सल्यान : जिल्लाको कपुरकोट गाउँपालिकामा ३९ जना क्षयरोगका विरामी भेटिएका छन्। स्वास्थ्य शाखाले आयोजना गरेको माइक्रोस्कोपिक क्याम्पमा क्षयरोगका विरामी फेला परेका हुन्।
चालु आर्थिक वर्ष सात महिनाको अवधिमा ९ जना क्षयरोगी फेला परेको कपुरकोट स्वास्थ्य शाखा संयोजक अरुण दाहालले जानकारी दिए। गत आर्थिक वर्ष ३० जना क्षयरोगका विरामी फेला परेकोमा नियमित औषधि सेवनका कारण २० जना ठीक भइरहेको र बाँकी १० जनाले अहिले पनि नियमित औषधि सेवन गरी रहेको उनको भनाई छ।
चालु आर्थिक वर्षका ९ र गत वर्षका १० गरी अहिले १९ जना गाउँपालिकामा क्षयरोगी रहेको दाहालले बताए। गाउँपालिकाका चार स्थानमा गरिएको सिविरमा २९२ जनाको खकार जाँच गरिएको थियो। क्षयरोग लागेको पत्ता लागेमा स्वास्थ्यकर्मीको सल्लाहमा नियमित रुपमा पूरा समय (६ देखि ८ महिना) सम्म निःशुल्क औषधि सेवन गरे रोग ठीक हुने दाहालको भनाई छ।
धुम्रपान तथा मद्यपान र लागुऔषध सेवन बन्द गरे क्षयरोगबाट बच्न सकिने स्वास्थ्यकर्मीको भनाई छ। लामो समयसम्म खोकी र ज्वरो आउन साथ नजिकको स्वास्थ्य संस्थामा गरी स्वास्थ्य परीक्षण गर्न उनीहरूले आग्रह गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।