विचार

ग्रेगरियनको नयाँ वर्ष र नेपाल भ्रमण वर्ष

आकर्षक नारा होइन, प्रभावकारी काम गरौं

पुस १६, २०७६

    आज इस्वी सम्वत् २०२० को पहिलो दिन। पोप ग्रेगरीले सन् १५८२ देखि जनवरी १ बाट नयाँ वर्ष मनाउने चलन चलाए। त्यसैले यसलाई ग्रेगरियन पात्रो भनिएको हो। जनवरी १ तारिखमा वर्ष फेरिने प्रचलन चाहिँ रोमका शासक जुलियस सिजरले चलाएको जुलियन पात्रोमा आधारित छ। प्राचीन रोमन पात्रो जुलियस सिजरले युनानी ज्योतिषीको मद्दतमा बनाएका थिए। अझै पनि इसाईको एउटा पन्थमा विश्वास राख्नेले इटालीको पुरानो पात्रोलाई नै अनुशरण गर्दै जनवरी १४ तारिखका दिन नयाँ वर्ष मनाउने गर्छन्।

    जिसस क्राइस्टभन्दा पुरानो जुलियाना सम्वतमा विश्वास राखेर त्यो पात्रो अनुसार तिथिमिति मान्‍नेहरु रुस, जर्जिया, सर्बिया र इजरायलमा बढी छन्। अहिलेको ग्रेगरियन पात्रो सुरुमा पोर्चुगल, जर्मनी, स्पेन र इटलीमा प्रचलनमा आएको थियो। सन् १७०० मा स्विडेन र डेनमार्कले यो पात्रो लागु गरे। सन् १७५२ मा बेलायत, १८७३ मा अमेरिका, १९११ देखि चीन र जापानमा पनि यो पात्रो प्रचलनमा आयो। बेलायती उपनिवेशसँगै यसको व्यापकता फैलियो। पछिल्लो पटक संयुक्त राष्ट्रसंघ नै यो पात्रो कार्यान्वयनको वाहक बन्यो।

    असल आतिथ्यको अनुभवले पर्यटकलाई घुम्‍न गएको गन्तव्य सँधै सम्झाई रहोस भन्नेतर्फ हरेक नागरिकले सोच्नुपर्छ। विश्वमा हामी नेपाली इमान्दार र बहादुर गोर्खा भनेर त चिनिएकै छाैं, पछिल्ला दिनहरुमा सिर्जनात्मक, हँसिला, मिजासिला र सरलताको परिचय समेत थपिएको छ। अब नम्र, सफासुग्घरी र उत्कृष्ट पर्यटनसेवी भनेर पहिचान  थप्न सक्याैं भने हाम्रो भविष्य पर्यटन मै भेटिने छ।  त्यसैले पर्यटन वर्ष सफल पार्न आकर्षक नारा मात्र होइन, प्रभावकारी काम गरौं।

    इस्वी सम्वतका महिनाहरुको नामाकरण इसाई धर्मकै प्रख्यात मानिस र आस्थाका आधारमा गरिएको छ। इसाई धर्मको फैलावट, शक्ति राष्ट्रहरुको प्रभावका साथै संयुक्त राष्ट्रसंघलेसमेत यसलाई अवलम्बन गर्दा नै हाल यो पात्रो व्यापक रुपले अन्तर्राष्ट्रिय प्रचलनमा आएको हो।

    हाम्रो देशले अवलम्वन गर्ने विक्रम सम्वत् अन्तर्राष्ट्रिय प्रचलनमा रहेको इस्वी सम्वत् अर्थात 'ग्रेगरियन सम्वत' भन्दा ५६ वर्ष ८ महिना १५ दिन जेठो छ। त्यसबाहेक पनि यहाँ नेपाल सम्वत, शाके सम्वत, गोरखनाथ सम्वत्, किराँत येले सम्वत् लगायत सम्वतहरु मान्‍ने गरिन्छ। अझ गुरुङ, तामाङ र शेर्पाले नयाँ वर्षका रुपमा भिन्‍नाभिन्‍नै ल्होसार मनाउने गरेका छन्‌। तर व्यवहारमा भने विक्रम सम्वत् र भूमण्डलीकरणका प्रभावले इस्वी सम्वतको प्रचलन बढ्दै आएको छ।

