले तीन हजार एक सय हुने र बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने गरी सम्झौता भएको छ। उक्त क्षेत्रमा पहुँचमार्ग, ढल तथा नाली, बिजुली, खानेपानी, शौचालय, तारबार लगायत संरचनाहरू बुटवल उपमहानगरपालिकाले निर्माण गर्ने छ।

बुटवलले निर्माण गरिरहेको चक्रपथले यहाँको ढुवानीग्रामलाई पनि जोड्ने गरी स्तरीय सडक निर्माण भइरहेको छ। ढुवानी ग्राममा पार्किङस्थल, व्यवसायिक भवनसहितको २ वटा होटल, मन्दिर, हेल्थपोष्ट, टायर मर्मत सम्भार पसल, प्रतिक्षालय, नुहाउने, युरिनलसहितका शौचालय, अफिस, पुलिस चौकी निर्माण हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.