जेलबाट १७ जना नेपाली रिहा

|

काठमाडौं : कतारको जेलमा रहेका १७ जना नेपाली रिहा भएका छन्। दोहास्थित नेपाली दूतावासले यसबारेमा बिहीबार जानकारी दिएको छ। 

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कोरोनाको वैश्‍विक महामारी र कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर आममाफी दिएपछि रिहा भएका हुन्। 

'उक्त आममाफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक पनि रिहाई हुनुहुँदैछ', दूतावासले भनेको छ, 'रिहा हुनेमा १३ जना लागूऔषध कारोबारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय काटिरहेका थिए।'

प्रधानमन्त्रीको फोन 

यसैबीच बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कतरका प्रधानमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजिज अल थानीसँग टेलिफोन संवाद गरेका छन्। 

उनले समकक्षीसँगको टेलिफोन सम्वादमा त्यहाँ रहेका नेपालीको सुरक्षा र कल्याणबारे चासो राखेको जानकारी दिएका छन्। संवादका क्रममा कतारका प्रधानमन्त्री खालिदले त्यहाँका रहेका नेपालीबारे कुनै चिन्ता नलिन आग्रह गरेको जानकारी ओलीले दिएका छन्।  

'कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीकोबारेमा चिन्ता नलिन आग्रह गर्नुभयो', उनले भने, 'विभिन्‍न आरोपमा गिरफ्तार १७ नेपालीलाई रिहा गरेकोमा मैले खुशी व्यक्त गर्दै धन्यवाद दिएँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.