इजरायलको पनि कालोसूचीमा थिए सुलेमानी

|

अमेरिकी हवाई आक्रमणमा इरानका शीर्ष सैनिक कमाण्डर कासिम सुलेमानी मारिएपछि अहिले मध्यपूर्वको अवस्था विस्फोटक बनेको छ।

इरान-अमेरिका तनाव चुलिएर युद्धको अवस्थामा पुगेको छ। इराकस्थित अमेरिकी सेनाको क्याम्पमा २२ वटा ब्यालेस्टिक मिसाइल हानेपछि इरानले फेरि वासिङ्टनमाथि कारबाही गर्ने बताइहेको छ। उता अमेरिकाले पनि त्यसो गरे इरानलाई पनि जवाफ दिने धम्की दिइरहेको छ। 


अमेरिकी हवाई हमलामा मारिएका इरानी सैन्य जनरल कासिम सुलेमानी

अमेरिकाले आक्रमण गरेमा इरानले इजरायलमाथि पनि हमला गर्ने सम्भावना धेरै छ। इरानको रिभोल्युस्नरी गार्डले पनि आफ्ना सैन्य कमाण्डर मार्ने अपराधका पछाडि अमेरिका र इजरायललाई एकैसाथ देखिरहेको जनाएको छ। 

इरानी समाचार एजेन्सी तसनीमले इरानमाथि अमेरिकी आक्रमण भएमा हिज्बुल्लाहमार्फत इजरायललाई पनि नछाड्ने उल्लेख गरेको छ। यसको जवाफमा इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले यसो गरिएमा इरानलाई कडा जवाफ दिइने बताएका छन्। 

इरानी कमाण्डर सुलेमानीको हत्यापछि अमेरिकाका साथसाथै इजरायल पनि मध्यपूर्वका कयौं देशको निशानामा परिरहेको छ। इराकी संसदले अमेरिकी सैनिकलाई इराकबाट हटाउने प्रस्ताव पारित गरेको छ, तर अमेरिकीले यसलाई नमान्‍ने जिकिर गरेको छ।

यदि त्यहाँबाट अमेरिकी सैनिक हटेमा इजरायलले छिमेकी देशसँग राखेको दुष्मनीपूर्ण व्यवहारको चर्को नतिजा भोग्नुपर्ने हुन्छ। अमेरिकी सेनाले इराक छाड्नासाथ इजरायलविरुद्ध युद्ध छेडिनसक्ने खबरहरु बाहिरिएका छन्।

इरान-इजरायल सम्बन्ध 

अमेरिकाको सहयोगी भएकै कारण इजरायल मध्यपूर्वमा सधैँ इरानी निशानामा छ। तर यो पनि आश्चर्यजनक छ कि कुनै समयमा इरान र इजरायलबीच निकै राम्रो सम्बन्ध थियो। करिब ३० वर्षसम्म मित्रवत् सम्बन्धमा रहेका दुई देशबीच सन् १०७९ मा इरानमा भएको इस्लामिक क्रान्तिपछि दरार आयो।

न त इरान र इजरायलको सीमा एक–आपसमा जोडिन्छन्, न त कुनै जमिन विवाद छ, तर यी दुई देशबीच अहिले कट्टर दुस्मनी छ। इस्लामिक क्रान्तिपश्चात इरानले इजरायलसँग कूटनीतिक सम्बन्ध तोडेको थियो। तर सैनिक सहयोग भने कैयौं बर्षसम्म लेनदेन भइरह्यो। 

एक प्रतिवेदन अनुसार जब इरानले इराकसँग युद्ध लडिरहेको थियो-त्यतिखेर उसले इजरायलबाट हतियार समेत किनेको थियो। सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि इराकले आफूकहाँ रहेका यहुदीमाथि कारबाही थाल्यो। त्यहाँबाट भागेकाहरुलाई इरानले आश्रय र निकै मद्दत समेत गर्‍यो। 

प्यालेस्टाइनलाई विभाजन गर्ने संयुक्त राष्ट्रसंघको विरोध गर्दै इरानले इजरायललाई यसको सदस्य बनाउने कदमको पनि विरोध गरेको थियो। टर्कीपछिको सबैभन्दा ठूलो मुस्लिम बाहुल्य देश इरानले अनौपचारिक रुपमा भने इजरायललाई मान्यता दिएको थियो। त्यसको एकदशकपछि इजरायलले औपचारिक रुपमै संयुक्त राष्ट्र संघको सदस्यता पायो। 


