सरकारले पर्यटन क्षेत्रमा भएको असरबारे मूल्यांकन गर्ने

|

काठमाडौं : विश्व अहिले कोरोनाको कहरबाट त्रस्त छ। विश्वभरि नै फैलिएको यो महामारीको स्वास्थ्यमा पर्ने प्रभाव त छँदै छ, यसको सामाजिक, आर्थिक तथा राजनैतिक प्रभाव पनि पर्ने निश्चित छ। सबैभन्दा बढी असर विश्व पर्यटन क्षेत्रमा पर्ने देखिएको छ। विभिन्न मुलुकमा भ्रमणका लागि निस्केका लाखौं पर्यटक स्वदेश फर्किसकेका छन्।

विश्वभर कोरोनाको असर परिरहेको बेला यसको असर नेपालमा पनि नपर्ने कुरा भएन। कोरोनाको कारणले नेपालको सबैभन्दा बढी पर्यटन क्षेत्रमा असर परेको छ। यसमा प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले असर पूर्णरूपमा असर परिसकेको छ।

यतिबेला पर्यटन क्षेत्रसँग सम्बन्धित सम्पूर्ण उद्योग सुनसान छन्। होटल,रिसोर्ट, रेष्टुरेण्ट, ट्रेकिङ क्षेत्र तथा पर्वतारोहणलगायत सबै क्षेत्रमा यसको व्यापक असर परिसकेको छ। पर्यटन क्षेत्रमा परेको नोक्सानको मूल्यांकन गर्न गाह्रो हुने पर्यटन व्यवसायीहरू बताउँछन्। कोरोनाको कहर बढेसँगै लकडाउनको अवधि बढ्दै गएपछि ४४ सयभन्दा बढी पर्यटक स्वदेश फर्किसकेका छन्।

तीन वर्ष थलियो पर्यटन क्षेत्र

होटल, रिसोर्ट र पर्यटकीयस्थल बन्द हुँदा धेरैले रोजगारी गुमाएको नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले बताए। उनका अनुसार नेपालको पर्यटन क्षेत्रले करिब ५ लाख मानिसलाई रोजगारी दिएको छ।

नेपालको पर्यटन व्यवसाय तीन वर्षको लागि उठन नसक्ने गरी थलिएको लामाले बताए। पर्यटन व्यवसायलाई उकास्नको लागि पर्यटन व्यवसायीलाई सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ। 'सरकारले पर्यटन व्यावसायीलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्छ,'उनले भने, 'पर्यटन व्यवसायीको तर्फबाट जनशक्ति हिमाल सरसफाइमा लगाउँछौँ।'

भूकम्प गएको सालमा भन्दा यस पर्यटन व्यवसायमा बढी क्षति भएको उनको भनाइ छ। भूकम्प हुँदा नेपालमा मात्र क्षति भएको थियो,' लामाले भने,' अन्तर्राष्ट्रिय जगतमा यसको व्यापक क्षति भएकोले विदेशमा पर्यटक आउन सक्दैनन्। 'नेपालको सबै पर्यटन क्षेत्र विदेशी पर्यटकमा निर्भर रहेकोल पर्यटन उद्योगलाई ठूलो असर पर्ने देखिएको लामाले बताए। तत्कालको लागि नेपाल सरकार पर्यटन व्यावसायीलाई सुरक्षित गर्नुपर्ने उनको भनाइ छ।

पर्यटन क्षेत्रमा १५ अर्ब रुपैयाँ बराबरको क्षति

यतिखेर नेपालको पर्यटन क्षेत्र इतिहासमा नै पहिलोपटक सबैभन्दा शून्यमा झरेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्ष खुमबहादुर सुवेदी बताउँछन्। यसपालि नेपाल सरकारले पर्यटन वर्ष मनाउने घोषणा गरेको थियो र देशले विकासको पनि फडको मारिरहको बेला यस महामारीले पर्यटन क्षेत्रमा व्यापक असर परेको उनको दाबी छ।

पर्यटन क्षेत्रमा यस वर्ष १५ अर्ब रुपैयाँ बराबरको क्षति भएको हुन सक्ने उनले बताए। 'यस वर्ष नेपाललाई पर्यटनको क्षेत्रमा ठूलो अवसर रहेको थियो,' उनले भने,' पर्यटन क्षेत्र तीन वर्षको लागि थलापर्‍यो। महामारीको रुपमा रहेको यो अवस्था तत्कालको लागि सामान्य भए पनि अहिले उठ्न सक्दैन।'

विश्वबाट नै भाइरसको उन्मुलन भएमा मात्र पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कन सक्छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा सबैभन्दा बढी यसको प्रभाव परेको छ।

नेपालको पर्यटन क्षेत्रमा सुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउन सकेमा मात्र बाह्य पर्यटकलाई नेपालमा प्रवेश गराउन सकिने उनले बताए। नेपाल पूर्णरूपमा कोभिड-१९ मुक्त भएको सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउन सक्दा मात्र बाह्य पर्यटक आउन सक्छन,' उनले भने,' अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक मन्दी हुने भएको छ। विदेशी नागरिक स्वदेशमा बेरोजगार भएका छन्। जब उनीहरू मजबुत हुन्छन् तब मात्र भ्रमणमा निस्कन्छन्।'

नेपाल सरकारले पर्यटन व्यावसायमा लगानी गर्नुबाहेक अर्को विकल्प नरहेको सुवेदी बताउँछन्। अहिले सञ्चालनमा रहेको व्यावसायीहरूलाई सरकारले सहुलियतमा ऋण उपलब्ध गराउनुपर्ने उनले बताए। 'सरकारले २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउनुपर्छ,'उनले भने,' २० लाखदेखि माथि ऋण उपलब्ध गराउनुपर्छ। यस्तो बेलामा व्यवसायीलाई प्रोत्साहन गरिनुपर्छ।'

पर्यटन क्षेत्रको असरबारे अध्ययन गर्छौं : मन्त्रालय

नेपालको पर्यटन क्षेत्रमा कस्तो असर परिरहेको छ, त्यसको अध्ययन गर्ने काम भइरहेको पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए। नेपालको पर्यटन क्षेत्र पनि अर्थतन्त्रको एक अंग रहकोले यस विषयमा सरकारले गम्भीर तरिकाले लिइरहेको उनले स्पष्ट पारे। महामारी कति समयसम्म जान्छ त्यसको आधारमा मात्र सरकारले यस विषयमा के गर्ने भनेर निर्णय गर्न सक्ने उनले प्रष्ट पारे।

'पर्यटन व्यावसायीसँग पर्यटन क्षेत्रमा परेको असरमा छलफल भइरहेको छ',उनले भने,' व्यावसायीलाई लक्षित गरी सरकारको नयाँ कार्यक्रममा आउन सक्नेछ। अहिले नै यस्तो हुन्छ भनेर भन्न सकिने अवस्था छैन।'

नेपालको पर्यटन क्षेत्रले लाखौँ मानिसलाई रोजगार प्रदान गरेको हुनाले यसले अर्थतन्त्रलाई जोगाएर राखेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.