५ वर्षपछि बल्‍ल आयव्यय सार्वजनिक

|

रुकुम : धर्म र पुण्‍य  प्राप्ति हुने भन्दै विभिन्न मन्दिर, दानपेटी तथा धार्मिक महोत्सवहरूमा धनसम्पत्ति चढाउने गरिन्छ। आस्तिकहरूले विभिन्न ठाउँमा चढाएका यस्तै भेटीमार्फत संकलित धनसम्पत्तिकै कारण ठूलो रकम संकलन भएको हुन्छ।

उक्त रकम सरकार तथा अन्य निकायमार्फत फेरि विकास कार्यमा नै कहीँ न कहीँ खर्च गर्ने चलन हुन्छ। तर यस्तै धर्म तथा पुण्‍य कमाउनेसँगै उक्त महोत्सवबाट संकलित रकमबाट विद्यालयको शैक्षिक विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक धार्मिक महोत्सवमै ‘अधर्मी काम’ भएको छ। महोत्सवमा संकलित दान रकममा आँखा लगाएर रकम चोरीदेखि उदारो भूमिदान पुण्‍यले यसलाई प्रष्ट पार्दछ।

धार्मिक र शैक्षिक विकासको लागि आयोजना गरिएको महोत्सव रकममा आँखा लगाउने, अपारदर्शीता, महोत्सवमा यति धेरै विवाद, विषमता र विकार देखिनु आफैँमा दुःखलाग्दो विषय हो।

र्षपछि आयव्यय सार्वजनिक

अघिल्लो मंगलबार अर्थात् फागुन १३ गते रुकुम पश्चिमको सदरमुकाममा रहेको त्रिभुवन जनता माविमा पत्रकार सम्मेलन आयोजना गरियो। उक्त पत्रकार सम्मेलन रुकुम मुसिकोट धार्मिक महोत्सवको विषयमा पत्रकारहरूलाई जानकारी दिन आयोजना गरियो।

उक्त पत्रकार सम्मेलन कुनै नयाँ महोत्सव गर्न वा अन्य कुनै विषयमा होइन ५ वर्षअघि भएको धार्मिक महोत्सवको आयव्यय सार्वजनिक गर्न आयोजना गरिएको महोत्सव थियो। धार्मिक महोत्सव भएको वर्षौंसम्म आयव्यय सार्वजनिक नगरेर अपारदर्शी भएको भन्दै चौतर्फी आलोचना तथा लगातार समाचार बनिरहेपछि बाध्य भएर आयोजक मूलआयोजक समितिले ५ वर्ष पनि पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको आयव्यय सार्वजनिक गरेको हो।

२०७१ साल पुस २६ गतेदेखि माघ ३ गतेसम्म मुसिकोट खलंगाको बराहटाकुरामा महोत्सवको आयोजना गरिएको थियो। महोत्सवबाट उठेको रकम विद्यालय तथा क्याम्पसको शैक्षिक तथा भौतिक विकासमा खर्च गर्ने उद्देश्यसहित महोत्सव आयोजना भएको थियो।

के छ आयव्यय विवरणमा?

पत्रकारहरूलाई सार्वजनिक गरिएको तीन पृष्ठको आयव्यय विवरणअनुसार महोत्सवमा १ करोड ८ लाख ६६ हजार ४ सय ६ आम्दानी भएको छ। उक्त आम्दानी दान अक्षयकोष, तुलादान, चौरासी पूजा र शान्ति कलश लगायतका विभिन्न १७ बढी गतिविधिबाट आम्दानी भएको हो।

प्रतिवेदनका अनुसार महोत्सव आयोजनादेखि सम्पन्न गर्दासम्म विभिन्न शीर्षकमा ५४ लाख ३१ हजार ९८ रुपैयाँ खर्च भएको छ। त्यससँगै महोत्सवमा बिक्रीका लागि ल्याएका शान्ति कलश बिक्री नभएपछि शुरुमा खरिद गरी ल्याएको पसलमै फिर्ता गर्दा भाडादेखि दान प्राप्त जग्गा दर्ता, स्थानीय गुरुभेटी प्रदान लगायतको खर्च जोड्दा १ लाख ३ हजार ५ सय ७५ रुपैयाँ महोत्सव सकिएपछि थप खर्च भएको देखाइएको छ।

