|

दाङ : हात्तीपाईले रोग बिरुद्धको औषधी खाने अभियानमा समाजका अगुवाहरुले प्रभावकारी सहयोग गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्।

हात्तीपाइले रोग बिरुद्ध औषधि सेवन कार्यक्रमअन्तर्गत पालिकास्तरीय योजना तर्जूमा तथा बहूनिकाय गोष्ठीमा सहभागी तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले जनप्रतिनिधि र शिक्षकले पूर्ण रुपमा सहयोग गरेमा लक्ष्य पुरा हुने बताएका छन्।

दाङमा यही माघ २५ गते देखी फागुन १४ गते सम्म हात्तीपाइले रोग बिरुद्धको औषधी खुवाईंदैछ। २५ गते केन्द्रमा, २६ देखी फागुन १ गतेसम्म घरदैलो र २ गते देखी १४ गते सम्म स्वास्थ्य संस्थाबाट औषधी खुवाईने भएको छ।

हात्तीपाइले लामखुट्टेको टोकाईबाट लाग्‍ने रोग हो। दाङमा ६ लाख ४४ हजार ५ सय ६३ जनालाई हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाउने योजना रहेको छ। तुलसीपुर उपमहानगरपालिका १ लाख ४८ हजार ८ सय ३६ जनालाई औषधि खुवाईने छ। त्यसका लागि ४ सय ९६ जना स्वास्थ्यकर्मी र २ सय १८ जना महिला स्वयमसेविकालाई खटाईने छ। १ जना स्वास्थ्यकर्मीले २ सय ५० जनालाई हात्तीपाइले बिरुद्धको औषधी खुवाउनुपर्ने छ।

औषधी खुवाउनका लागि प्रत्येक वडामा ४ वटा बुथ बनाईने छ। सन् २०११ देखि शूरु भएको यो अभियान दाङलगायत १३ जिल्लामा प्रभावकारी हुन नसक्दा पुन: थप गरिएको छ। अरुलाई यो औषधी खान सुझाव दिने स्वयम जनप्रतिनिधि,शिक्षक लगायत समाजका अगुवाहरुले भने आफुले विभिन्‍न वहाना गरि नखाने गर्दा अभियान प्रभावकारी हुन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरे। 'जानेबुझेको, शिक्षित वर्गले नै खान शंका गरिरहेको अवस्था छ,' स्वास्थ्यकर्मी बसन्त आचार्यले बताए।

यो औषधि लगातार खाएको ६ बर्षमा हात्तीपाईले रोग बिरुद्धको औषधी सेवनले यसको संक्रमणको जोखिम हट्ने भए पनि सबैले औषधी नखाईदिँदा दाङमा निर्धारित समयभन्दा ५ बर्षपछि धकेलिएको छ। सरकारले दाङमा यस बर्ष पनि १०औँ चरणको औषधी सेवन कार्यक्रम सञ्चालन गर्दैछ। यस बर्ष खुवाएसँगै अर्को बर्ष पनि औषधी खुवाउनु पर्ने अवस्था रहेको छ। 

सबै नागरिकहरुलाई औषधी खुवाएर ४ बर्ष अघि नै हात्तीपाइले रोगको संक्रमण शून्यतामा झार्ने अभियान भएको भएता पनि औषधी नखाईदिँदा प्रभावित भएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ओमप्रसाद न्यौपानेले बताए। गएको बर्ष दाङमा ५८ प्रतिशत मानिसले मात्रै औषधी सेवन गरेपछि अभियानलाई लम्ब्याउनु परेको जनस्वास्थ्य कार्यालय दाङले बताएको छ।

स्वास्थ्य शाखा प्रमुख विमल केसीका अनुसार २ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, ७ दिनको सुत्केरी महिला, सिकिस्त बिरामी तथा दीर्घरोगीहरु बाहेक सबैले यो औषधि सेवन गर्नैपर्ने हुन्छ। 

हात्तीपाइलेका कारण दाङमा हाईड्रोशिल भएका १ हजार ६ सय ११, खुट्टा सुन्निएका ४ सय २९ र हाइड्रोशिलसँगै खुट्टा सुन्‍निएका १६ गरि २ हजार ५६ जनामा संक्रमण रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.