    पर्यटन वर्ष २०२०

    इस्वी सम्वत् २०२० लाई नेपालले पर्यटन वर्षका रुपमा मनाउँदैछ। हरेक नयाँ वर्षले मानिसमा उत्साह उमङ्ग थप्ने र विगतका कमी-कमजोरी मुल्याङ्कन गरेर सुधारसहित अघि बढ्न प्रेरित गरोस्‌ भन्‍ने स्वाभाविक चाहना राखिन्‍छ। यसैगरी राष्ट्रले पनि यस्तै चाहना राखेको हुन्छ। अन्तर्राष्ट्रिय बजारलाई आकर्षित गर्न सन्‌ २०२० लाई नेपालले पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेको हो। घोषणासँगै पर्यटन वर्षको प्रचारप्रसार र तयारी पनि व्यापक रुपमा भएको छ। कतिपय कामहरु अहिले पनि भइरहेका छन्। यसलाई सफल पार्न तीनै तहका सरकारहरु आ-आफ्नो ठाउँमा जुटिरहेका छन्‌। सरकार, निजीक्षेत्र र अन्तराष्ट्रिय समुदायलेसमेत नेपाल भ्रमण वर्ष सफल पार्न उत्साहका साथ अग्रसरता देखाइरहेका छन्‌।

    सबै पर्यटक दृश्यावलोकन गर्नका लागि मात्र आउँदैनन्‌, आफ्‍ना कुरा देखाउन  र सिकाउन पनि आउँछन्‌। पर्यटन सिक्ने र सिकाउने दुवै प्रकृया हो। पर्यटकबाट सिक्नुपर्छ, तर आफ्नै माैलिकता मासिनेगरि लहसिनु हुँदैन। यस्तो कमजोरी भयो भने त्यो नेपालको पर्यटनकै लागि दूर्भाग्य हुनेछ। 

    'पर्यटक पाहुना हुन्, यिनको स्वागत गरौं' भन्‍ने नारालाई सार्थक तुल्याउन नेपालका पर्यटन व्यवसायी र सर्वसाधारण समेत तम्तयार भएर बसेका छन्‌। पर्यटन मन्त्रालय र सम्वद्ध विभाग पर्यटन बोर्डले तदारुकताका साथ भ्रमण वर्ष सफल बनाउन मेहनत गर्नु देश र नागरिकका लागि पनि खुसीको कुरा हो। पर्यटन वर्षलाई सफल पार्न सञ्चारक्षेत्रले पनि निकै सहयोग गरिरहेको छ। 

    पर्यटक के का लागि आउँछन्? नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदा, यहाँको भूगोल, सामाजिक विविधता जैविक विविधता विश्वको सर्बोच्च शिखर सगरमाथा जस्ता कुराले उनीहरुलाई तानिरहेको हुन्छ। कतिपय पर्यटक जीवनमा एकपटक मात्र नेपाल आउन पाउँछन्। कतिपयले पटक-पटक आउने व्यवस्था मिलाउन सक्छन्‌। एकपटक मात्र आउनेको मनमस्तिष्कमा नेपालको स्मरण जीवनभरका कायम रहन्छ। पटक-पटक आउनेको हरेक भ्रमण अविष्मरणीय बनोस्‌ भन्नेतर्फ हामीले सोच्नुपर्छ। पर्यटकहरूलाई पटक-पटक नेपाल आउने प्रेरणा दिनका लागि पर्यटकीय परिवेश बनाउन आवश्यक हुन्छ। नेपाल आएका पर्यटकको बसाई लामो र सुखद बनाउने उपायहरु अबलम्वन गर्नुपर्छ।

    यसपटक भ्रमण वर्षका लागि राष्ट्रिय-अन्तराष्ट्रिय सञ्चारमाध्यमको समूचित साथ मिलेको छ। तर प्रचार अनुसारको पर्यटनस्थल र सेवा दिनमा हामी चुक्यौं भने एक पटक आएका पर्यटक फेरि कहिल्यै फर्केर आउने छैनन्‌। यति मात्र होइन, नेपाल भ्रमणबाट फर्केपछि बाँड्ने अनुभवले पर्यटनदूतको भन्दा पनि बढी काम गर्छ। पर्यटकले नेपालमा पाउने मनोरञ्जन सेवा, अध्ययन र अनुभव सकारात्मक रहेन भने पर्यटनको भविष्य पनि सुखद रहने छैन। त्यसैले हरेक पर्यटकको यात्रालाई जति सुखद वा उसले खोजे जस्तो, रोजे जस्तो बनाउन सक्यो-हाम्रो पर्यटन क्षेत्र उति नै फस्टाउन सक्छ। 

