भैंसेपाटी मोर्चालाई धक्का, उल्टियो समीकरण

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद शनिबार बसेको सचिवालय बैठकपछि तत्काललाई साम्य भएको छ। १३ दिनदेखि सतहमा देखिएको शक्ति संर्घषका कारण पार्टीभित्रको तीव्र विवाद शनिबार बसेको सचिवालय बैठकपछि विवादमा केही मत्थर हुने संकेत देखिएको हो। 

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति संर्घषका कारण पार्टी झण्डै विभाजनको मुखमा पुगेको थियो। सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले र अध्यक्ष दाहालले आत्मआलोचना गरेपछि विवाद साम्य भएको हो।

प्रधानमन्त्री ओलीले वैशाख ८ गते पार्टी विभाजन हुन सहज बनाउने अध्यादेश जारी गरेपछि पार्टीभित्रको विवाद चर्किएको थियो। त्यही विवादको कारणले पार्टी विभाजनको अवस्थासम्म पुग्यो। तीव्र आलोचनापछि प्रधानमन्त्री ओलीले विवादित अध्यादेश फिर्ता लिएका थिए। 

कोरोना भाइरसकोे महामारीको बेलामा प्रधानमन्त्रीले पार्टी फुटाउने अध्यादेश जारी गरेपछि पार्टीका नेताहरु असतुुष्ट भएका थिए। प्रधानमन्त्री ओलीले छल्दै आएको स्थायी कमिटीको बैठक यही २५ गते बस्ने निर्णय भएको छ। पार्टीभित्र तिव्र विवाद भएपछि दाहाल र नेपाल समूहले तत्कालै स्थायी कमिटीको बैठकको माग राख्दै आएको थियो। 

ओलीको ‘वामदेव कार्ड’

प्रधानमन्त्री ओलीले अध्यादेशको कारण घेराबन्दीमा परिरहेको बेलामा बुधबार प्रधानमन्त्रीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए। यता त्यसअघिको सचिवालय बैठकमा भैंसेपाटी रणनीति अनुसार दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

प्रधानमन्त्री ओलीले बुधबारकोे सचिवालय बैठकअघि गौतमलाई प्रधानमन्त्री बनाउन प्रस्तालव गरे। प्रतिनिधिसभाको निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमको लक्ष्य प्रधानमन्त्री बन्ने छ। फलतः  प्रधानमन्त्री ओलीले गौतमलाई नै प्रधानमन्त्रीको सपना पूरा गरिदिने कार्ड फ्याके।

मुख्यगरी दाहाल–नेपाल समूहनिकट गौतम प्रधानमन्त्रीकोे आश्वासनपछि ओलीतिरै ढल्किए। प्रधानमन्त्री ओेलीले नेता नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेका थिए। तर, उनले इन्कार गरे। प्रधानमन्त्रीको कार्यशैलीबाट रुष्ट नेपालले प्रस्ताव अस्वीकार गर्दै गर्दा उपाध्यक्ष गौतम भने राजी भए।

शनिबारको सचिवालय बैठक बस्नुअगावै प्रधानमन्त्री ओली र उपाध्यक्ष गौमतबीच छुट्टै भेटवार्ता भएको थियो। भेटवार्तापछि भएको बैठकमा उनलाई प्रतिनिधिसभामा लैजाले निर्णय भएको छ। 

भैँसेपाटी मोर्चालाई धक्का!

प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्रीको आश्वास दिनुपहिले उपाध्यक्ष गौतम निवासमा बसेकोे अध्यक्ष दाहाल नेतृत्वको भैंसेपाटी गठबन्धनमा धक्का पुगेको छ। प्रधानमन्त्री ओली यही गठबन्धन भत्काउन जुटेका थिए। रामबहादुर थापा बादल, ईश्वर पोखरेल, वामदेव गौतम र  विष्णु पौडेलको साथ पाएपछि ओलीको पक्षमा बहुमत जुटेको हो।                        

सचिवालयको ६ सदस्य सम्मिलित भैँसेपाटी गठबन्धले प्रधानमन्त्री ओली अल्पमतमा परेका थिए। गठबन्धनमा अध्यक्ष दाहालसहित, उपाध्यक्ष गौतम, बरिष्ठ नेता नेपाल, झलनाथ खनाल, प्रधानमन्त्री ओली निकट मानिएका महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए। तर, अध्यक्ष दाहालनिकट मानिएका गृहमन्त्री थापा बादल मोर्चाबन्दीबाट टाढै रहे।  

त्यसो त गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीनिकट भएको अध्यक्ष दाहालनिकट नेताहरुले आरोप लगाउँदै आएका छन्। तर, प्रधानमन्त्री ओलीसँगको सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष दाहालले गृहमन्त्री थापालाई पटक पटक भेटेर छलफल गरेका थिए। 

