|

काठमाडौं :  इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेको छ। हिजो मात्रै थप ४१ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। 

सबैभन्दा बढी प्रभावित कोडोग्नो सहरमा ठूलो संख्यामा मानिसहरु संक्रमित रहेको बताइएको छ। सहरका झण्डै ५० हजार मानिस क्वारेन्टाईनमा छन्। इटलीमा जम्मा ३ हजार ८ सय ५८ संक्रमित भेटिएका छन् भने मृत्यु हुनेको संख्या १४८ पुगेको छ। 

त्यसैगरी अमेरिकामा पनि मृत्यु हुनेको संख्या लगातार बढेको छ। वासिंङटन डिसीमा हिजो एकै दिन ५ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। संक्रमितको संख्या २ सय २६ छ। दक्षिण कोरियामा संक्रमितको संख्या ६ हजार २ सय ८४ पुगेको छ भने मृत्यु हुनेको संख्या ४० पुगेको त्यहाँको राष्ट्रिय रोगथाम तथा उपचार केन्द्रले जनाएको छ। 

इरानमा मृत्यु हुनेको संख्या १ सय ८ पुगेको छ भने संक्रमितको संख्या ३ हजार ५ सय १३ छ । भारतमा संक्रमितको संख्या ३० पुगेको छ। यस्तै कोरोनाको उद्गमस्थल चीनमा मृत्यु हुनेको संख्या ३ हजार ४२ पुगेको छ। त्यहाँ हिजो थप ३० जनाको मृत्यु भएको हो।

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ३ हजार ३ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ९८ हजार ४ सय १५ पुगेको छ। जसमा ५५ हजार ६ सय ११ जना उपचारपछि घर फर्किएका छन्। चीनमा मात्रै ५३ हजार भन्दा बढी मानिस उपचारपछि घर फर्किएको चीनको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.