    सरकारले पर्यटक पुग्ने सम्पदास्थल, मनोरञ्जनस्थल, धार्मिकस्थल जस्ता ठाउँमा भरपर्दो सडक तथा हवाई यातायात, स्वास्थ्यसेवा, सरसफाई, सुरक्षाजस्ता पूर्वाधारको व्यवस्था र अनुगमनमा ध्यान दिनुपर्छ। पर्यटकलाई ठग्ने र पर्यटकबाट ठगिने वा कुनै पनि गलत क्रियाकलाप हुन नदिने तर्फ चनाखो रहनुपर्छ।    

    आन्तरिक हुन्‌ या विदेशी, यी दुवै खाले पर्यटकहरु हाम्रा पाहुना हुन्‌ भन्‍ने सोच्नुपर्छ। यसका लागि संघीय तहमा मात्र होइन, प्रदेश र स्थानीयस्तरमा पनि चासो र जागरुकता चाहिन्छ। विश्वव्यापी रुपमै पर्यटन विकासको आधार बन्दै गएको छ। विश्वमा पर्यटकलाई आकर्षण गर्ने सिर्जनात्मक कामहरु धेरै भएका छन्। हाम्रो जस्तो प्राकृतिक र साँस्कृतिक सम्पदाको धनी देशमा ती सम्पदाको सदुपयोग कसरी गर्ने भन्‍ने मौलिक चेतना र ज्ञानको मात्र खाँचो छ। हाम्रा मौलिक परम्परा मात्र होइन : भाषा-संस्कृति, भेषभूषा सबै पर्यटकका लागि चाखका बिषय बन्‍न सक्छन्‌।

    विदेशी पर्यटकका लागि मात्र होइन आन्तरिक पर्यटकका लागि पनि एउटा गाउँ-ठाउँबाट जानेका लागि अर्को गाउँ-ठाउँको कुरा अनौठो र चाखलाग्दो बन्न सक्छ भन्‍ने भुल्नु हुँदैन। हरेक पर्यटक फर्कँदा घुम्न गएको स्थानको सम्झना गराउने कुनै उत्पादन बोकेर जाओस्। केही त्यस्तो कुरा नबोके पनिअसल आतिथ्यको अनुभवले पर्यटकलाई घुम्‍न गएको गन्तव्य सँधै सम्झाई रहोस भन्‍नेतर्फ हरेक सेवा प्रदायकले सोच्नुपर्छ। विश्वमा हामी नेपाली इमान्दार र बहादुर गोर्खा भनेर त चिनिएकै छाैं, पछिल्ला दिनहरुमा सिर्जनात्मक, हँसिला, मिजासिला र सरलता भएको परिचय समेत थपिएको छ। अब नम्र, सफासुग्घरी र उत्कृष्ट पर्यटनसेवी भनेर पहिचान  थप्‍न सक्याैं भने हाम्रो भविष्य पर्यटन मै भेटिने छ।  त्यसैले पर्यटन वर्ष सफल पार्न आकर्षक नारा मात्र होइन, प्रभावकारी काम गरौं।

    देवी-देउराली पुज्‍ने, प्रकृतिपूजक समूदायदेखि अहिले पनि जंगलमै रमाई रहेका राउटेसम्मले भेदभावरहित व्यवहार पाइरहेका छन्। यो यथार्थ हरेक पर्यटकलाई बुझाउनु पर्नेछ। हामी कहाँ चर्च पनि छन्, मस्जिद पनि छन्, त्यसैले कोही-कसैमाथि भेदभाव नरहेको स्पष्ट पारौं। तर झुटो इतिहास नभनौं।

