|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ। 

मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने नेपाली र भारतीय पर्यटकहरूको संख्यामा कमी नआउँदा कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्ने देखिएकाले सर्वपक्षीय बैठकले मंगलबारदेखि अनिश्चित कालका लागि उक्त धार्मिक स्थलमा धार्मिक पर्यटक आवतजावत बन्द गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।

‘२५ जनाभन्दा बढीको समूहमा नहिँड्ने भनेर सरकारले नै निर्देशन दिएका छ, तर हामी अनुगमनमा जाँदा कागबेनी घाट, मुक्तिनाथ मन्दिर र बौद्ध गुम्बाहरूमा भिडभाड देख्यौँ,’ उनले भने, ‘मुक्तिनाथ मन्दिर र कागबेनी घाटमा भारतीय तीर्थालुहरुको उपस्थिति बाक्लो थियो। यही कारण बन्द गर्नुपरेको हो।’ 

मुक्तिनाथ परिसरमा रहेका होटेल व्यवसायी र कागबेनी धर्मशालामा बस्दै आएका गुरुहरूले पनि भारतीय पर्यटकहरु आइरहँदा कोरोना संक्रमणको उच्च जोखिम रहेकाले आपूmहरुलाई मन्दिर गराइदिन अनुरोध गरेको प्रजिअ अर्यालले बताए।

बाह्रगुङ मुक्तिनाथ गाउँपालिका–१ मा रहेको मुक्तिनाथ मन्दिर र त्यहाँबाट १० किलोमिटर तल रहेको कागबेनी घाटमा नेपालीसहित भारतीय धार्मिक पर्यटकहरु धेरै पुग्ने गरेका छन्। औँसी तिथिमा दिवङ्गत भएकाहरूलाई पिण्ड दान गर्न कागबेनी घाट पुग्ने हिन्दु धर्मावलम्बीहरूको संख्या धेरै छ। औँसी तिथि नजिकिँदै गएकाले घाटमा पिण्ड दान गर्न जानेहरूको संख्या झनै बढ्न सक्ने आँकलन गरेर पनि घाट र मन्दिरहरूमा जान रोक लगाइएको हो।

भ्रमण वर्ष अन्तर्गत गण्डकी प्रदेशका सदस्य नीरज थकालीले बौद्ध गुम्बाहरूमा प्रार्थना र अवलोकनका लागि कसैलाई पनि नआउन आह्वान गरिएको बताए। मुस्ताङमा धेरै देशका पर्यटकहरु जाने भएका कारण संक्रमित व्यक्ति छिर्न सक्ने भएकाले कोरोनाको सन्त्रास कायम रहने बेलासम्म धार्मिक स्थलहरू बन्द रहने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.