|

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाको २३औँ स्थापना दिवसको अवसरमा ७ विधाका २६ जनालाई विभूषण र पदकले सम्मान गरिएको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र गृह मन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईसहित २६ जनालाई सम्मान गरिएको हो।

देशकै प्रतिष्ठा बढाउन योगदान पुर्‍याउने नगरबासीलाई खाँदबारी नगरपालिकाको विभूषणसम्बन्धी ऐनको आधारमा सम्मान गरिएको नगरप्रमुख मुरारीप्रसाद खतिवडाले बताए। उनका अनुसार खाँदबारी नगरपालिकाले नगरसभाबाट विभूषणसम्बन्धी ऐन पास गरी विभिन्न ७ विधा छुट्याएर पदकबाट सम्मान गरिएको हो।

स्थापना दिवसको अवसरमा खाँदबारी गौरव, खाँदबारी रत्न, खाँदबारी तारा, खाँदबारी पौरख, खाँदबारी ज्योति, खाँदबारी समाजसेवा र खाँदबारी सेवाश्री पदकबाट २६ जनालाई पदकले सम्मान गरेको हो। खाँदबारी रत्न पदकबाट खाँदबारी १ निवासी पूर्वगृहसचिव प्रेमकुमार राई, मरणोपान्त दुर्गादेवी घिमिरे, खाँदबारी नगरपालिकाका प्रथम मेयर स्व. किरण शाक्यलाई विभूषित गरिएको छ।

त्यसैगरी, खाँदबारी ताराबाट स्वर्गीय लोकगायक खेमराज गुरुङ, अमेरिकाको लागि नेपाली राजदूत डा.अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका स्थायी प्रनिनिधि अमृत राई, डा. हिरामणी घिमिरे, लोकगायक नवीन खड्का र खाँदबारी ज्योतिबाट डा. बिना राई, जयप्रसाद चापागाईं, हरिप्रसाद भण्डारी, कृष्ण गोपाल, सोमराज अभयलाई विभूषित गरिएको हो।

खाँदबारी पौरखबाट जगत शाक्य, लक्ष्मीप्रसाद गुरुङ, चक्र बिसुन्के र खाँदबारी समाजसेवा श्री सूर्यबहादुर श्रेष्ठ, जयबहादुर श्रेष्ठलाई सम्मानित गरिएको छ । त्यसैगरि खाँदबारी सेवाश्री बिनाकुमारी शाक्य, बिष्ण बुढाथोकी, मदन अर्याल, खेमराज नेपाल, सुरेन्द्र बिष्ट र नईन्द्र मगरलाई विभूषित गरिएको छ ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, मातृका तिम्सिनालगायत विद्यावारिधि गरेका, पत्रकारिता र अन्य कार्यमा अब्बल भूमिका निर्वाह गरेका व्यक्तिलाई सम्मान गरिएको छ। खाँदबारी नगरपालिका २०५३ मा स्थापना भएको थियो। स्थापना दिवसको अवरमा मेयरकप भलिबल प्रतियोगिता, उपमेयरकप कबड्डी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.