|

यो संसारमा  पल प्रतिपल परीक्षा भइरहेको छ, एसइई पनि यस्तै परीक्षाको एक खुड्किलो हो जसमा यस वर्ष ४लाख ६६ हजार ९७ जना आफ्नो मूल्यांकन गराउँदै छन्। सबै व्यक्ति, संस्था सरकार सफलताका लागि विभिन्न प्रकारका परीक्षाको सामना गर्न जरुरी छ।

परीक्षाबिना कोही पनि आममानिस  चिन्ने, बुझ्ने खोज्ने, अख्तियार प्राप्त गर्ने ठाउँमा पुग्न सक्दैन। तसर्थ प्रत्येक मानिस परीक्षा र सफलताको कसीबाट उन्नतिको बाटोमा अघि बढेको हुन्छ। प्रतिस्पर्धात्मक जगतमा सम्पन्न र शानदार भएर बाँच्नु छ भने परीक्षामा उतीर्ण हुनैपर्छ।

जबसम्म मानिसको जीवन छ तबसम्म मानिस परीक्षामा छ। परीक्षा कहिल्यै स्थगित हुँदैन र अन्त हुँदैन। यो अविछिन्न उत्तराधिकारवाला संघर्षको नाम हो। पद पाउनका लागि, सम्पत्ति कमाउनका लागि, ख्याति बढाउनका लागि, प्रभाव र प्रतिष्ठा विस्तार गर्नका लागि हरेक समय र हरेक परिवेशमा परिक्षा जीवत रहने हुँदा एसइई, कक्षा ११, १२, बिए बिबिएस, अर्थात् अनेक तह तप्काका विद्यार्थी परीक्षामै आवद्ध हुनुपर्छ। चैत ६ गतेबाट हुने भनेको मिति मात्र स्थगित भएको हो  तर विद्यार्थीको जिम्मेवारी स्थगित भएको छैन। 

परीक्षाका लागि निरन्तर सोचेर आफ्नो स्वास्थ्य नै बिगार्ने भनेको होइन तर स्वस्वास्थ, शुद्ध चिन्तन र सन्तुलित मानसिकताका साथ आफ्नो दिमागलाई परिपक्व बनाउनका लागि नियमित रुपमा रुटिन बनाएर पढ्न जरुरी छ।

कुनै पनि सचेत व्यक्ति शिक्षा, परीक्षा र कर्तव्यबाट कहिल्यै पनि मुक्त हुन सक्दैन। त्यसैले त माहात्मा गान्धीले भनेका थिए। 'बाँच यसरी कि तिमी भोलि मर्दै छौ र पढ यसरी कि तिमी कहिल्यै मर्ने छैनौ।'

यो कुराको आन्तर्य बुझ्नु  अहिले स्थगित परीक्षामा अल्मलिएका विद्यार्थीका लागि पनि अति आवश्यक छ। अहिलेसम्मको अध्ययनमा देशमा लकडाउन थिएन।

विद्यार्थीहरूलाई अलिकति नजान्न साथ सरहरूले बताइदिनु हुन्थ्यो अब  घरमा नै  बसेर आफैँ शिक्षा ग्रहण गरी रहेको अवस्था छ, जुन स्वदिप्त हुने अमूल्य अवसर हो। यस्तो बेलामा राम्रो ग्रेड ल्याउनका लागि अद्धितीय अवसर प्राप्त भएको छ। यो मौकालाई अवसरको रुपमा प्रयोग गरेर जसले मिहिनेतलाई ग्रेडमा स्थापित गर्न सक्छ उसका लागि भविष्‍यका  धेरै ढोकाहरु खुल्नेछन्।

उच्च ग्रेडयुक्त सर्टिफिकेट विद्यार्थी जीवनको पहिलो उत्साह तथा उत्प्रेरणाको आधार हो। परीक्षाका लागि निरन्तर सोचेर आफ्नो स्वास्थ्य नै बिगार्ने भनेको होइन तर स्वस्वास्थ, शुद्ध चिन्तन र सन्तुलित मानसिकताका साथ आफ्नो दिमागलाई परिपक्व बनाउनका लागि नियमित रुपमा रुटिन बनाएर पढ्न जरुरी छ।

दुनियाँ बुझ्नुपर्छ, कसको कस्तो निर्णय क्षमताले गर्दा देश तथा विश्वलाई फाइदा पुगेको छ भन्ने बारे विश्वमञ्चको सामान्यज्ञान राख्दै विभिन्न सरुवा रोगबाट कसरी बच्ने भन्ने बुझ्दै आफ्नो तयारीलाई निरन्तरता दिनु आजका विद्यार्थीको दैनन्दिनी र परमकर्तव्य हो।