    र अन्त्यमा,

    सबै पर्यटक दृश्यावलोकन गर्नका लागि मात्र आउँदैनन्‌, आफ्‍ना कुरा देखाउन  र सिकाउन पनि आउँछन्‌। पर्यटन सिक्ने र सिकाउने दुवै प्रकृया हो। पर्यटकबाट सिक्नुपर्छ, तर आफ्नै माैलिकता मासिनेगरि लहसिनु हुँदैन। यस्तो कमजोरी भयो भने त्यो नेपालको पर्यटनकै लागि दूर्भाग्य हुनेछ। पर्यटकको बहावसँगै हाम्रा मौलिक परिकार र स्वाद, पोशाक, आनिबानी-व्यवहार, बसोबास, प्राकृतिक, धार्मिक तथा सांस्कृतिक परम्पराहरु जोगाउन जटिलता थपिँदै जान्छ। यसले पर्यावरणमा पनि संकट बढ्छ। सांस्कृतिक तथा सामाजिक विकृतिहरु आउन सक्छन्‌। उनीहरुको सेवा मात्र होइन, निगरानी पनि जरुरी हुन्छ। किनभने पर्यटकको भेषमा धर्मप्रचार, वित्तीय अपराध, यौन दुराचार, मानव तस्करी, लागुपदार्थको प्रयोग, अवैध ओसारपसार लगायत अनेक क्रियाकलाप हुन सक्छन्। हामीले हाम्रो यथार्थ इतिहास, भूगोल, सामाजिक, साँस्कृतिक र जैविक विविधताको कुरा बुझाउन सकेनौं भनेपनि विश्वमा हाम्रा बिषयमा भ्रम फैलने छ।

    त्यसैले, पर्यटनस्थल आसपासको वातावरण, सडक, यातायात, शौचालय, होटल र स्थानीय मानिसको व्यवहार पर्यटकमैत्री बनाइनुपर्छ। हाम्रो देश नेपाल मूलत: हिन्दू बाहुल्यता भएको बुद्धको जन्मभूमि हो। यहाँ देवी-देउराली पुज्‍ने, प्रकृतिपूजक समूदायदेखि अहिले पनि जंगलमै रमाई रहेका राउटेसम्मले भेदभावरहित व्यवहार पाइरहेका छन्। यो यथार्थ हरेक पर्यटकलाई बुझाउनु पर्नेछ। हामी कहाँ चर्च पनि छन्, मस्जिद पनि छन्, त्यसैले कोही-कसैमाथि भेदभाव नरहेको स्पष्ट पारौं। तर झुटो इतिहास नभनौं।

    भारतीय पर्यटक हिन्दू मन्दिरमा नै रमाउँछन्। अधिकांश चिनियाँ र एशिया-प्रशान्त क्षेत्रका पर्यटकका लागि बुद्धको पहिचान नै प्यारो हुन्छ। लुम्बिनीको माटो शीरमा लगाउन नै उनीहरु लालायित हुन सक्छन्। पश्चिमा पर्यटकका लागि हिमाल, जंगल, पदयात्रा, प्रकृति, भूगोल र साँस्कृतिक सम्पदा मात्र होइन :पदयात्रा र साहसिक पर्यटन पनि आकर्षणको बिषय बन्न सक्छ। विश्व एक्काइसौं शताब्दीको विकासको दौडमा छ, हामी पूँजी परिचालन र समयानूकुल पूर्वाधार विकासका दृष्टिले कमजोर भएपनि ज्ञान, चेतना, अनुशासन, इमान र मौलिकतामा धनी छौं भन्ने बुझाउँ।

    हामी 'गुडमर्निङ' र 'गुडनाइट' पनि भनौं 'निहाउ' पनि भनौं। 'गुटन मार्गन' र 'गुडन टाग' पनि भनौं। 'सलामत पागी' पनि भनौं। 'ओहायो जोगाइमास' र 'शुभबुखारी' पनि भन्‍न नछुटाऊँ। 'हेलो' र 'सलाम' वा 'सलाम वालेकुम' मात्र होइन, 'स्वास्दी' पनि भनौं। तर 'नमस्कार' गरौं 'नमस्ते' भनौं। 'शुभरात्री' र 'शुभप्रभात' वा 'शुभ बिहानी' भनौं। किनभने हरेक विदेशी पर्यटक यहाँ दुई शब्द भएपनि नेपाली जानेर फर्किन चाहन्छ, जसरी हामी विदेश गएर फर्कंदा केही सिकेर फर्किन चाहन्छौं। पर्यटन वर्ष सोचौं-दिगो पर्यटनका लागि बाटो रोजौं।

तीर्थ कोइराला

कोइराला थाहाखबर डटकमका प्रधान सम्पादक हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]