बजेट र लिपुलेक प्रमुख एजेण्डा

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले लामो विवादपछि बुधबारका लागि स्थायी कमिटी बैठक राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते पार्टी विभाजजनसम्बन्धी अध्यादेश जारी गरेपछि विवाद सतहमै आएका थियो।

चर्को विवादपछि प्रधानमन्त्रीविरुद्ध अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले सचिवालयमै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए। तर प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव फ्याकेपछि दाहाल नेपालको रणनीति विफल भएको थियो। 

उपाध्यक्ष गौतम निवास भैंसेपाटीमा बसेको अध्यक्ष दाहाल नेतृत्वको बैठकले प्रधानमन्त्री ओलीविरुद्धको रणनीति बनाएको थियो। विवादास्पद अध्यादेश र सांसद अपहरण लगायतका विवादमा प्रधानमन्त्री ओलीको नाम जोडिएपछि प्रधानमन्त्रीको कार्यशैलीबाट दाहाल नेपाल  समूह रुष्ट भएको थियो। 

प्रधानमन्त्री ओलीले आफूविरुद्ध घेराबन्दी भइरहदा स्थायी कमिटीको बैठक छल्ने प्रयास गरिररहेका थिए। यसअघि पनि बैशाख २५ गतेका लागि स्थायी कमिटीको बैठक डाकिएको थियो। तर, प्रधानमन्त्री ओलीविरुद्ध एक व्यक्ति एक पदको प्रस्ताव दाहाल नेपाल समूहले प्रस्वात गरेपछि सचिवालय बैठकबाट निस्किएका थिए। त्यसपछि बैठक रोकियो

यी हुन् एजेण्डा

स्रोतका अनुसार भोलिको बैठकका लागि दुई एजेण्डा तय गरिएको छ। पहिलो एजेण्डा, आर्थिक वर्ष २०७७/०७८ को बजेट रहेको छ। अर्थमन्त्री डा. युवराज खतिवडा बजेट तयारीमा जुटिरहेका बेला नेकपाले कोरोना भाइरसका कारण संकटमा परेको अर्थतन्त्र उकास्ने रणनीति तय गर्ने भएको छ। 

त्यसैगरी अर्को एजेण्डामा नेपाली भूमिमा भारतीय अतिक्रमण रहेको छ। नेकपाका दुई अध्यक्षले यसअघि नै नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले सडक बनाएकोप्रति कडा आपत्ति जनाइसकेको छ। यस्तोमा नेकपाले भारतले हडपिरहेको भूमि फिर्ताका लागि सरकारले तय गर्ने रणनीति बनाउने भएको छ।

तर बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठकको एजेण्डाबारे आफूलाई जानकारी नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले दुई अध्यक्षले बैठक बोलाएको बताउँदै एजेण्डबारे जानकारी आइनसकेको उल्लेख गरे। 

'पार्टी अध्यक्षहरुबाट भोलिको लागि स्थायी  बैठक डाकिएको छ। बैठकमा कस्ता एजेण्डाबारे जानकारी आएको छैन', उनले भने, 'तर हामी स्थायी कमिटीको बैठकमै गएर छलफल गछौँ।' 

अध्यादेशबारे छलफल

प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेपछि पार्टीभित्रको विवाद सतामा आएको थियो। भोलिको स्थायी कमिटी बैठकमा अध्यादेशबारे पनि छलफल हुने नेकपाका प्रमुख समेतक देव गुरुङले बताए। 

'प्रधानमन्त्रीज्युले एकलौटी रुपमा अध्यादेश ल्याउनु भयो। त्यसका कारण पार्टीमा शक्ति संर्घष मात्रै भएर फुटको संघारमै पुग्यो', उनले भने, 'त्यसैले भोलिको बैठकमा दुई अध्यादेशको विषयमा छलफल हुनुपर्छ र हुन्छ।'

त्यहीँ छलफल हुन्छ

पार्टीभित्र विवाद रहेको बेलामा बैठक बस्‍न लागेकाले बैठकको एजेण्डा दुई अध्यक्षले नै तय गर्ने जिम्मेवारी यसअघिको सचिवालयले दुई अध्यक्षलाई दिएको नेकपा स्थायी कमिटी सदस्य मणि थापा बताउँछन्। 

'हाम्रो माग स्थायी कमिटीको बैठक थियो। त्यो बस्‍ने भएको छ। अब बैठकमा कस्ता बिषयमा छलफल हुन्छन्, त्यहीँ थाहा हुन्छ', उनले भने, 'मलाई लाग्छ बैठकको एजेण्डा सचिवालयबाट पनि आउला।'

एक व्यक्ति एक पद

पार्टीलाई विधि र प्रणलीमा सञ्चालन गर्नको लागि दाहाल-नेपाल पक्षले एक व्यक्ति एक पदको हुनुपर्ने माग गर्दै आएका छन्। 

स्थायी कमिटीको बैठक स्थगित भएपछि असन्तुष्ट २० जना नेताहरु धुम्बाराहीमा भेला भएका थिए। त्यो बैठकले मुख्यगरी पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गराउन एक व्यक्ति एक पद कार्यान्वयन गराउनुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए।

तर, दाहाल नेपाल समूहले आफूविरुद्ध घेराबन्दी गरेपपछि प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। नेता नेपालले प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गरे पनि उपाध्यक्ष गौतमले स्वीकार गरेका थिए। 

अफ्यारोमा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध घेराबन्दी भएपछि पहिलोपटक स्थायी कमिटीको बैठक बस्‍न लागेको छ। दाहाल-नेपाल समूहले आफूविरुद्ध घेराबन्दी गरिरहेको प्रधानमन्त्री ओलीको निचोड छ। त्यहीकारण ओली बैठकको बीचमै बाहिरिएका थिए। 

'प्रधानमन्त्री ओलीले सचिवालयमा दाहाल-नेपाल समूह भत्काउने गरी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावमा पनि छफल हुन्छ', उनले भने, 'सरकार र पार्टी नेतृत्व धेरै ठाउँमा चुकेको छ। प्रधानमन्त्री ओलीले एकलौटी पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो। सांसद अपहरणमा पनि नाम जोडियो। त्यस बिषयमा छलफल हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.