दरबन्दी अभावमा पढाई नै खस्किएको गुनासो

|

काठमाडौं : राष्ट्रिय सभाको आइतवार बसेको बैठकमा सांसदहरुले सरकारी विद्यालको शिक्षाको गुणस्तर र व्यवस्थपानरमा प्रश्‍न उठाएका छन्। नेपाली कांग्रेसका सांसद राधेश्‍याम अधिकारीले शिक्षक अभावका कारण विद्यालय शिक्षाको गुणस्तर खस्किएको गुनासो गरे।

सांसद अधिकारीले राष्ट्रिय सभाको विशेष समयमा बोल्दै दरबन्दी अनुसारको शिक्षक अभावका कारण सामुदायिक विद्यालय शिक्षाको गुणस्तर अन्त्यन्तै न्यून रहेको उल्लेख गरे। त्यसतर्फ सरकार र तिनका अधिकारीहरुको ध्यानाकर्षण नभएकोमा उनले चिन्ता जनाए।

राज्यका निर्देशक सिद्धान्त तथा दायित्व समिति अन्तर्गतको अनुगमन समितिले रौतहट जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन गर्दा देखिएका विषयबारे सदनलाई जानकारी गराउँदै उनले शिक्षाको गुणस्तर सुधारमा ध्यान दिनुपर्ने आवश्यकता औल्याए। 

वडाअध्यक्ष नै विद्यालय व्यवस्थापन समितिमा बस्ने र व्यवस्थापन समितिको सदस्य बन्‍नकै लागि गोलीसमेत चल्ने अवस्थाले त्यसभित्रको राजनीति स्पष्ट भएको भन्दै शिक्षालाई राजनीति मुक्त गर्न आवश्यक रहेको बताए।

उनले रौतहटका मदरसाको शिक्षा नेपाल सरकारको औपचारिक शिक्षा पद्धतिबाट बाहिर रहेको औल्याए। एउटा माध्यमिक शिक्षकले सिंगो माध्यमिक विद्यालय चलाइरहेको बताउँदै उनले आवश्यक शिक्षक नहुँदा दैनिक पढाई नै प्रभावित भएको उल्लेख गरे।

'दैनिक ७ पिरियड हुनुपर्नेमा ४ पिरियड मात्रै कक्षा सञ्चालन हुने गरेको छ', उनले भने, 'शिक्षा क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्न सरकारले पहल थालोस्।'

उनले छात्राहरुले सरकारले वितरण गर्ने भनेको सेनेटेरी प्याड पाएको, पुस्तक सबैमा पुगेको, विद्यालयको पुर्वाधारमा सुधार आएको, दिवा खाजाको व्यवस्थाले विपन्‍न विद्यार्थीलाई राहत पुगेको बताए।

शिक्षामा जस्तै स्वास्थ्य क्षेत्रमा पनि चिकित्सकको आवश्यक दरबन्दी नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित भएको भन्दै आधारभूत शिक्षा र स्वास्थ्य सेवालाई माथि उकास्‍ने हो भने दुवै क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.