अझै हटेन पुराना दुई पार्टीको तुष

|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचको कोरोना रोकथाम तथा न्यूनीकरणका लागि उच्चस्तरीरय राजनीतिक संयन्त्र निर्माण गर्नुपर्ने योजना करिब तुहिएको छ।

अध्यक्ष दाहालले सरकार सञ्‍चालनलाई प्रभावकारी बनाउन तथा कोरोनाविरुद्धको अभियानलाई सशक्त बनाउन भन्दै गरेको राजनीतिक संयन्त्र निर्माणको प्रस्तावलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरिदिएका छन्। 

एक महिनायताका पटक पटकका अन्तर्वार्तामा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु पर्ने प्रचण्डको प्रस्तावलाई ओलीले ठाडै चुनौती दिँदै अस्वीकार गरिदिएका हुन्।

'कुनचाहिँ प्रजातान्त्रिक देशमा सरकारमाथि अर्को स‌ंयन्त्र देख्‍नुभएको छ? भारत, अमेरिका, जापान कहाँ छ संयन्त्र?', ओलीले शनिबार सरकारी सञ्चारमाध्यमसँगको अन्तरक्रियामा भने, 'दुईतिहाइ नजिकको सरकारले आफ्नो स्पिडमा काम गरिरहेको छ। कोरोना नियन्त्रणमा पनि सरकार सशक्त रुपमा मैदानमा छ। अनि केहो संयन्त्र? जंगलको किनारमा बसेर कस्तो संयन्त्र खोजिएको हो?'

उता अध्यक्ष दाहालले कोरोना रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यकता भएको औंल्याइरहेका छन्। उनले एक महिनायता दिएका चार बढी अन्तर्वार्तामा यो संकटको सामूहिक रुपमा सामना गर्न राजनीतिक संयन्त्र अनिवार्य रहेको बताइरहेका छन्।

तर, ओलीले अध्यक्ष दाहालको प्रस्तावलाई सुन्‍नै चाहेका छैनन्। प्रधानमन्त्रीले बरु त्यस्तो संयन्त्र चाहिए आफ्नै अध्यक्षतामा गठन गर्नुपर्ने तर्क गरेका छन्। ओलीकै अडानका कारण प्रचण्डको उक्त प्रस्ताव करिब तुहिने अवस्थामा पुगेको छ।

पुरानै पार्टीको तुष

विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लड्न सरकारले उच्चस्तरीय समिति निर्माण गरेर काम गरिरहेको छ। जसको संयोजक छन् उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेल। यद्यपि यो समिति र सरकारले मात्रै कोरोना रोकथाममा पर्याप्त काम गर्न नसकेको ठहर गर्दै अध्यक्ष दाहालले राजनीतिक संयन्त्रको कुरा उठाएका हुन्। 

प्रधानमन्त्री ओली पक्षले अस्वीकार गरेपछि राजनीतिक संयन्त्रको कुरा करिब ओझेलमा परेको छ। पार्टी एकता भएको दुई वर्ष गुज्रन लाग्दासमेत नेकपाभित्र पुरानै पार्टीगत तुष हट्न नसकेको यही प्रकरणले पनि देखाएको छ। 

अध्यक्ष दाहालले कोरोना रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने बताइँरहदा पूर्वएमाले र पूर्वमाओवादीका नेताहरुबीच मत बाझिएको छ। नेताहरु यसलाई लिएर फरक फरक कित्तामा उभिएका छन्। 

आरोप प्रत्यारोपमै व्यस्त

कोरोना रोकथाम तथा न्यूनीकरणका लागि उच्चस्तरीय राजनितीक संयन्त्रको विषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पुनः फरक मत देखापरेको हो। प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पछिल्लो समयमा पार्टीभित्रको आन्तरिक छलफलका क्रममा विमति देखिएपछि सम्बन्धमा चिसोपना आएको थियो। जुन कुरा तल्लो तहसम्म छताछुल्ल भइरहेको छ।

अध्यक्ष दाहालले उठाएको संयन्त्रको कुरामा पूर्वएमाले पक्षका नेताहरुले अविस्कार गरेपछि रद्द भएको दाहाल पक्षको आरोप छ। यता, अध्यक्ष दाहालले राजनीतिक संयन्त्रको कुरा उठाएपछि ओली पक्षले प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेस र समाजवादी पार्टी नेकपाका संघीय अध्यक्ष बाबुराम भट्टराइसँग हिमचिव बढाएको ओली पक्षको आरोप छ। 

ओलीको असमर्थन, दाहाल ‘विफल’

नेपालमा कोरोनाको संक्रमित बढ्दै गएपछि रोकथामलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच गत शनिबार भेट भएको थियो। बालुवाटार स्रोतका अनुसार त्यो भेटमा पनि अध्यक्ष दाहालको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरिदिएका थिए। 

यसअघिका दिनमा पनि पार्टीभित्रको आन्तरिक छलफलका क्रममा विमति देखिएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचको भेटघाट बन्द भएको थियो। उनीहरुबीच दुरी बढेपछि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि मध्यमार्गीको भूमिका निर्वाह गरेका थिए। 

पछिल्लो समयमा नेता नेपाललाई फकाउन दुवै अध्यक्ष जोडतोडका साथ लागेका छन्। प्रचण्डले नेपाललाई खुमलटारमै बोलाएर पटक पटक छलफल गरेका छन्। अर्कातिर प्रधानमन्त्री ओलीले पनि नेता नेपालसँग निरन्तर छलफल गरिरहेका छन्। 

