८८ प्रतिशत प्रगति, तीन खर्ब ८१ अर्ब खर्च

|

काठमाडौं : गोरखाको बारपाकलाईलाई केन्द्र बनाई शक्तिशाली भूकम्प गएको आज पाँच वर्ष पूरा भएको छ। ०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ६ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पका कारण ८ हजारभन्दा बढीको मृत्यु भएको थियो भने २२ हजार मानिस घाइते भएका थिए। भूकम्पले ८ लाखभन्दा बढी भौतिक संरचना भत्किएका थिए।

भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी काम भइरहेको छ। हालसम्म पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार निजी अवास पुननिर्माणतर्फ अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएका लाभग्राहीको सङ्ख्या ५ लाख ६१ हजार ६ सय ५० अर्थात ७२ प्रतिशत पुगेको छ।

पुनःनिर्माणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट तीन खर्ब नौ अर्ब  र गैरसरकारी संस्थामार्फत् ७२ अर्ब गरी रु तीन खर्ब ८१ अर्ब खर्च भएको छ। धेरै क्षेत्रबाट प्राप्त सहयोग र सद्भावले गर्दा नै पुनःनिर्माण एवं पुनःस्थापनाबारे आत्मविश्वास र गौरवका साथ प्राप्त उपलब्धि, अनुभव एवं सिकाइलाई विश्वसामु राख्ने तहमा आइपुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। हाल कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको र नेपालमा पनि एक महिनादेखि बन्दाबन्दी जारी रहेकाले पुनःनिर्माणमा असर परेको प्राधिकरणले जनाएको छ।

हेरौँ केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.