सुलेमानीलाई मार्न अमेरिकाले प्रयोग गरेको मानवरहित एअरक्राफ्ट 'एमक्यू–९ रिपर ड्रोन'

त्यतिखेर बाहिर विरोधजस्तो देखिएपनि इजरायलले इरानका लागि एक माध्यमको रुपमा काम गरिरहेको थियो। अमेरिकाको समर्थन हासिल गर्नका लागि इरानलाई त्यहाँस्थित यहुदीहरुको सद्भाव जित्नु आवश्यक थियो। यसका लागि यहुदी बाहुल्य इजरायल नै माध्यम हुन सक्थ्यो। दोस्रोतर्फ अमेरिकालाई रुसी वर्चस्वमाथि चुनौती दिन मध्यपूर्वमा सहयोगी देशको आवश्यकता थियो। 

अरब जगतमा इरानको अवस्था

अहिले अरब जगतका दोस्रा देशहरुसँग इरानको धार्मिक प्रतिद्वन्द्विता छ। इरानले सिया अल्पसंख्यकको नेतृत्व गर्छ भने साउदी अरब लगायतका देशमा सुन्‍नी अल्पसंख्यकको बाहुल्यता छ। 


इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहू

शीतयुद्ध चलुञ्जेल इरान तेलको सबैभन्दा ठूलो स्रोत थियो। पर्सियन खाडीमा आफ्नो नियन्त्रणका कारण इरान अमेरिका र इजरायलको सहयोगी थियो। इरानले इजरायललाई तेल दिँदै गर्दा इजरायलका कयौं सल्लाहकारहरु तेहरानमा बस्ने गर्थे। सन् १९६० र ७० को दशकमा तेहरान र तेल अभिभबीच नियमित जहाज उडान हुने गर्थ्यो।

सन् १९७० मा गमाल अब्दुल नसीरको मृत्यु र अनवर सादात सत्तामा आएपति इरान र इजिप्टको सम्बन्धमा दरार देखिन थाल्यो। दोस्रोतर्फ सन् १९७५ मा इरान र इराकबीच एक सम्झौता भयो।

यस सम्झौताअनुसार इरानले इराकका कुर्द पृथकतावादीहरुलाई हतियार दिन बन्द गर्‍यो। इजिप्टसँगको इरानी विवाद र बग्दाद-तेहरान सम्झौताले इजरायललाई झट्का लाग्यो। किनकी इरानका लागि इजरायलको रणनीतिक महत्वमा कमी आयो। 

सन् १९७९ को फेब्रुअरी १ का दिन फ्रान्सबाट फर्केपछि इरानी नेता आयतुल्लाह खोमेनीले इजरायलसँगको सम्बन्ध तोडे। सन १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा इजरायलविरोधी माहोल बन्दै गयो। अन्ततः इरान ती अरब देशहरुको समूहमा सामेल भयो, जसले इजरायलको विरोध गर्ने गर्थे।

इजरायलले मुसलमानहरुको जमिन कब्जा गरेको आरोपमा इरान पनि सहमत भयो। त्यसपछिका वर्षहरुमा स्थिति झनै बिग्रियो। सोभियत संघको पतनपछि र खाडी युद्धमा सद्दाम हुसेनको पराजयपछि अमेरिका इरानको शत्रु नै बन्यो। 


इरानी सर्वोच्च नेता आयोतोल्लाह अलि खोमेनी

अरब जगतमा विस्तारै–विस्तारै इजरायल विरोधी आगो फैलिरहेको थियो। यो विरोधको अगुवा पनि इरान नै बन्यो। आफूविरुद्ध मोर्चाबन्दीमा लागेका सबै गुटहरुलाई इरानले मद्दत गरेको आरोप इजरायलले लगायो। हिज्बुल्लाह र हमास तथा सीरियाले समेत इजरायलविरोधी आगो सल्काइरहेका थिए। हिज्बुल्लाहका लडाकुहरुलाई इरानले बारम्बार तालिम दिने गरेको इजरायलले आरोप लगाएको थियो। 

सुलेमानी फ्याक्टर 
यो सन्दर्भलाई बुझ्‍न गत शुक्रबार अमेरिकी हवाई हमलामा ज्यान गुमाएका इरानी सैनिक जनरल कासिम सुलेमानीबारे पनि केही बुझ्नुपर्ने हुन्छ। सुलेमानी मारिएपछि अमेरिकाका साथै इजरायलमाथि इरानले किन निशाना साँधिरहेको छ त? 

