|

काठमाडौं : मंगलबार शेयर बजारमा नेप्से परिसूचक बढेपनि सेन्सेटिभ परिसूचक घटेको छ। कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ।

बजारमा लगानीकर्ताको मनोवल परिवर्तन भइरहदा परिसूचकमा उतारचढाव देखिएको छ। तर बजार बुलिस ट्रेण्डमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकको भनाई छ।

मंगलबार नेप्से परिसूचक बढेको छ तर सेन्सेटिभ परिसूचक घटेको छ। यसको अर्थ नेप्सेले ‘क’ वर्गमा राखेका कम्पनीहरूको भन्दा अन्य कम्पनीहरूको प्रभाव बजारमा सकारात्मक देखिएको छ भन्ने हो।

लगानीकर्ताको आकर्षण कम मूल्य भएका शेयरमा हुँदा बजारमा उतारचढाव देखिएको विश्लेषकहरुको भनाई छ। त्यस्तै, अधिकांश कम्पनीले लाभांश वितरण गरिसकेकाले पनि बजारमा ठूलो उतारचढाव नदेखिएको विश्लेषण गर्न सकिन्छ।

त्यस्तै, बैंकको ब्याजदर तल झरेकाले बजारलाई टेवा पुर्‍याएको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा घरजग्गा कर्जामा केही कडाई गरेकाले पनि बजार माथि आएको विश्लेषण गरिएको छ।

तर, शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले ब्याजदर र कर्जाको विषयले अल्पकालमा असर गरे पनि लगानीकर्ताले दीर्घकालमा यसको असर कस्तो पर्छ भन्ने हेरिरहेको बताए। उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदै गएकाले बजारमा सकारात्मक असर परेको बताए।

त्यस्तै, सरकारका नीतिहरू पनि आइसकेको र अबको एक वर्ष पछिको अर्थतन्त्रको अवस्थालाई हेरेर लगानीकर्ताले कारोबार गरिरहेकाले नेप्से बढेको र केही वर्ष बढ्दो अवस्थामा नै नेप्से रहने उनले बताए।

शेयर विश्लेषक बस्यालले शेयर बजारको इतिहासमा ४० देखि ४३ महिनाको घट्दो बजार हुँदा ५० देखि ५२ महिना बढ्दो बजारको अवस्था रहेको देखिएको बताए। बजारको इतिहास दोहोरिन्छ भन्ने मान्यताअनुसार यसपटक करिब ४१ महिनाको घट्दो बजारको ट्रेण्ड पूरा गरी बजारले बढ्दो ट्रेण्ड समाएको स्पस्ट भइसकेको विश्लेषक बस्यालले बताए।

उनले अबको ५० महिनाको अवधि बढ्दो ट्रेण्डमा हुने प्राविधिक विश्लेषण गर्न सकिने अवस्था रहेको समेत दावी गरे। त्यसका लागि अर्थतन्त्रका सूचकहरूले समेत साथ दिएको उनले बताए।

बाजर बढ्दो ट्रेण्डमा देखिएपनि लगानीकर्ताहरू भने अझै ढुक्क हुन सकेका छैनन्। यसको असर नेप्से परिसूचकमा देखिएको छ। त्यसैले, मंगलबार नेप्से उतारचढावका बीच ५ दशमलव ५२ अंकले बढेको छ। नेप्सेमा उतारचढाव देखिए पनि नकारात्मक भने देखिएन्।

सेन्सेटिभ परिसूचक भने शुन्य दशमलव ४८ अंकले घटेको छ । परिसूचकहरुमा उतारचढाव देखिएपनि कारोबार रकम १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८ सय ५ रुपैयाँ बराबरको भएको छ। कारोबारमा आएका समुह मध्ये बैंकिङ, व्यापार, होटल, जलविद्युत समुहका सूचकहरु घटेका छन्। ग्लोबल आइएमई बैंकको शेयरमा लगानीकर्ताको आकर्षण मंगलबार पनि देखिको छ।

यो बैंकको ९ करोड ९५ लाख ८५ हजार ३ सय ६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। तर सबैभन्दा बढी शिखर इन्स्योरेन्सका शेयरधनीले ८ प्रतिशतले कमाएका छन्। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले भने सबैभन्दा बढी ४ दशमलव ३५ प्रतिशतले गुमाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.