विगतको अनुभवले थप सफल भयौँ

|

काठमाडौं : गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै सरकारी अस्पताल त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराए।

गत कात्तिकदेखि मिर्गौलाले काम गर्न छोडेर डायलाइसिस गराउँदै आएका ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने निर्णयमा उनी पुगेका थिए। जसले गर्दा उनको उपचारमा संलग्न हुदै आएका निजीदेखि अन्य चिकित्सकसमेत त्यसको तयारी गर्दै थिए।

तर गत मंसिर पहिलो हप्ता एपेन्डिक्सको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण ढिलो भएको थियो। भर्खरै एपेन्डिक्सको शल्यक्रिया पनि गरेकाले चिकित्सकहरुले विदेशकै सुविधा सम्पन्‍न अस्पतालमा पुन:प्रत्यारोपण गर्न सुझाव दिएका थिए। 

प्रत्यारोपणका लागि स्वास्थ्य राम्रो रहेको सुझावसहित चिकित्सकहरुले विदेशका सुविधासम्पन्‍न अस्पतालमा गएर प्रत्यारोपण गरिहाल्नु पर्ने सुझाव दिएका थिए। तर अन्तिम समय सम्म प्रधानमन्त्री ओलीले प्रत्यारोपण नेपालमै गर्ने इच्छा देखाएपछि चिकित्सकहरुले त्यसको तयारी गरेका थिए।

ओलीने नेपालकै शिक्षण अस्पतालमा पुन:प्रत्यारोपण गर्ने निर्णयले चिकित्सकहरुलाई हौसला त मिलेकै थियो साथतमा दबाब पनि उत्तिकै थियो। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल पारी नेपाली चिकित्सकले आफूहरु गुणस्तरीय सेवाङ्माका लागि अब्बल रहेको भनेर प्रमाणित गर्नुपर्ने अवस्था थियो।

गत बुधबार प्रधानमन्त्रीको मिर्गौला सफल प्रत्यारोपण गरेर चिकित्सकहरुले नेपाली चिकित्सा विज्ञान र नेपाली चिकित्सक पनि अब्बल रहेको प्रमाणित गरिदिएका छन्।

गत सोमबार बेलुकी प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको ५ घण्टा लगाएर सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो।शिक्षण अस्पतालका वरिष्ठ युरोलोजीस्ट तथा सर्जन डा. प्रेम ज्ञवालीको नेतृत्वमा १६ जना चिकित्सकको टोलीले प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो।

उक्त टोलीमा रहेका एक चिकित्सक युरोलोजिस्ट तथा सर्जन डा. पवनराज चालिसेले प्रत्यारोपण गर्दाको आफ्नो अनुभव थाहाखबरसँग यसरी प्रस्तुत गरेका छन्।

सुरुमा त प्रधामन्त्रीज्यूले प्रत्यारोपणका लागि हाम्रो अस्पताललाई रोज्‍नु भएको सुन्दा धेरै खुसी लाग्यो। यसअघि पनि शिक्षण अस्पतालमा सयौँको मिर्गौला सफल प्रत्यारोपण गरिसकेकाले हामी मेडिकल हिसाबले हामी त्यति धेरै आत्तिएका थिएनौँ।

हामीसँग प्रत्यारोपणका लागि एउटा बलियो टिम छ, जसले गर्दा हामी आत्तिएका थिएनौँ। तर सरकार प्रमुखका रुपमा सबैको ध्यान जाने भएकाले अलिक दबाब जस्तो महुसस भएको थियो।

तर, प्रधामन्त्रीज्यूको हामीप्रतिको विश्‍‍वास देखेर हामी ढुक्क थियौँ। सोमबार भर्ना हुनुभएका उहाँको सुरुमा सम्पूर्ण 'इन्भेस्टिगेशन' सबै गर्‍यौं। इन्भेस्टिगेशनमा उहाँलाई दाताले दिन लाग्‍नुभएको मिर्गौला उहाँमा प्रत्यारोपण गर्न मिल्ने र उहाँ स्वास्थ्य अवस्था पनि  प्रत्यारोपण गर्न मिल्ने देखियो।

अपरेशन गर्ने दिन अन्य दिन भन्दा चाँडै हामी अस्पताल पुगेका थियौँ। सुरुमा बाहिरको माहोल हेर्दा हामीले देशको प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न लागेको महसुस भएको थियो। तर अप्रेशन रुममा लगेर प्रत्यारोपण सुरु गरेपछि हामीलाई त्यस्तो अनुभव भएन।

हाम्रो टिम र हामीले यसअघि गरेको सफल प्रत्यारोपणको दरले हामी उहाँको प्रत्यारोणमा पनि सफल हुने आशावादी थियौँ। उहाँको प्रत्यारोपण सफल भएको छ। प्रत्यारोपणपछि पनि उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै आएको छ। उहाँको सरलपनले हामीलाई अहिले प्रधामन्त्रीको उपचार गरिरहेका छौँ जस्तो अनुभवनै भएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.