मन्त्री योगेशसहितले गरे उद्घाटन

|

काठमाडौं : अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गरिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको उपस्थितिमा भ्रमण वर्ष कार्यक्रम सुरु भएको हो। 

नेपाली राजदुतावासको आयोजना तथा गैरआवासीय नेपाली संघसहितको सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम गरिएको हो । देशभर फैलिएको डढेलो आक्रान्त अष्ट्रेलियामा यो बेला भ्रमण वर्ष अभियान चलाउनु बेठीक हुने टिप्पणी भइरहेका बेला मन्त्री भट्टराई त्यहाँ पुगेका थिए।

भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा न्यु साउथ वेल्स राज्यका सभामुखसहित त्यहाँका पूर्वमुख्यमन्त्री,अस्ट्रेलियाका सत्तापक्ष, प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधिसहित सहभागी रहेका थिए। 

कार्यक्रममा अष्ट्रेलियाको तर्फबाट सहभागीहरुले शुभकामना मन्तब्य दिएका थिए। मन्त्री भट्टराईका सहयोगी प्रेम गुरागाईंका अनुसार सिड्नीमा मौन जुलुस गरेर पर्यटन वर्षको प्रवर्द्धन पनि गरिएको थियो।

नरोकिएको स्पष्ट 

यसैबीच सिड्नीको सर्कुलर क्‍वेदेखि ओपेरा हाउससम्म जाने क्रममा नेपाल भ्रमण वर्षको र्‍यालीलाई त्यहाँका सुरक्षाकर्मीले रोकेको कुरा गलत भएको मन्त्री भट्टराईले नै जानकारी दिएका छन्।

उनले उक्त समाचारलाई काल्पनिक र गलत भनेका छन्। 'काल्पनिक र गलत समाचार सम्प्रेषण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो?', उनले प्रश्‍न गरेका छन्, 'नियत गम्भीर छ!'

रोकेकै हो त?

तर अष्ट्रेलियामै बसोबास गरिरहेका केही नेपालीले भने मन्त्री भट्टराईसहितको भ्रमण वर्षको मौन जुलुसलाई सुरक्षाकर्मीले रोकेको दाबी गरेका छन्। 

अष्ट्रेलियमा बस्दै आएका प्रकाश हुमागाईंले नेपाली राजदूतावास र आयोजक संस्थाहरुको लापरवाहीले जुलुलाई सुरक्षाकर्मीले रोकेको दाबी गरेका हुन्। 

'सिड्नी सिटी काउन्सिल'ले जुलुस वा परेड गर्न अनुमति दिएको थिएन। अनि त्यो चर्को घाममा सर्कुलर क्‍वेदेखि ओपेरा हाउससम्म परेड गर्न अनुमति चाहिँ कसले दिएछ?', उनले प्रश्‍न गरेका छन्, 'कानुनी राज्यमा कानुनको पालना गरौँ। सिड्नी ओपेरा हाउसका सुरक्षा अधिकारीहरू आएर मन्त्रीसहितका सहभागीलाई रोकिदिएको त हुन् नि।'

उनले मन्त्रीसहितको र्‍यालीलाई सुरक्षाकर्मीले रोकेको देख्ने प्रत्यक्षदर्शी रहेको दाबी गरेका छन्। हुमागाईंले सहभागीहरुलाई रोकेको भिडियो फुटेज र फोटो पनि सामाजिक सञ्जालमा रहेकाले ढाँट्न नहुने तर्क गरेका छन्। एक अर्को स्रोतका अनुसार ओपराहाउसमा जानेको संख्या बढी भएकोले प्रहरीले संख्या कटौति गर्न अनुरोध गरेपछि टोली नजाने निर्णयमा पुगेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.