|

काठमाडौं : पछिल्लो ५ वर्षको अवधिमा पुनर्बिमाका लागि करिब ११ अर्ब रुपैयाँ बाहिरिएको छ। यहाँ बिमा गरेका कम्पनीहरूले आफ्नो दाबी जोखिम कम गर्नका लागि विदेशी कम्पनीसँग पुनर्बिमा गराउँदा सो परिमाणमा रकम बाहिरिएको हो।

बिमा समितिको तथ्यांकअनुसार आर्थिक वर्ष २०६८ ६९ देखि आव ०७२ ७३ को अन्त्यसम्ममा पुनर्बिमाबापत १० अर्ब ९१ करोड रुपैयाँ बाहिरिएको छ। यसमध्ये जीवन बिमा कम्पनीमार्फत ८६ करोड २९ लाख रुपैयाँ विदेशिएको छ भने निर्जीवन बिमा कम्पनीमार्फत ५ अर्ब ३ करोड रुपैयाँ बाहिरिएको छ। 

नेपालका निर्जीवन बिमा कम्पनीहरूले स्वीस रि (स्वीट्जरल्याण्ड), जेबी बोडा पुनर्बिमा कम्पनी (भारत), जनरल इन्स्योरेन्स कर्पोरेसन– जीआईसी (भारत), ह्यानओभर रि (जर्मन), ट्रस्ट रि (बहराईन), वाईका रि वेस्ट अफ्रिकन (सियरा लियोन), लोयड लण्डन, केन्या रि (केन्या), भुटान रि (भुटान) लगायतका कम्पनीहरूसँग पुनर्बिमा गर्दै आएका छन्। 

जीवन बिमा कम्पनीहरूले भने स्कोर ग्लोबल लाईफ रि (सिंगापुर), ह्यानओभर रक रि (मलेसिया), डेलवेयर अमेरिकन पुनर्बिमा लगायत कम्पनीसँग पुनर्बिमा गराउँदै आएका छन्।

‘कम्पनीहरूले ब्रोकरमार्फत पनि पुनर्बिमा गर्न सक्छन्। नेपाली कम्पनीहरूले जेबी बोडा (भारत), पायोनियर इन्स्योरेन्स ब्रोकर (भारत), फर्स्ट पोलिसी इन्स्योरेन्स ब्रोकर (भारत) लगायतका भारतीय ब्रोकरमार्फत पनि पुनर्बिमा गर्दै आएका छन्’, बिमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले भने। 

निर्जीवन बिमा कम्पनीहरूले ‘ट्रिट्री’ र ‘फ्याकल्टेटिभ’ (विषयगत\पटके) मार्फत बराबर रकमको पुनर्बिमा गरेका छन्। कम्पनीहरूले ट्रिट्रीमार्फत ५ अर्ब ३ करोड रुपैयाँ र फ्याकल्टेटिभमार्फत ५ अर्ब २ करोड रकम बराबरको पुनर्बिमा गराएको सहायक निर्देशक महर्जनले बताए। 

समितिको तथ्यांकअनुसार निर्जीवन बिमाअन्गर्त हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी रकमको पुनर्बिमा गरेको छ। पाँच वर्षको अवधिमा उक्त कम्पनीले २ अर्ब २९ करोड रकम बराबरको पुनर्बिमा गरिसकेको छ । 

त्यस्तै, शिखर इन्स्योरेन्सले १ अर्ब ५१ करोड, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ४१ करोड रकम बराबरको पुनर्बिमा गरिसकेका छन्। त्यस्तै, जीवन बिमातर्फ पाँच बर्षको अवधिमा नेपाल लाइफ कम्पनीले पुनर्बिमाबापत ३८ करोड ६७ लाख भुक्तानी गरिसकेको छ । यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले १७ करोड ६३ लाख, प्राइम लाइफले १३ करोड २२ लाख रुपैयाँ बराबरको रकम पुनर्बिमा शुल्कबापत भुक्तानी गरेका छन् । 

पुनर्बिमा निर्देशिका, २०६५ अनुसार बिमकले जारी गरेको प्रत्येक बिमालेखले रक्षावरण गरेको बिमकले धारण नगरी शतप्रतिशत पुर्नबिमा गराउनु हुँदैन । बिमकले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको जोखिमको पुनर्बिमा गराउनु पर्छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.