धनुषा : कोरोना भाइरसको जोखिम बढेपछि मास्क र सेनिटाइरजस्ता स्वास्थ्य सामग्रीको मूल्य अत्यधिक राखी बिक्री गर्ने चार व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। मास्कको कालोबजारी गर्ने दुईजना र सेनिटाइजरको कालोबजारी गर्ने दुईजना पक्राउ परेका हुन्।
जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सुस्मिता मेडिकलबाट सर्लाही बरहथवा नगरपालिका ८ का सञ्जय साह र सोही ठाउँमा रहेको सम्पूर्ण मेडिकलबाट स्थानीय अर्का सञ्जय साह समातिएका हुन्।
यस्तै, जनकपुरधाम उपमहानगरपालिपका ८ भमरपुरा चोकस्थित अलट फार्मेसीबाट लक्ष्मीनिया गाउँपालिका ३ का अनिल यादब र महोत्तरीको जलेश्वर नगरपालिका ६ का प्रभन्स चौधरीलाई पनि पक्राउ गरिएको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको छ। धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले मास्क र सेनिटाइजरको कालोबजारी भइरहेको सूचनाको आधारमा चारजना व्यापारीलाई पक्राउ गरिएको जानकारी दिए।
शनिबार पक्राउ गरिएका उनीहरुलाई आज जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ। चारैजनामाथि अनुसन्धान तथा कारबाही अगाडी बढाएको एसपी बस्नेतले जानकारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।