|

बाजुरा : यहाँस्थित गौमुल गाउँपालिकाले तीनवर्षदेखि बन्द रहेको जडीबुटी सङ्कलनलाई खुला गर्ने निर्णय गरेको छ।  शनिबार बसेको सो गाउँ पालिकासभाले सो निर्णय गरेको हो।

साविकका मानाकोट र दहकोट गाविसमा वन जङ्गलबाट सङ्कलन हुने जडीबुटी प्रतिबन्ध गर्ने निर्णयलाई सभाले उल्टाइदिएको जनाइएको छ। दहकोटको अम्लिस, मल्लोदुगुनलगायतका सामुदायिक तथा राष्ट्रिय वनबाट जडिबुटी सङ्कलन गर्न दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए।

उनले जडीबुटी सङ्कलन गर्न तीन वर्ष बन्द गरिएको भएता पनि सङ्कलन गर्ने ठेकेदारले राजश्व सङ्कलनमा सहयोग पुर्‍याउन गाउँपालिकाको सिफारिस अनिर्वाय लिनुपर्ने व्यवस्था गरिएको बताए। सभाले जथाभाबी रुपमा वनमा जडीबुटी सङ्कलन कार्यलाई रोक लगाएको गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्। 

छैटौँ गाउँसभा तथा हिउँदे अधिवेशनले आर्थिक वर्ष ०७७/०७८ का लागि रु ३७ करोड बजेट प्रस्तावित गरेको छ। ३० वटा नीति तथा नियमावली पारित गरेको गाउँपालिकाले जनाएको छ। चालू आर्थिक वर्षमा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको र आन्तरिक आम्दानीबाट कूल ३१ करोड ४५ लाख ९९ हजार ७५७ रुपैयाँ रहेको छ।

सङ्घीय सरकारबाट आएको समानीकरण सात करोड १० लाख रुपैयाँ, ससर्त अनुदान १३ करोड २७ लाख २७ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट पाँच करोड २९ लाख ६६ हजार ४१६ रुपैयाँ र विशेष अनुदान दुई करोड ९० लाख रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.