|

काठमाडौंः सरकारले काठमाडौंको चोभारस्थित हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह स्थापना लागि प्रक्रिया अघि बढाएको छ। बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौ सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको हो।

सन् २०१० देखि नै प्रयास सुरु भए पनि अहिले भने परामर्शदाता फुलब्राइटले प्रारम्भिक डिजाइन तयार पारिसकेको छ। वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डले हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दगाह निर्माण गर्नेछ।

कार्यतालिकाअनुसार जुनको अन्तिमसम्ममा विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर २०१७ भित्रै निर्माण सुरु गरी २०१९ को डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले जानकारी दिए।

'हिमाल सिमेन्टको जग्गा वाणिज्य मन्त्रालयको नाममा आइसकेको छ, डिजाइन पूर्ण रुपमा आएपछि टेण्डर आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाउँछौ', उनले भने, “यो निर्माणले विदेशबाट आयात हुने सामान र निर्यात हुने सामान आवतजावत हुनका लागि धेरै सहज हुनेछ।'

विश्व बैंकको डेढ अर्ब ऋण सहयोगमा भन्सार, वायर सर्भिस लगायतका अन्य सुविधासहित चार लेयरमा कन्टेनर राख्न सक्नेगरी आधुनिक प्रविधियुक्त बन्दरगाह निर्माणको प्रस्ताव गरिएको छ।

कलकत्ता, विशाखापट्टनम र रसुवा नाकाबाट सामान बोकेर आउने कन्टेनर यहिंबाट चेकजाँचपछि अन्य क्षेत्रमा सामान लगिने छ । हाल विभिन्न भन्सार नाकामा  भन्सार पास गरी सामान आयात गरिँदै आएको छ । निर्यात हुने सबै सामानसमेत यही सुक्खा बन्दरगाहबाट भन्सार छुटपत्र लिएर निर्यातका लागि अनुमतिपत्र दिने गरी व्यवस्था गर्न लागिएको छ । 

सुक्खा बन्दगाह बनेपछि हाल क्लियरेन्सका लागि ११ विभागमा धाउनुपर्ने र यसकै लागि बढी लागत लाग्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले चोभारमा बन्दरगाह स्थापना भएपछि सामान आयात गर्न लाग्ने समय, लागत र भन्सार अवरोध कम हुने बताए ।

“सुक्खा बन्दरगाह बनेपछि आयात, निर्यात व्यापारमा ठूलो परिवर्तन आउनेछ,” उनले भने, 'भारतबाट सामान बोकर आएका कन्टेनर सिधै काठमाडौमा आउने भएकाले पनि नेपालजस्तो भूपरिवेष्ठित मुलुकको कायापलट गर्न सक्नेछ।' 

परामर्शदाता कम्पनीका प्रमुख नेतृत्वकर्ता जितेन्द्र गुरुङका अनुसार बन्दरगाहमा चार तलाको २ सय २० वटा स्लट रहेका छन्। सामान बोकेर आएका ५ सय ५३ कन्टेनर राख्न मिल्नेका साथै १ हजार ३ सय स्क्वारका चारवटा वेयर हाउसको व्यवस्था गरिएको छ।

चोभारमा रहेको जग्गा ८ सय ६ रोपनी जग्गामा सुक्खा बन्दरगाह निर्माणका लागि विस्तृत अध्यन गरी डिजाइन गर्ने काम भइरहेको छ। कार्यकारी निर्देशक बस्नेतले भने, '२०९ रोपनी जग्गामा बन्दरगाहसँगै बाँकी ६ सय ५५ रोपनीमा अन्तर्राष्ट्रियस्तरको प्रर्दशनीस्थल निर्माण गरिँदैछ।'

बोर्डले बन्दरगाह निर्माणका लागि गुरुयोजना तयार गरिसकेको छ। बोर्डले सन् २०३९ मा दैनिक ५ सय ७२ कन्टेनर आयात र ६० वटा कन्टेनर निर्यात गर्ने क्षमताको बन्दरगाह निर्माण योजना बनाएको छ। अहिले दैनिक १ सय १२ कन्टेनर आयात र २१ कन्टेनर निर्यात हुँदै आएका छन्। बन्दरगाहलाई आयातीत सामानसँगै स्थानीय उत्पादनको निर्यात गर्न सहयोग पुग्ने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.