|

डडेल्धुरा : डोटीमा एकैदिन तीन सय ३० जनामा कोरोना भाइरस परीक्षणका लागि नमुना संकलन गरिएको छ। जिल्लाका ९ वटै स्थानीय तहमा विभिन्न क्‍वारेन्टाइनहरुमा राखिएका ३ सय ५ र अन्य २५ जना गरी ३ सय ३० जनाको बुधबार स्वाब संकलन गरिएको हो।

बुधबार बिहान स्वास्थ्य मन्त्रालय र डोटीबाट प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरको पहलमा हेलिकप्टरमार्फत डोटीमा पठाएका स्वास्थ्य सामग्री र जिल्लाभित्रका डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको टोलीले स्वाब संकलन गरेको हो। नेपाल लकडाउन भएकै दिन चैत ११ गते गौरीफन्टा नाका भएर भारतबाट नेपाल भित्रिएका उनिहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले गाडीको व्यवस्था गरी जिल्लामा पठाएर क्‍वारेन्टाइनमा राखिएको थियो।

सो नाकाबाट आएकामध्येबाट कैलालीका १ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि उनीसँगै आएका डोटीका बासिन्दाहरुमा कोरोनाको परीक्षण गर्न स्वाब संकलन गरिएको हो। दिपायल सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका र केआई सिंह गाउँपालिकाको सेती सभाहल राजपुरमा, शिखर नगरपालिकाको धुरकोट, बोहरागाउँ र बानेडुङग्रीसैन गरी ३ ठाउँमा, आदर्श र सायल गाउँपालिकाको मौवामा, बडीकेदार र जोरायल गाउँपालिकाको विपिनगरमा र बोगटान फुडसिल गाउँपालिकाको चवराचौतारा केन्द्रमा छुट्टाछुटै डाक्टरहरुको टोलीले स्वाव संकलन गरेको हो।

जस अनुसार सेती सभाहल राजपुर केन्द्रमा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका डाक्टर बबिता गजमेर, धुरकोट केन्द्रमा नेपाली सेनाको सुुदूरपश्चिम पृतना हेडक्‍वाटरका उप–सेनानी डाक्टर यमुना थापा, बानेडुङग्रीसैन र बोहरा गाउँमा जिल्ला अस्पताल डोटीका डाक्टर समिक्षा न्यौपाने, मौवा केन्द्रमा मौवा नगरदह स्वास्थ्यचौकीका डाक्टर समिक सिंह, चवराचौतारामा डाक्टर घनश्याम भट्ट र विपिनगरमा जिल्ला अस्पतालका डाक्टर राजीव न्यौपाने नेतृत्वको स्वास्थ्यकर्मीहरुको टिमले स्वाव संकलन गरेको स्वास्थ्य कार्यालय डोटीमा कार्यरत सम्पर्क व्यक्ति सूर्य बिष्टले जानकारी दिए।

शिखर नगरपालिकाका तीनै केन्द्रमा गरी ८४ जना, चवराचौतारामा ७६ जना, मौवामा ७५ जना, सेती सभा हल राजपुरमा ५० जना र विपिनगरमा ४५ जना गरी ३ सय ३० जनाको नाकको स्वाव संकलन गरिएको डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए। जसमध्ये क्‍वारेन्टाइनमा रहेका ३ सय ५ सँगै ११ जना सुरक्षाकर्मी, ३ जना कामदार र जनप्रतिनिधिसहित अन्य ११ जना रहेका छन्।

संकलन गरिएको स्वाव परीक्षणका लागि आजै स्वास्थ्य मन्त्रालयले पठाएको हेलिकप्टरमार्फत धनगढी पठाइएको छ। धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार शुक्र ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौं पठाइने नेपाली सेनाको रुद्रध्वज गण सिलगढीका प्रमूख सेनानी रत्नकेशर खड्काले जानकारी दिए।
स्वाव संकलनका लागि सहयोग गर्ने स्वास्थ्य मन्त्रालयको टिम, गृहमन्त्रालयको टीम प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरलयायत सम्पूर्ण स्वास्थ्यकर्मीहरु र सुरक्षाकर्मीहरुको टोलीलाई डोटीका प्रमुख जिल्ला अधिकारी पौडेलले विशेष धन्यवाद दिए।

स्वास्थ्य सामग्री  हस्तान्तरण

यसैबीच प्रतिनिधिसभा सदस्य प्रेम आलेमगरले आजै हेलिकप्टरमार्फत डोटीमा पठाइएका स्वास्थ्यसामग्रीहरु डोटीका प्रजिअ पौडेले स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई हस्तान्तरण गरेका छन्। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जिल्लामा स्वास्थ्य सामग्री अभाव रहेकाले सांसद आलेमगरले पिपिइ १ सय १० थान, हेडक्याप १ हजार थान, ग्लोब्स १ हजार २ सय जोडा, गमबुट ३५ जोडा, फुट क्याप १ हजार जोडा, मास्क १ हजार २ सय ५० थान, स्यानिटाइजर २ सय बोतल र साइरेक्स पाउडर ३० बोत्तल जिल्लामा पठाएका छन्।

जसमध्येका ६ वटा पेटीमा प्याक गरिएका सामग्री हेलिकप्टरबाट जिल्लामा पुगेको छ भने बाँकी ५ पेटी सामग्री सेनाको स्काइ भ्यानबाट धनगढी पुगेको र धनगढीबाट प्रदेश स्वास्थ्य निर्देशनालयको गाडीमार्फत आजै डोटी ल्याउने काम भइरहेको प्रजिअ पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.