दुईतिहाई पुर्‍याउन राजपालाई सरकारमै ल्याउने कसरत

|

काठमाडौँ : लामो कसरतपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार चयन गर्‍यो। नेकपाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा स्थायी कमिटी सदस्य अग्‍निप्रसाद सापकोटालाई सभामुखका अघि सारेपछि अब संसद्‌को नेतृत्व चयन वहस उपसभामुखमा केन्द्रित भएको छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयास आरोपमा जेल परेपछि नेकपाले सभामुखमा नयाँ अनुहार ल्याएको हो। महरा सभामुख बन्‍ने बेला साविकका एमाले र माओवादी केन्द्रबीच एकता भइसकेको थिएन। गठबन्धन बनाएर चुनाव लडेकी यी दुई पार्टीले बहुमत हासिल गरेपछि सभामुख पद साविकको माओवादी केन्द्रको भागमा परेको थियो। साविकको एमालेबाट उपभामुखमा डा. शिवमाया तुम्बाहाङफे चुनिएकी थिइन्‌।

तत्कालीन एमाले र माओवादी पार्टी एकता भयो। त्यसपछि सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै विरोध भइरहेको थियो। तत्कालीन सभामुख महरा जेल परेपछि नेकपाले लामो कसरत गर्दै नयाँ सभामुख चयन गरेसँगै उपसभामुख पद गुमाएको हो। तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिइसकेकी छिन्‌।

अहिले उपसभामुख पद रिक्त छ। नेकपाले सभामुखमा सापकोटालाई ल्याएपछि उपसभामुखको खोजी भइरहेको छ। सभामुख दाबी गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिले उपसभामुखमा दावी गरिरहेको छ। सभामुखमा उम्मेदवारी दिएका सापकोटाविरुद्द कांग्रेसले उम्मेदवारी नै दिएको छैन। 

तर, नेकपाले उपसभामुख पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिने मनस्थितिमा छैन। उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएलगत्तै नेकपाले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)लाई काखी च्यापेको छ। आज भैरहेको राष्ट्रिय सभाको निर्वाचनमा पनि सत्तारुढ नेकपाले राजपासँगै तालमेल गरेको छ। यो चुनावी तालमेलमा रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टी पनि सहभागी छ। 

नेकपाको मधेसकेन्द्रित राजनीतिमा नेकपा-राजपा-संघीय समाजवादीबीच चुनावी गठबन्धन भएसँगै उपसभामुख पदमा कांग्रेसको दावेदारी पनि स्वत:कमजोर भएको छ। यससँगै नेकपाले राष्ट्रियसभाको निर्वाचनमा साझेदारी गरेकै कारणले राजपालाई उपसभामुखमा सघाउने बलियो सम्भावना बनेको छ।

राजपामा छलफल

उपसभामुखको चर्चा शूरु भएसँगै राजपाले सत्ताधारी दलसँग निरन्तर छलफल अगाडि बढाएको छ। नेकपाका शीर्ष नेताहरु प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र राजपाबाट अध्यक्ष मण्डलका नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोबीच निरन्तर छलफल भइरहेको छ। साेही छलफलका आधारमा नेकपाले उठाएका सभामुखका उम्मेदवार सापकोटाका पक्षमा राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समर्थक बसेका छन्‌।

तर, राजपाका नेताहरु अहिल्यै उपसभामुख पदमा दावेदारी सार्वजनिक गर्न हिच्किचाइरहेका छन्‌। स्थिति परिपक्व भएपछि या नेकपाको स्पष्ट धारणा आइसकेपछि मात्रै उपसभामुखमा उम्मेदवारी दिने/नदिनेबारे निर्णय गर्ने संकेत दिएको छ। उपसभामुखमा राजपाकी चन्दा चौधरी र अमृता अग्रहरीलगायतको नाम चर्चामा आइसकेको छन्। 

सभामुख पदमा सापकोटाका समर्थक राजपा नेता कर्णले पनि सभामुखको निर्वाचनपछि मात्रै उपसभामुखको बिषयमा छलफल हुने प्रतिक्रिया दिए। 

नेकपाको चाहना राजपा! 

