|

बारा : निजगढ नगरपालिकामा नागरिकबाट खाट मागेर क्वारेन्टाइनमा निर्माण सुरु गरिएको छ।

कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई राख्न निर्माण गरिएको क्वारेन्टाइनमा बेडका लागि नागरिकको घर–घरबाट काठको खाट संकलन गरिएको हो। खाट संकलन गर्न नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने, वडाअध्यक्ष सुदर्शन बडाल राजमार्ग छेउका घरघर पुगेका थिए।

नगरपालिकाले निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा ५० शय्या र प्रत्येक वडामा पाँच शय्याको क्वारेन्टाइन बनाउन लागेको नगरप्रमुख खनालले बताए। नगरपालिका र नागरिकबीच समन्वय गरेर अघि बढ्ने निजगढ नगरपालिकाकी उपप्रमुख लामिछाने बताइन्। 

कोरोनाविरुद्धको लडाईमा अहिले सबैको साथ लिएर अघि बढ्नुपर्ने अवस्था छ,’ उपप्रमुख लामिछानेले भनिन्स्वा, ‘स्थ्यकर्मी र सुरक्षाकर्मीहरुको बैठकले क्वारेन्टाइनको व्यवस्था गर्ने निर्णय गरे अनुसार अघि बढेका छौं।’

आइसोलेसन वार्ड तयार 

नगरपालिकाले पाँच शय्याको आइसोलेसन वार्ड तयार गरेको छ। वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन वार्ड तयार गरेको नगर स्वास्थ्य संयोजक रमेश लामाले जानकारी दिए।

इन्फ्रारेड थर्मामिटर र पिपिइ माग 

कोरोना भाइरसको शंकास्पद बिरामीको परीक्षणका लागि आवश्यक साधान नभएपछि माथिल्लो निकायसँग नगरपालिकाले माग गरेको छ। 

ज्वरो परिक्षण गर्नका लागि इन्फ्रारेड थर्मामिटर प्रयोग गरी शंकास्पद व्यक्तिलाई परीक्षण गर्ने व्यवस्था मिलाउने र  स्वास्थ्यकर्मीले प्रयोग गर्ने प्रर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) को व्यवस्थापनका लागि सम्बन्धित निकायसँग माग गरिएको संयोजक लामाले बताए।

 ‘स्थानीय स्तरमा तयार भएको पिपिई प्रयोग गरेर काम गरिएको छ’, संयोजक लामाले भने, ‘मापदण्डअनुसारको सामग्री माग गरेका छौं।’

आगन्तुकहरुको तथ्यांक संकलन गरिने

नगरभित्र बाह्य देशबाट आएका आगन्तुकहरुको तथ्यांक वडामार्फत संकलन गरिने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराउन व्यवस्था मिलाउने निर्णय गरेको नगर प्रमुख खनालले बताए।

यस्तै, नगरको राजमार्ग क्षेत्र तथा भित्री सडकहरुमा सरसफाई गर्ने भएको छ। कीटनाशक औषधि छर्केर संक्रमण फैलिन नदिने तयारी भइरहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.