अध्यक्ष दाहाल र प्रधानमन्त्री ओलीबीच सभामुख चयन, वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषय, संविधान संशोधन कार्यदल, अमेरिकी परियोजना (एमसिसी) लगायतमा तीव्र मतभेद देखिँदै आएको थियो। विश्‍व आक्रान्त बनिरहेको कोरोना भाइरसको रोकथाम र न्यूनीकरण गर्ने बिषयमा दुई नेताबीच तिक्तता आएको छ। 

‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बिषयलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच फेरि मनमुटावको अवस्था आएको छ’, एक नेताले भने, ‘अध्यक्ष दाहाल कोरोना रोकथामको बिषयलाई लिए सबै दललाई एकै ठाउँमा समेट्ने योजनामा देखिनुहुन्छ। तर, प्रधानमन्त्री ओली दुईतिहाइ नजिकको सरकार हुँदा पनि यस्तो संयन्त्रको कुरा गर्नु बेमौसमको बाजाको संज्ञा दिँदैछन्। 

‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बिषयलाई लिएर पार्टी नेताहरुमा तत्कालीन एमाले र तत्कालिन माओेवादीकै तुष देखिएको छ’ ती नेताले भने, ‘यही बिषयमा मात्रै होइन। पार्टीभित्र विवादित सबै बिषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको मत बाझिएको अवस्थाले निरन्तरता पाइरहेको छ।' 

कार्यान्वयन गर्नुपर्छ

कोरोनाको महामारी फैलिरहेको बेलामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच उच्चस्तरीय रारजनीतिक संयन्त्रलाई लिइएको विमति सिर्जना भएको कुरा बाहिर आएको नेकपा अनुशासन आयोगका प्रमुख अमृत बोहोरा स्वीकार गर्छन्। 

‘राजनीतिक संयन्त्रको बिषयलाई लिएर प्रधानमन्त्री ओली र दाहालबीच बिमति सिर्जना भएको कुरा बाहिरिएको छ’ उनले थाहाखबरसँग भने, ‘कोरोनाले आक्रान्त भइरहेको बेलामा समस्या समाधानको बाटो विकल्प खोज्‍नु उत्तम हुन्छ।’ 

सरकारले धेरै निर्णय गर्ने र त्यसको कार्यान्वयनमा ढिलाई गर्ने गरेको छ। तर, कोरोनासँग जुध्न निर्णय कार्यान्यन गर्न सक्नुपर्ने उनको भनाई छ।  ‘सरकारले आफ्ना आवश्यकताको आधारमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने हो। तर, प्रधानमन्त्री ओलीले नै त्यसको आवश्यकता नदेखेपछि सबै राजनीतिक दल एकजुट भएर काम गर्दा राम्रो हुन्छ,’ उनले भने। 
सरकारले चाहेको खण्डमा उच्चस्तरीय बनाउन सक्ने नेकपा प्रमुख सचेतक देव गुरुङ बताउछन्। ‘उच्चस्तरीय राजनीतिक संयन्त्रलाई लिएर प्रमुख त सरकार नै लाग्नुपर्यो’ उनले भने, ‘सरकारले आवश्यकता औल्याएको खण्डमा उच्च स्तरीय राजनीति संयन्त्र निर्माण गर्दा फरक पर्दैन।’
सरकारले एक ढंगबाट काम गरिरहेको बेलामा सरकारको विना सहमती संयन्त्र निर्माण हुनेको अर्थ नभएको बताउछन्। ‘सरकारको बिना सहमति संयन्त्र निर्माणले अर्थ राख्दैन। कोरोना रोकथामका लागि एक किसीमको कुरा सिफारिस गर्ला। तर, त्यसमा सरकारले वेवास्ता गरिदियो भने त्यो राम्रो हुदैन’ उनले भने। 

छलफलमै नआएको विषयमा चर्चा धेरै

उच्चस्तरीय राजनीतिक संयन्त्रको बिषयलाई लिएर पार्टीभित्र औपचारिक रुपमा छलफल नभएको बिषयमा चर्चा धेरै भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउँछन्। 

‘बाहिर जस्तो चर्चा छ। तर, पार्टीभित्र त्यस बिषयमा अहिलेसम्म छलफल समेत भएको छैन,’ उनले भने, ‘एकतर्फीरुपमा  सरकारले निर्माण गरेको उच्चस्तरीय समितिको बैठकले काम गरिरहेको छ। सरकारले पनि रोकथामको लागि गरेका प्रयास सफल भइरहेका छन्। त्यसैले अहिले संयन्त्रको बिषयमा लाग्नु आवश्यक देखिँदैन।’

पार्टीभित्रका नेताहरुले फरक फरक धारणा सार्वजनिक गरिरहँदा पार्टीभित्र छलफल समेत नभएको बिषयलाई लिएर चर्चा गर्नु उपयुक्त नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा बताउँछन्। 

सरकारको सहयोगलाई बनाऊँ

नेकपाकी नेतृ पम्फा भुसाल सरकारलाई सहयोगका लागि राजनीतिक संयन्त्र बनाउनुपर्नेमा जोड दिन्छिन्। विश्‍व आक्रान्त बनिरहेको बेला सरकारको सहयोगका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँदा राम्रो हुने भूसाल बताउँछिन्। 

‘देश र जनताको पक्षमा सरकारले पनि काम गरिरहेको छ। त्यसमा केही बल पुर्‍याउन प्रधानमन्त्री ओलीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्दा राम्रै हुन्छ’, उनले भनिन्, ‘कोरोनाको युद्धसँग सामना गर्नुपर्ने बेलमा धेरैभन्दा धेरै रोकथाम तथा नियन्त्रणको प्रयास गर्नु राम्रो हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.