हालसम्मको सबै खर्च कटाएर कुल आम्दानीको रुपमा ५६ लाख २५ हजार १ रुपैयाँ रहेको महोत्सव मूल आयोजक समितिका महासचिव मीनबहादुर पुनले जानकारी दिए।

दान रकमको बाकस चोर्नेलाई पाप लागोस्

महोत्सवमा विभिन्न संकलित दान रकममध्ये जम्मा गरेको एउटा बाकसमा रहेको रकम विद्यालयबाटै चोरी भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। यसअघि पनि महोत्सवमा उठेको रकम चोरी भएको अनौपचारिक रुपमा बजारमा हल्ला आइसकेको थियो। जसमा केहीले उक्त रकम चोरी नभएर आयोजक समितिले लुकाएको हुनसक्ने आशंकासमेत गरिएको थियो।

तर, पत्रकार सम्मेलनमा महासचिव पुनले त्यसलाई एउटा भवितव्‍य घटनाका रूपमा लिनुपर्ने बताए। ‘महोसत्सवबाट उठेको रकम त्यस बाकस लगायतका अन्य बाकसहरूमा पनि राखिएको थियो तर एउटा बाकसको पैसा चोरी भयो’ उनले भने, ‘त्यो चोरी भएको पैसा आम्दानी गणना हुनुभन्दा पहिले नै चोरी भएको कारण कति पैसा थियो भन्ने एकिन छैन, त्यसकारण आम्दानी खर्च कुनैमा राखिएको छैन। धर्म कमाउनको लागि दान गरेको रकम चोर्नेलाई पाप लागोस् त्यसबाहेक के भन्न सकिन्छ र?’

बचत रुपैयाँको नि खर्च खुलेन

महोत्सव मूलआयोजक समितिका अनुसार बचत रकमलाई त्रिभुवन जनता मावि र रुकुमेली क्याम्पसलाई आधाआधा भाग लगाइएको छ। दुई शैक्षिक संस्थालाई भाग लगाउँदा बचत रकम २८ लाख १२ हजार ५ सय पर्नुपर्नेमा माविलाई २७ लाख ८५ हजार ९ सय ४२ उपलब्ध गराइएको छ। त्यस्तै, उठ्न बाँकी रकम संकलन भएमा विद्यालयलाई दिने र क्याम्पसको भाग पर्ने रकम उपलब्ध गराइनेछ।

तर प्रदान गरिसकेको २७ लाख रकम पनि विद्यालयले कुन-कुन प्रयोजनका लागि खर्च गरेको त्यो भने खुलेको छैन। विद्यालयका प्राचार्य हरिप्रसाद खनालले उक्त रकम कुनकुन काममा खर्च भयो अहिले यकिन नभएको र छिट्टै यकिन गरेर सार्वजनिक गर्ने बताए। ‘महोत्सव आयोजना हुँदा महोत्सव आयोजक समितिको महासचिव नै प्राचार्य हुनुहुन्थ्यो, म केही वर्षपछि भएँ’ उनले भने, ‘म प्राचार्य भएपछिको त खर्च मसँग छ तर पहिलेको मलाई थाहा भएन, सोधखोज गरेर खर्च सार्वजनिक गर्छौं।’

भूमिदाताले जग्गा नै दिएनन

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणअनुसार धार्मिक महोत्सवमा भूमिदान गरेका ७ जनामध्ये ५ जनाले ५ वर्षसम्म पनि भूमि विद्यालयलाई जग्गा पास गरेका छैनन्। महोत्सवमा भूमिदान गर्ने प्रतिबद्धता जनाएका मध्य क-कसले भूमि विद्यालयलाई पास गरेका छैनन भन्ने कुरा भने महोत्सव मूलआयोजक समितिले उनीहरूको नाम सार्वजनिक गर्न चाहेन। त्यस्तै १२ लाख बढी अन्य रकम पनि उठ्न बाँकी छ।

‘२०७६ फागुन ८ गतेको निर्णय अनुसार भूमिदान गर्न बाँकी भूमिदाताहरू र चन्दा बुझाउन बाँकी महानुभावहरूलाई सचेतसहितको जानकारी गराइएको छ’ महासचिव पुनले भने, ‘यदि अबको केही समयमा पनि उहाँहरूले भूमि पास नगरिदिए उहाँहरूको नाम ठेगाना मिडियामार्फत सार्वजनिक गरेर दिन बाध्य पार्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.