डिस्चार्ज भएकाहरु भन्छन् : आत्मविश्‍वासले जित्यौँ

|

डडेल्धुरा : धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत सुदूरपश्‍चिम प्रदेशका पाँचैजना निको भएर घर फर्किएका छन्। कोरोना भाइरस (कोभिड- १९) बाट संक्रमित पाँचैजना निको भएर घर फर्केका हुन्।

कोभिड-१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने, अर्का एक कञ्चनपुरका हु्न्। योसँगै सुदूरपश्‍चिममा कोरोनाबाट संक्रमित रहेको संख्या शून्य भएको छ। सुदूरपश्‍चिम तत्काललाई कोरोनामुक्त भएको छ। 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक महिला कोरोना संक्रमण निको भएर शुक्रबार घर फर्किएसँगै सुदूरपश्‍चिम हाललाई कोरोना संक्रमित हुनेबाट शून्यमा झरेको हो।

सेती प्रादेशिक अस्पतालमा कैलालीका दुई महिला र दुई पुरुष गरी चार जना तथा कञ्चनपुरका एक जना पुरुष गरी पाँच कोरोना संक्रमित उपचाररत रहेका थिए। यसअघि चार जना कोरोना संक्रमण निको भएर घर गइसकेको र अन्य एक जना पनि शुक्रबार डिस्चार्ज भएर घर गएसँगै कोरोना संक्रमित शून्य भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। 

३५ दिनदेखि सेती अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-५ की ३४ वर्षीय दीपा शाहीको ६ पटक सम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो। चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो।

शाही नेपालमै पहिलोपटक स्थानीयस्तरबाट कोरोना संक्रमण भएकी महिला हुन्। उनलाई कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घोषणा गरेको थियो।

यसअघि कैलालीको लम्कीका कोरोना संक्रमित युवक निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए। लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय राज विक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर ७ वैशाखमा घर फर्किए हुन्।

भारतबाट आएका लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिआरबाट कोरोना संक्रमणको पुष्टि भएको थियो।

दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको थियो। उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमा उनी डिस्चार्ज भएका थिए। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।

यसैगरी कैलालीको धनगढीका युवक ३० दिनमा कोरोनालाई जितेर घर फर्किएका थिए। सुदूरपश्‍चिमका पहिलो कोरोना संक्रमित धनगढी उप-महानगरपालिका-५ का ३४ वर्षीय अमृत शाही ३० दिन अस्पताल बसेपछि कोरोनालाई जितेर ९ वैशाखमा घर फर्किएका थिए।

लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो। दुबईबाट भारतको राजधानी नयाँ दिल्ली हुँदै नेपाल आएका उनमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

तीनपटक परीक्षण गर्दासम्म उनमा कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो। त्यसपछि दुईपटकसम्म नेगेटिभ ३० दिनसम्म अस्पतालमा उपचार गराएपछि निको भएर डिस्चार्ज भएका थिए।

कञ्चनपुरको बेदकोट नगरपालिका-१० चथरीका ४१ वर्षीय इन्द्र विकको तेस्रो र चौथो रिपोर्ट ‘नेगेटिभ’आएपछि बैशाख १० मा अस्पतालबाट डिस्चार्ज भएका थिए। चैत १३ गते उत्तराखण्डबाट फर्किएका उनलाई कोरोना संक्रमण देखिएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। उनी १९ दिनको अस्पताल बसाइपछि घर फर्किएका थिए।

सुदूरपश्‍चिमकी कोरोना संक्रमित वृद्धा पनि कोरोनालाई जितिन्। कैलालीको लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीय वृद्धा ११ बैशाखमा सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

उनी वीरगञ्जबाट आएर १२ दिन क्‍वारेन्टाइनमा बसेकी थिइन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो। लम्कीचुहा बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएकी ती महिलार्को यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। 

उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाएको निको भएर घर फर्किएकाहरूको भनाइ छ। हिम्मत नहारे कोरोनालाई जित्न सकिने उनीहरू बताउँछन्। 

निको भएर घर फर्किएका अमृत शाहीले ठूलो आत्मविश्वासले कोरोना जितेको प्रतिक्रिया दिएका छन्। ‘सुरुमा डर लागेको थियो। यो महामारीका रूपमा नै फैलिरहेको थियो। पछि बुझ्दै जाँदा खासै केही रहेनछ भन्‍ने लाग्यो। निको भएर घर फर्किएका खबर पनि आउन थालें। त्यसले आत्मविश्वास बढायो’, उनले थाहाखबरसँगको टेलिफोनमा भने,‘मैले हिम्मत जुटाएँ र अहिले सफल भएर घर फर्किएँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.