जोन डिबेले भनेको एउटा भनाइले विद्यार्थीलाई शिक्षा तथा सिकाइको गहनता बुझाउन सहयोग गर्छ। उनका अनुसार 'शिक्षा जिन्दगीको तयारी होइन वास्तवमा पूरै जिन्दगी नै  हो ।' यही कुरालाई आत्मसात गरेर प्रत्येक मानिसले शिक्षा, सिकाई तथा गराईको माध्यमबाट जीवनलाई सहज बनाउनुपर्छ। अग्रमनका लागि कुनै न कुनै प्रकारको परीक्षा पास त गर्नैपर्छ।

व्यापार व्यवसायमा सयौं प्रतिस्प्रर्धीसँग सामना गर्नुपर्छ, कुनै औषधि तथा किटको आविष्कार गर्दा पनि सस्तो, राम्रो भरपर्दो र उपयोगी बनाउने संघर्ष रहिरहन्छ। त्यसैले जीवनका हरेक पाइला परीक्षाका घडीहरू हुन्। सचेत रहनुपर्छ।  आम जीवनको परीक्षा र अन्तिम तथा मूल्यांकित तथा निर्णयात्मक  परीक्षाको बीचमा केही फरक छ। निचोडमा परीक्षा परीक्षा नै हो जसरी सूर्य बीना जीवन सम्‍भव हुँदैन परीक्षाबीना सफलता सम्‍भव हुँदैन।

जीवनका अन्य परीक्षामा व्यक्तिले कामगर्नका लागि  केही बढी समय पाउँदछ तर एसइइ जस्ता निर्णयात्मक परीक्षामा जे जति  गर्ने हो त्यो ३ घण्टाभित्र नै गर्नु पर्ने हुन्छ। अर्थात तोकिएको समयमा आफ्नो सक्षमता तार्किकता र स्मरण शक्तिलाई प्रस्फुटन गरेर देखाउन सक्नुपर्छ। त्यसैले प्रत्येक निर्णयात्मक परीक्षा परीक्षार्थी अरुभन्दा बढी सतर्क र सोचपूर्ण हुनैपर्छ। त्यसका लागि तयारीको निरन्तरता आजको आवश्यकता हो।

केही व्यक्तिहरु औपचारिक शिक्षाबिना पनि ठूलो कामगर्न सक्षम भएका छन्, जस्तै, पृथ्वी नारायण शाह,  विलगेट्स, ज्याक माँ, राइट दाजुभाई आदि तर यो बुझ्न जरुरी छ कि उनीहरु नपढेर, अज्ञानी भएर ठूला भएका होइनन् उनीहरु जुन काममा थिए त्यसमा अब्बल भएको कारण चर्चित बनेका हुन्।

त्यसैले  केही अपवाद थोरै शैक्षिक योग्यतामा पनि माथि पुगे भन्दैमा आम व्यक्तिले त्यो सोच्नु गलत हो। जीवन जीउन अशिक्षित पनि सक्षम होला तर अरुको जीवन बचाउनका लागि शिक्षा ज्ञान परिश्रम नै आवश्यक छ।

पैसाले, व्यापारिक, औद्योगिक  तथा कलाकारितासम्बन्धी सफलतामा मानिस माथि पुग्छ तर विभिन्न असाध्य रोगको उपचार गर्नका लागि औषधिको कम्पोजिसन मिलाउने काम अशिक्षितले  गर्न सक्दैन।

अनुभव,  परिश्रम, अभ्यास आदिले दीर्घकालमा सक्षम बनाउन सक्ला तर तत्काल कुनै समस्या समाधान गर्न चाहिने अनुसन्धनात्मक, परीक्षणात्मक र परिमाणत्म सटिक उपलब्धीका लागि सम्वन्धित बिषयको ज्ञान अति नै आवश्यक हुने हुनाले। मिहिनतलाई निरन्तर जारी राख्‍नु विद्यार्थीको वर्तमान आवश्यकता हो।

शिक्षा आवश्यक हुँदैनथ्यो भने विस. १९०६ मा बेलायत र फ्रान्स भ्रमणगरेका जंगबहादुर राणाले विसं १९१० असोज २४ गते दरबार हाइस्कुलको स्थापना गर्ने थिएनन्।  जंगबहादुर स्वयंमले कुनै औपचारिक शिक्षा लिएका थिएनन् तर उनले चिन्तन, विकास र विज्ञानका लागि शिक्षा चाहिन्छ भनेर पहिलो पटक औपचारिक शिक्षाको शुरुवात गरेका थिए। 