गोलान हाइट कब्जा गर्ने काम काशिस सुलेमानीकै नेतृत्वमा भएको आरोप इजरायलले लगाएको थियो। सुलेमानीको भूमीकालाई लिएर इजरायल शुरुदेखि नै सशंकित थियो। 

गत मार्चमा बीबीसीले बनाएको डकुमेन्ट्रीमा इजरायली अधिकारीहरुले सुलेमानीको सेनाबारे धारणा राखेका थिए। इजरायली सैन्य कारबाही प्रमुख जनरल निटजन एलानले सन् २०१८ मा इरानले गोलान हाइटमा कसरी आफ्नो स्थिति मजबुद बनाउन खोजेका थिए भनी बताएका छन्। गोलान हाइटमा इजरायलले पछिल्लो ५० वर्षदेखि नियन्त्रण गरिरहेको छ। 

अमेरिका झैं इजरायलले पनि कासिम सुलेमानीलाई ठूलो खतरा मानेको थियो। गत अगस्टमा इजरायलले सीरियाबाट हुन लागेको ड्रोन हमलालाई असफल पारिदिएको जनाएको थियो। यो हमलाका पछाडि सुलेमानीकै हात रहेको इजरायलले शंका गरेको थियो। सीरियामा युद्धरत कुर्द हिज्बुल्लाहलाई इरानले सहयोग गरेको आरोपसमेत इजरायलले लगाएको थियो। 

सन् २०१८ मा अमेरिकाले सुलेमानीको हत्याका लागि इजरायललाई उकासेको थियो। यो भन्दा तीन बर्षअघि नै इजरायलले सुलेमानीको हत्या गर्ने योजना बनाएको थियो, तर अमेरिकाले त्यतिखेर इरानी नेतृत्वलाई चेतावनी दिँदै इजरायललाई यो कामबाट रोकेको थियो। किनकी तनावको स्थिति बनाएर अमेरिका आफैंले सुलेमानीको हत्या गर्न चाहन्थ्यो। 

हिज्बुल्लाहका सिया लडाकुलाई तालिम दिएको आरोप खेप्दै आएका सुलेमानीले इजरायलविरुद्ध युद्ध गर्नुपर्ने बताउँदै आएका थिए। अगस्टमा देखिएको तनावमा पनि इरानले यो इजरायलसँगको अन्तिम संघर्ष भएको बताएका थिए। इरानी रिभोल्युस्‍नरी गार्ड प्रमुख हुसैन सलामीले पनि इजरायललाई पूर्णतः ध्वस्त पार्ने चेतावनी दिएका थिए।

इजरायली प्रधानमन्त्री नेतन्याहुले सोही बेला सुलमानी र हिज्बुल्लाहका हसन नसरल्लाहलाई सावधान गराएको द यरुशेलम पोष्टले लेखेको छ। 


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

सुलेमानी सन् १९९८ मा कुड्स फोर्सका प्रमुख बनेका थिए। सन् १९९२ मा ब्युनस आयर्सस्थित इजरायली दुतावासमा भएको आक्रमणमा संलग्न हिज्बुल्लाहलाई कुड्स फोर्सले नै मद्दत गरेको आरोप लागेको थियो। 

सन् २००६ मा इजरायल र हिज्बुल्लाहका बीच भएको युद्धमा हिज्बुल्लाहलाई इरानले मद्दत गरेको थियो, जसको जिम्मेवारी कासिम सुलेमानी नै लिएको बीबीसी हिन्दीले दाबी गरेको छ। अमेरिकी र इजरायलीहरु रहेका क्षेत्रमा हिज्बुल्लाहसँग मिलेर सुलेमानीले नै हमला गराएको आरोप लाग्‍ने गरेको छ 

आफु विरोधी शक्तिलाई एकजुट पार्न सुलेमानीको प्रमुख हात रहेको आरोप इजरायलले लगाउँदै आएको थियो। सन् २०१५ को फेब्रुअरी महिनामा पनि सुलेमानीले प्यालेस्टाइनी हमासका प्रतिनिधिमण्डलसँग भेटघाट गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.