|

बैतडी : भारतबाट फर्किएर बैतडीका क्वारेन्टाइनमा एक हजार ३ सय बढी नागरिक बसेका छन्। जिल्लाका दशवटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा उक्त संख्यामा नागरिक बसेका हुन्। 

जिल्ला सबै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा कतै समस्या नै समस्या रहेका छन् भने कतै मनोरञ्जन र वाइफाईको समेत व्यवस्था रहेको छ। 

जिल्लाको पुर्चौडी नगरपालिका-८ मा क्वारेन्टाइनमा बसेका नागरिकहरुले समस्या भएको बताएका छन्। यस वडामा ७० जना क्वारेन्टाइनमा बसेको भए पनि नगरपालिकाले ८ वटा कम्बल र ५ वटा मेट मात्रै उपलब्ध गराएको पुर्चौंडी नगरपालिका ८ का उत्तम बोहराले बताए। उनले भने, ‘आफूहरु भारतीय क्वारेन्टाइनमा समस्या झेलेर आएको र स्वदेशका क्वारेन्टाइनमा समेत समस्यामै बस्नुपरेको छ।’

चुहिने विद्यालयको भवनमा रात कटाउनुपरिरहेको उनीहरुले बताएका छन्। चिसोका कारण अन्य स्वास्थ्य समस्या आउन सक्ने स्थानीय कृष्ण साउँदले जानकारी दिए। उनले भने, ‘आफूहरुलाई क्वारेन्टाइनमा बस्न निकै असहज भएको छ,कोरोनाभन्दा नि अरू रोगको डर छ।’

यो विषयमा वडा अध्यक्ष जनक विष्टले क्वारेन्टाइनमा बसेका नागरिकहरुको समस्या समाधानका लागि नगरपालिकासँग बारम्बार आग्रह गरेको भए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे। उनले भने, ‘क्वारेन्टाइनमा व्यवस्थापनका लागि वडामा कुनै आर्थिक स्रोत छैन, नगरपालिकासंग भनेका छौँ।’

जिल्लास्तरीय टोलीले समेत मल्लादेहीका क्वारेन्टाइनको अनुगमन गरिदिन आग्रह गर्दासमेत नगरेको आरोप लागेका छ। नगर प्रवक्ता दलबहादुर धामीले भने नगरपालिकामा ८७६ जना क्वारेन्टाइनमा बसिरहेका र व्यवस्थापनमा केही समस्या भएको स्वीकारे।

क्वारेन्टाइनमै मनोरञ्जन र वाइफाई

बैतडीका केही स्थानमा क्वारेन्टाइनमा समस्या भइरहेका बेला केही स्थानीय तहहरुले क्वारेन्टाइनलाई राम्रोसँग व्यवस्थापन गरेका छन्। स्थानीय तहहरुले क्वारेन्टाइनमा वाइफाई सम्मको समेत व्यवस्थापन गरेका छन्।

जिल्लाको पाटन नगपालिकाले बनाएका क्वारेन्टाइनमा नि:शुल्क इन्टरनेट सेवाका लागि वाइफाई जडान गरेको छ। क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको सूचनामा सहज पहुँचका लागि वाइफाईको व्यवस्था गरिएको नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए।

यस्तै, जिल्लाको दशरथचन्द नगरपालिकाले पनि जगन्नाथ बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा वाइफाई जडान गरेको नगर उपप्रमुख मीना चन्दले जानकारी दिइन्।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको खान र बासको व्यवस्थासहित रेडियो सुन्ने व्यवस्था समेत गरिएको दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। गाउँपालिकाले क्वारेन्टाइनमा राम्रो व्यवस्था गरेको दोगडाकेदार ७ का हरिप्रकाश भट्टले बताए।

यस्तै जिल्लाको सिगास गाउँपालिकाले पनि मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको जनाएको छ। यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले पनि राष्ट्रिय मावि ग्वानीमा क्वारेन्टाइनको मापद अनुसार व्यवस्थापन गरेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.