 एसइई दिइरहेका लाखौँ विद्यार्थीले लकडाउनमा पनि आफ्नो ध्यानलाई अहिलेको गाइडलाइन अनुसारको स्वास्थ्यमा पूर्ण ध्यान दिँदै, साबुन पानीले हात धुँदै अध्ययनमग्न हुनैपर्छ। विजेता बन्नका लागि अध्ययन र अभ्यास निरन्तर जारी राख्‍नुपर्छ।

शुरुमा राणाहरुका लागि मात्र खुलेको दरबार स्कुल विस. १९४२ बाट सर्वसाधारणले पनि पढ्न पाउने व्यवस्था गरिएको थियो।  नेपाली विद्यार्थीले विसं १९३६ बाट एसएलसी अहिलेको एसइई दिन थालेका हुन्।  पहिला कलकत्ता विद्यालयले  एसएलसी परीक्षा लिन्थ्यो। पछि विस १९८० बाट नजिकको पटना विद्यालयले परीक्षा लिन्थ्यो।

नेपालमा एसइई लिन  पहिलो पटक नेपाली परीक्षा बोर्ड १९९० कार्तिक १६ गते खुलेको हो।  त्यसैवर्ष पुस अन्तिम साताबाट एसएलसी शुरु भएकोमा १९९० माघ २ गते महाभूकम्प गएकोले नेपालमा पहिलो पटक एसएलसी स्थगित भएर पछि मात्र लिइएको थियो।

नेपालमै परीक्षा लिइए पनि सम्पूर्ण जिम्मा पटना विद्यालयको थियो। वि.सं २००३ सालदेखि मात्र नेपाल सरकार सम्पुर्ण परीक्षाको जिम्मा लिएको थियो। स्मरण रहोस पहिलो नेपालको एसएलसीमा ३४ जना विद्यार्थीले  परीक्षा फारम भरे ३३ जनाले परीक्षा  दिए १० जना द्धितीय र ९ जना तृतीय श्रेणीमा उतीर्ण भई १४ जना फेल भएका थिए। त्यतिबेला उर्तींणांक प्रत्येक विषयमा ३६ थियो।

नेपालको पहिलो बोर्डफस्ट भक्तपुरका पुष्पभक्त मल्ल हुन्। नेपालमा बोर्डफस्‍टलाई ज्यादै इज्जतका साथ हेर्ने गरिन्छ। यस्तै बोर्ड फस्टमध्ये एक जना नेपालका प्रधानमन्त्री पनि बनेका छन्। पछिल्ला वर्षहरुमा बोर्डफस्‍ट भनेर तोकिँदैन।

जीवनमा औपचारिक शिक्षाको आफ्नै महत्व र गरिमा छ त्यसैले  एसइई दिइरहेका लाखौँ विद्यार्थीले यो स्थगितावधिमा आफ्नो ध्यानलाई अहिलेको गाइडलाइन अनुसारको स्वास्थ्यमा पूर्ण ध्यान दिँदै, साबुन पानीले हात धुँदै अध्ययनमग्न हुनैपर्छ।

हतियारका युद्ध जमिनमा लडिएका होलान् तर बौद्धिक युद्ध परीक्षामा नै लड्नुपर्ने हुनाले विजेता बन्नका लागि अध्ययन र अभ्यास निरन्तर जारी राख्‍नुपर्छ। जसरी ओलम्पिकमा एउटा पदक जित्नका लागि प्रतिस्पर्धीले वर्षौं अभ्यास गर्नुपर्छ त्यसैगरी परीक्षामा विश्वासकासाथ अंकार्जनका लागि निरन्तर अध्ययन गर्नुपर्छ।

मार्गरेट मिडले भनेझैँ, 'शिक्षाले विद्यार्थीलाई के सोच्ने भन्ने सिकाउँदैन तर कसरी सोच्ने भन्ने सिकाउँदछ।' यो लेखको उद्देश्य पनि विद्यार्थीलाई यो यो पढ र यसरी पढ भन्ने कोरा ज्ञान दिन चाहँदैन। आफ्नो तरिकाले यो संसारको कुनै एक क्षेत्रमा नेतृत्व लिने क्षमता ग्रहण गर्नेगरी अध्ययन गर परीक्षामा उत्कृष्ट बन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.