देशभरका क्‍वारेन्टाइनमा बस्‍नेकाे संख्या १८ हजार ३ सय ५७

|

काठमाडौं : सरकारले आइतबारसम्म करिब ९६ हजार मानिसमा कोरोना परीक्षण गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर विधिमार्फत २८ हजार १ सय ६० वटा र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६७ हजार ७ सय ६९ वटा गरी कुल ९५ हजार ९ सय २९ वटा परीक्षण गरिएको जनाएको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा मात्र पिसिआर विधिबाट १ हजार ४ सय ६९ र आरडिटी २ हजार २० वटा परीक्षण गरिएको जानकारी दिएका छन्।

उनका अनुसार सबैभन्दा बढी परीक्षण सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा भएका छन्। त्यसपछि बागमती प्रदेशमा ११ हजार २ सय ५७ वटा, प्रदेश १ मा ९ हजार १ सय ८६ वटा, प्रदेश ५ मा ८ हजार ७ सय ५१ वटा, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ वटा र गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ वटा परीक्षण गरिएको छ। तर, सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर २ मा भने परीक्षण सबैभन्दा कम भएको छ। त्यहाँ आजसम्म ६ हजार वटा मात्र आरडिटी गरिएको छ। 

मन्त्रालयले आइतबारसम्म क्वारेन्टाइनमा बस्नेहरूको संख्या १८ हजार ३ सय ५७ जना रहेको बताएको छ। आइतबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले क्वारेन्टाइनमा बस्नेहरुको प्रादेशिक विवरणअनुसार सबैभन्दा कम बागमती प्रदेशमा २ सय २७ जना छन्।

त्यसपछि गण्डकी प्रदेशमा ३ सय ६० जना र कर्णाली प्रदेशमा ६ सय ३४ जना रहेका छन्। यसैगरी, प्रदेश १ मा ९ सय ४७ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय २८ जना, प्रदेश नम्बर २ मा २ हजार ६ सय १३ जना र प्रदेश नम्बर ५ मा ११ हजार ९ सय ४८ जना क्वारेन्टाइनमा रहेका छन्। 

आइतबारको अपडेटअनुसार संक्रमित र सम्भावित संक्रमित गरी ३ सय ४६ जना आइसोलेसनमा छन्। तीमध्ये ३५ जना काठमाडौं उपत्यकाभित्र र ३ सय ११ जना काठमाडौंबाहिर रहेका छन्। जसमा सबैभन्दा बढी प्रदेश २ मा १ सय २२ जना, प्रदेश ५ मा १ सय १७ जना, बागमती प्रदेशमा ७१ जना, प्रदेश १ मा २४ जना, सुदूरपश्चिम प्रदेशमा ११ जना र गण्डकी प्रदेशमा एक/जना रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.