सभामुख चयनलाई लिएर अध्यक्ष दाहाल नेतृत्वमा उपाध्यक्ष गौमत निवासमा भएको भेलालाई लिएर प्रधानमन्त्री ओली शसंकित हुँदै आएका थिए। 

ओली–दाहाल मिले, नेपाल सशंकित

पार्टीभित्र विवाद चर्किएपछि अध्यक्ष दाहाल र नेता नेपाल नजिकिएका थिए। बुधबारको सचिवालय बैठकमा दाहाल नेपाल समुहले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको थियो। 

तर, शनिबारको बैठकअगाडि प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि विवाद साम्य भएपछि दाहालसँग नेपाल शसंकित भएका छन्। प्रधानमन्त्री ओलीसँगको असन्तुष्टिका कारण दाहाल र नेपाल नजिकिएका थिए। तर, नेता नेपालले प्रधानमन्त्री ओलीले प्रस्वाव गरेको तेस्रो अध्यक्ष अस्विकार गरे। जसले गर्दा पार्टीभित्र तेस्रो अध्यक्षको बिषय बन्द भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउँछन्। 

‘सचिवालय बैठक सुरु हुनुभन्दा पहिला प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहालकोे भेटलाई हामीले अर्थपूर्ण रुपमा लिएका छौँ। भेटलगत्तै उहाँले प्रधानमन्त्रीसँग सहमति गर्नुभएको जस्तो लाग्यो’ नेता नेपालनिकट एक नेताले भने, ‘त्यस बिषयमा हामीले गम्भिर भएर समीक्षा गर्नेछौँ।’

उल्टियो समिकरण 

प्रधानमन्त्री ओलीले ‘वामदेव कार्ड’को प्रयोग गरेलगत्तै सचिवालयको समिकरण बदलिएको छ। भैंसेपाटी गठबन्धनअनुसार अध्यक्ष दाहाल, वरिष्ठ नेताहरु नेपाल, खनाल र गौतम, प्रवक्ता श्रेष्ठ एकै खेमामा देखिएका थिए। 

तर प्रधानमन्त्रीले गौतमलाई प्रधानमन्त्रीकोे आश्वासन दिएपछि सचिवालयमा प्रधानमन्त्रीको बहुमत भएको छ। सचिवालयमा प्रधानमन्त्रीको पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेल, उपाध्यक्ष गौतम र गृहमन्त्री थापासमेत देखिएका छन्। 

अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा माग्दा समेत दाहालनिकट मानिएका गृहमन्त्री थापाले प्रधानमन्त्रीको राजीनामा माग्ने समय नभएको तर्क गरिररहेका थिए। तर, गौतमलाई लिएर बदलिएको नेकपाको समिकरणले प्रधानमन्त्री ओलीलाई कतिको साथ दिन्छ त्यो हेर्न बाँकी छ। 

तत्काललाई ओलीविरुद्ध बनेको दाहाल–नेपाल मोर्चाबन्दीलाई धक्का लागेको छ। खुमलटार र कोटेश्वर रक्षात्मक हुनुपरेको छ भने बालुवाटारले स्थायी कमिटी बैठकसम्मलाई सुरक्षित महसुस गरेको छ। 

चिनियाँ चासो 

नेकपाभित्रको विवादलाई लिएर छिमेकी मुलुक चीनले पनि चासो देखाएको छ। पार्टीभित्रको विवाद चर्किएको बेलामा नेपालको लागि चिनियाँ राजदूत हौ यान्छीले प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र नेता नेपाललाई बेग्लाबेग्लै भेटवार्तासमेत गरेकी थिइन्। 

विवादका बिच चिनियाँ राष्ट्रपति सी जिन पिङले राष्टपति विद्यादेवी भण्डारीसँग टेलिफोट वार्ता समेत गरेका थिए। हौ यान्छीले संकटका बेला मिलेर अघि बढ्न दिएको दबाबले ओलीको सुरक्षित अवतरण भएको आकलन गरिएको छ। 

राष्ट्रपति–प्रधानमन्त्री भेट अर्थपूर्ण

पार्टीभित्र विवाद चर्कँदै गर्दा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको भेटवार्तालाई अर्थपूर्ण मानिन्छ। विवादित अध्यादेश जारी भएलगत्तैदेखि शनिबारसम्म ओलीले राष्ट्रपतिलाई तीन पटक भेटे। पार्टीभित्र तरङ्ग पैदा भएको अध्यादेशको बिषयमा राष्ट्रपति गम्भीर नभएको आरोप नेकपा नेताहरुले नै लगाउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.