|

काठमाडौं : सांसदहरूले कुनै पनि विश्वविद्यालय आफैँमा विश्वस्तरको हुने भएकाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई विश्वस्तरीय विश्वविद्यालयको रुपमा परिभाषित गर्नु नपर्ने बताए। 

संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा सांसदले विश्वस्तरको विश्वविद्यालय भनेर परिभाषित गर्न नपर्नेमा जोड दिएका हुन्।

सांसद कल्याणीकुमारी खडकाले विश्वविद्यालय विश्वस्तरीय भन्ने शब्दलाई मन्त्रालयले स्पस्ट पार्नुपर्ने बताइन्। उनले सबै विश्वविद्यालय विश्व स्तरको नै हुने भएकाले यसमा मन्त्रालय स्पस्ट हुन नसकेको बताइन्।

सांसद विन्दा पाण्डेले विश्वस्तरीय लेखेर विश्वस्तरीय हुने र 'र्‍याङकिङ' मा माथि नजाने भएकोले विश्वस्तरीय बनाउन के के गर्नुपर्छ त्यसमा जोड दिनुपर्ने बताइन्। उनले विश्वस्तरीय नलेखे पनि हुने उल्लेख गर्दै हाडर्वड विश्वविद्यालयको कहिँ पनि विश्व स्तरको नलेखिए पनि र्‍याङकिङमा एक नम्बर नै भएको बताइन्। उनले विज्ञान र प्रविधि भन्ने वित्तिकै प्राकृतिक विज्ञान र एप्लाई साइन्समात्रै हो सोसल साइन्स होइन भन्ने खालको बुझाई हो भने त्यसमा सुधार गरेर जानुपर्नेमा जोड दिइन्।

सांसद खगराज अधिकारीले विशिष्ट प्रकारको विश्व विद्यालय भएकाले यसको उद्देश्य विज्ञान र प्रविधिसँग र अनुसन्धानसँग सम्बन्धित हुनुपर्ने गरी विधेयकमा आउनुपर्ने बताए।

सांसद अन्जना विशंखेले परम्परासँग जोडिएका सिपलाई प्रविधिसँग जोडेर विश्वविद्यालयको विधेयक ल्याउनुपर्ने बताइन्। यो विश्वविद्यालय विज्ञान र प्रविधिसँग सम्बन्धित भएकाले पनि यस्तो क्षेत्र कुन कुन छ त्यसको पहिचान गरी विधेयकमार्फत नै समावेस गर्नुपर्ने बताइन्। उनले पुरानो परम्परालाई पनि विज्ञान र प्रविधिसँग जोडनुपर्ने बताइन्।

सांसद विरोध खतिवडाले विज्ञान तथा प्रविध विश्वविद्यालय भनिए पनि समाजशास्त्र, कानुन शिक्षा राखीएको भन्दै त्यो जरुरी नभएको बताए। सांसद चित्रलेखा यादवले विश्वविद्यालयको केन्द्रीय कार्यालय र विश्वविद्यालय फरक फरक ठाउँमा रहन नहुने बताए। उनले यो विश्वविद्यालयको केन्द्रीय कार्यालय पनि मकवानपुरको चित्लाङ्मा नै रहने गरी गरिएको संशोधन प्रस्ताव अनुसार नै व्यवस्था गर्नुपर्ने बताए।

सांसदहरूले विश्वविद्यालयको निर्माण गर्ने क्रममा स्थानीय प्रतिनिधिलाई समेत सहभागि गराउनुपर्नेमा जोड दिए। त्यस्तै सांसदहरूले विश्वविद्यालयको नेतृत्व प्रेसिडेन्सियल प्रणालीमा रहने परिकल्पना गरिएको तर कस्तो व्यक्ति रहने भन्नेमा अझै स्पस्ट गर्नुपर्नेमा जोड दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.