नेकपासँग सत्तासाझेदारी गरेको संघीय समाजवादी पार्टीले सरकार छाडेसँगै सरकारविरूद्द विषबमन गरिरहेको राजपा एकाएक सरकारसँग सम्झौता गर्न आइपुग्यो। दुईतिहाई बहुमत गुमाएको नेकपा नेतृत्वको सरकारका लागि यो निकै राम्रो अवसर पनि हो। 

सरकारसँग सम्झौता गरेपछि राजपाको विरोधी स्वर मत्थर हुँदै गएको छ। लगातार सत्तारुढ दलसँगै राजपा राजनीतिको एउटै मोर्चामा उभिइरहेको छ। सभामुखमा समर्थन र राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन पनि यही सहयात्राको निरन्तरता हो। 

चुनावपछि नेकपा नेतृत्वमा बनेको सरकारलाई शूरूमा समर्थन गरेको राजपाले संविधान संशोधन नभएको वहाना देखाउँदै सो समर्थन फिर्ता लिएको पनि हो। तर प्रतिपक्षी राजनीतिबाट पनि कुनै पार नलागेपछि र नेकपाले नै प्रदेश दुईको सरकार समेत ढालिदिने क्षमता राखेपछि राजपाले सत्तानिकटता खोजिरहेको थियो। 

क्षेत्रीय राजनीतिमा प्रतिष्पर्धी संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिनु नै राजपाका लागि सत्तासँग नजिकिने सबैभन्दा राम्रो अवसर बन्यो। नेकपाले पनि दुईतिहाइ समर्थन हासिल गर्न राजपालाई उपसभामुख पद दिएरै भएपनि सरकारमा भित्र्याउन सक्रियता थालिसकेको छ। 

नेकपा निकट एक नेता भन्छन्‌‘ सभामुखमा राजपाका सचेतक कर्णले समर्थन गर्नुको अर्थ राजपालाई सत्तासाझेदार बनाउने प्रयास हो भनेर बुझ्नुपर्छ, सबै कुरा अहिले नै बताउन नमिल्ला, तर राजपालाई उपसभामुख दिन नेकपाका शीर्ष नेताहरु सहमति नजिक पुगेको छन्‌।’ राजपालाई उपसभामुख दिएर सरकारमा जाने बाटो खुला गर्न नेकपा तयार रहेको ती नेताले बताए। 

यता उपसभामुखमा राष्ट्रिय जनमाेर्चाकी सांसद दुर्गा पोखरेलको नाम पनि चर्चामा थियाे। हालै भएकाे उपनिर्वाचनमा नेकपा र जनमाेर्चाले चुनावी तालमेल गरेकाे थियो भने दुर्गाका पति तथा नेकपा मसालका महासचिव माेहनविक्रम सिंहले पनि सरकारको कार्यलाई समर्थन गर्दै बेलाबखत वक्तव्य दिने र विज्ञप्ति निकाल्ने काम गरिरहेका थिए। तर नेकपा नेतृत्वको सरकारलाई बहुमत दिने संसदीय सामर्थ्य नहुनु र अर्को मधेशकेन्द्रित दल नेकपासँग राजनीतिक सहकार्यमा 'इन्ट्री' हुनुले उपसभामुखमा दुर्गाको सम्भावना लगभग सकिएको छ।

दाहाल र पौडेलको भेटवार्ता अर्थपूर्ण

मंगलबार बिहान सत्ताधारी नेकपाका अध्यक्ष दाहाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच दाहाल निवास खुमलटारमा भेटवार्ता भयो। सभामुखको दाबी गरिरहेको कांग्रेसले दाहालसँगको भेटपछि सभामुख पदमा उम्मेदवारीसमेत दर्ता गराएन्। 

प्रमुख प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले उपसभामुखका लागि दाबी गरिरहेको छ। दाहाल र पौडेलबीचको भेटवार्ता उपसभामुख केन्द्रित रहेको यी नेतानिकट स्रोत बताउँछ। नेताहरुले पनि वर्तमान राजनीतिक अवस्था, सभामुख र उपसभामुख चयनका विषयमा आफूहरुको छलफल केन्द्रित भएको बताएका छन्‌।

पार्टीभित्र चर्को विवाद र लामो रस्साकस्सीबीच पनि सभामुख पदमा आफूनिकट सापकोटालाई नै निर्विरोध गराउन सफल भएका नेकपा अध्यक्ष दाहाल र कांग्रेस बरिषठ नेता पौडेलबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ। दाहालले केही दिनअघि कांग्रेस सभापति देउवासँग पनि छलफल गरेका थिए। 

कांग्रेसको दाबी 'स्वाभाविक'

प्रमुख प्रतिपक्षी दलको हिसाबले पनि सभामुख सत्तापक्षको भएपछि उपसभामुखमा प्रमुख प्रतिपक्षको दाबी स्वाभाविक रहने कांग्रेसका सचेतक पुष्पा भुसालले बताउँछिन्‌।

‘संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन पाउँदैनन्‌',भुसालले भनिन्, 'त्यसैले सभामुख सत्तापक्षको भएपछि उपसभामुखमा हाम्रो दाबी स्वभाविक रहन्छ।’

तर पार्टीभित्र भने अहिलेसम्म कुनै छलफल नभएको उनले दाबी गरिन्‌। उनले भनिन्‌, 'अहिले उपसभामुखको बिषयमा पार्टीभित्र कुनै छलफल भएको छैन, अब निर्वाचनको कार्यसुची आएपछि मात्रै यसबारे छलफल होला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.