अब अनुसन्धान सुरु गर्छौं : एसएसपी ज्ञवाली

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत,कृष्णकुमार श्रेष्ठ र पूर्वपहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध सांसद अपहरणसम्बन्धी मुद्दा दर्ता गर्न  प्रक्रिया बढाउन काठमाडाैं जिल्ला प्रहरीलाई सरकारी वकिल कार्यालय काठमाडाैंले अनुमति दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंलाई समाजवादी पार्टीका सांसद तथा पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवले दिएको अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरको जाहेरी दर्खास्त पठाएपछि कार्यालयले अनुसन्धान सुरु गर्न अनुमति दिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता हरि रेग्मीले बताए।

वैशाख २२ गते मुद्दा दर्ता भएर २३ गते चलानी गरी २४ गते नै काठमाडौं प्रहरी कार्यालयमा पठाइएको रेग्मीले बताए।  

यता सरकारी वकिलले सांसद अपहरण जाहेरी पठाएपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अघि बढाइने काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए। ‘आज सरकारी वकिल कार्यालयबाट ‘सांसद अपहरण’ जाहेरी आएको छ। हामीले प्रारम्भिक रुपमा घटनाको प्रकृति हेरेर विस्तृत रुपमा अनुसन्धान बढाउने छौँ,' ज्ञवालीले भने।

यसअघि समाजवादी जनता पार्टीका सांसद यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौं ल्याइएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा १०४७ नम्बरमा अपहरणसम्बन्धी जाहेरी दर्ता गरेका थिए। 

सांसद यादवलाई गत वैशाख १० गते नेकपाका सांसद बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी प्रमुख खनालले महोत्तरी पुगेर काठमाडौं ल्याएका थिए। समाजवादी पार्टी र यादवले उनलाई अपहरण गरेर काठमाडौँ ल्याएको आराेप लगाउँदै आएको छ।  

यस्तै सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले समेत आफूहरुले अपहरण नगरेको भन्दै यसअघि नै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.