|

काठमाडौं : लकडाउन बढेपछि सरकारी अस्पतालमा उपचारमा गर्न आउनेको संख्या पनि बढ्दै गएको छ। लकडाउन भएपछि अस्पतालले दिने सबै सेवा बन्द गरिएको थियो। तर, हाल  बहिरंग सेवा पनि दिनुका साथै अस्पतालले दिने सबै सेवा क्रमश: बढाउँदै लगेको छ।

लकडाउन बढ्दै गएपछि उपत्यकाको मुख्य सरकारी अस्पतालले दैनिक तीन सयको हाराहारीमा बिरामीको उपचार गरिरहेको छन्। अस्पतालका नर्स चिकित्सक र कर्मचारी पनि अस्पतालमा भेटिन थालेका छन्। अस्पतालभित्रको फार्मेसीमा औषधि किन्‍नेको भिड विस्तारै बढ्न थालेको छ।

सबै प्रकारका सेवा दिइरहेका छौं : त्रिवि  शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सबै प्रकारका बिरामीलाई सेवा दिन थालेको छ। बिरामीको सेवाका लागि वैशाख ३ गतेदेखि अस्पताल खुला गरेको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख माधव घिमिरेले बताए। उनका अनुसार दैनिक तीन सय बिरामीको उपचार भइरहेको छ। आकस्मिक उपचार गर्न आएका सबैको उपचार हुन थालेको छ।

'बच्चालाई खोप लगाउनका लागि ३ गतेदेखि अस्पताल खोलिएको थियो,' उनले भने,' हड्डी भाँचिएकालाई प्लाष्टर गर्न र शल्यक्रिया गरेको बिरामीको टाँका काटेर ड्रेसिङ गर्ने काम भइरहेको छ।'

नाक,कान र घाँटीको न्यूनतम संख्या निर्धारण गरेर उपचार भइरहेको उनले बताए। शरीरका जटिल अंगको परीक्षण गर्नुपर्ने २५ जनाको उपचार गरिरहेको उनले जानकारी दिए। नयाँ १५ बिरामी र पुरानो १० जना बिरामीको उपचार गरिरहेको उनको भनाइ छ।

छाला, हाडजोर्नी, मानसिक रोगी, शल्यक्रिया तथा एचआइभी संक्रमित बिरामीको पनि परीक्षण भइरहेको उनले बताए। सबैको संख्या कोटा निर्माण गरेर जाँचप्रक्रिया अगाडि बढाइरहेको उनले प्रष्ट पारे।

अस्पताल परिसरमा कोरोना आशंकामा आएका बिरामीहरूको परीक्षण भइरेहको उनले बताए। धेरै जनाको संख्यामा आएका बिरामीलाई बाहिर परीक्षण गरिने उनको भनाइ छ। ज्वरोको बिरामीलाई पहिलो प्राथमिकतामा उपचार गरिरहेको उनले बताए।

गणेशमान सिंह भवनमा १४ बेडको आइसोलेसन निर्माण गरिएको घिमिरेले जानकारी दिए। शिक्षण अस्पतालले कोरोना परीक्षणको लागि स्वाब संकलन गरी टेकु र वीर अस्पतालमा पठाइरहेको छ। कोरोना परीक्षण किट सकिएकोले यहाँ परीक्षण गर्न नसकिएको उनले बताए।

अस्पतालले दिेने कुनै सेवामा कमी छैन : पाटन अस्पताल

लकडाउन सुरु भएदेखि नै पाटन अस्पतालले सेवा सुविधा प्रदान गरिरहेको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए। मानव शरीरको महत्वपूर्ण अंग भएकोले आँखा र दाँतलाई इमर्जेन्सी सेवामा उपचार गरिएको उनले बताए।

नाक,कान र घाँटीको उपचार गर्न आएकालाई पनि इमर्जेन्सीमा राखेर उपचार गरिरहेको उनले प्रष्ट पारे। 'लकडाउनको सुरुवाती दिनमा २ सय ५० जना आउथे,' उनले भने,' अहिले भने दैनिक ५ सयको हाराहारीमा उपचार गर्न आइरहेका छन्।' उपचार गर्न आएका कुनै पनि बिरामीलाई नफर्काइएको उनको भनाइ छ। यहाँ सबैभन्दा बढी महिला डेलिभरी उपचारको लागि आएको उनले बताए।

वीर अस्पतालमा कोरोना किट सकियो

दैनिक ओपिडीमा २ सयको हाराहारीमा बिरामी उपचार गर्न आइरहेको वीर अस्पतालको निर्देशक केदार सेन्चुरीले बताए। उनका अनुसार किडनी, सुगर, उच्च रक्तचाप र फोक्सोका बिरामीहरु उपचार गर्छ आउँछन्। उपचार गर्न आएको कसैलाई फिर्ता पठाएको छैन।

'पहिलेको तुलनामा ओपीडीमा आउने बिरामीको संख्या घटेको छ,' उनले भने,' दैनिक सात सय देखि आठ सय सम्म हुन्थ्यो। अस्पतालको बेडमा १ सय ५० भन्दा बढी बिरामीले उपचार गराइरहेको छन।'

वीर अस्पतालले सबै बिरामीलाई उपचार गरेर पठाइरहेको निर्देशक सेन्चुरीले बताए। नाक, कान र घाँटीको सबैको उपचार गरिरहेको उनको भनाइ छ।

'कोरोना उपचारको लागि पाँच आइसोलेसन बेड निर्माण गरिएको छ,' उनले भने,' अन्य अस्पतालको तुलनामा यहाँ कम छ। भइपरी आएको खण्डमा इमर्जेन्सीको बेडलाई पनि प्रयोगमा ल्याउन सकिन्छ।'

कोरोना परीक्षण किट पनि सकिसकेको उनले जानकारी दिए। स्वास्थ्य मन्त्रालयमा सकिएको खबर गरिसकेको र आज वा भोलिमा अस्पतालमा किट आइपुग्‍ने उनले बताए। 'किटको संख्या हेरेर दैनिक ३० जनाको परीक्षण पनि गरिएको थियो,'उनले भने,' किट सकिँदै गएपछि पाँच जनाको पनि गरिएको थियो।'

टेकुमा दैनिक ४० जनाको कोरोना परीक्षण

दैनिक कोरोना परीक्षणको लागि ४० जना आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरकुमार राजभण्डारी बताउँछन्। उनका अनुसार अदालतमा बयान गर्न ल्याइएका व्यक्ति,अनाथालयका बच्चा र कैदीबन्दी ल्याइन्छ।

'अस्पताललाई पूर्णरूपमा कोरोना अस्पताल बनाइएको छ,' उनले भने,' यहाँबाट रेबिज भ्याक्सिन र एचआइभी संक्रमितको लागि मात्र सेवा दिइरहेको छ।'

ज्वरो र सामान्य खोकी लागेका १० देखि १२ जना उपचार गर्न आइरहेको उनले जानकारी दिए।

अस्पतालमा कोरोना परीक्षणको लागि हिजोदेखि कोरोना किट सकिएर शून्य अवस्थामा झरेको उनले प्रष्ट पारे। यहाँ उपत्यकाभरका  मात्र नभई देशभरका संक्रमितहरूको परीक्षणको लागि ल्याउने गरेको उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.