|

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिका–३ का मदनराज पन्त केही वर्ष अघिसम्म परम्परागत तरिकाले तरकारी खेती गर्थे। उनले आधुनिक प्रविधिबाट व्यवसायिक तरकारी खेती थालेको दुई–तीन महिना मात्र भयो। 

आधुनिक प्रविधि प्रयोग गरी खेतीमा रमाएका पन्त अहिले समय र मेहनत दुबै बचत भएपछि भने खुसी छन्। उनीसँगै अजयमेरुका १५ परिवार अहिले आधुनिक तरकारी खेतीमा रमाइरहेका छन्। 

गाउँपालिका वडा नं. ३ को रिङडी र ठिकिला गाउँ र वडा नं ४ को चिपुर बस्ती अहिले हरियै भएका छन्। तरकारी खेतीको प्रवद्र्धधन गर्ने उद्देश्यले ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र गाउँपालिकको संयुक्त लगानीमा कृषकहरुले टनेल, मल्चिङ प्रविधिमार्फत टमाटर, खुसार्नी र काँक्रा फलाएका छन्। टमाटरको जरामा थोपा सिँचाइको व्यवस्था गरिएको छ।

पन्त कामप्रति सन्तुष्ट छन्। ‘पहिले हामी परम्परागत तरकारी लगाउँथ्यौं। अहिले मल्चिङ र थोपा सिँचाइ प्रविधिमार्फत तरकारी गरिरहेका छौं,’ उनले भने, ‘यसले काम गर्न पनि सजिलो भएको छ।’ बिहानदेखि साँझसम्म उनी बारीमा व्यस्त हुन्छन्।


 
उनले अन्य कृषकलाई पनि यसमा लाग्न प्रेरित गरिरहेका गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले बताए। उत्पादित तकारीको बजारीकरणका लागि पनि गाउँपालिकाले समन्वय गरिदिने अध्यक्ष भट्टले जानकारी दिए। आगामी दिनमा पनि युवालक्षित कार्यक्रम ल्याउने उनले बताए। 

परियोजना अजयमेरुका अधिकृत सिन्धु बोहरा अवस्थी पनि भन्छिन्, ‘असारसम्म २० वटा पोली हाउसहरू निर्माण गर्न सहयोग गर्दैछौं, अर्को आर्थिक वर्षमा पनि किसानको मागअनुसार कृषि र सिँचाइको क्षेत्रमा काम गर्ने योजना छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.