संयोग लम्साल
म एकजना छिमेकीको बिहेमा गएको थिएँ। बिहे धुमधामले नै भएको थियो। चारैतिर चहलपहल थियो र बेहुला, बेहुलीसँगैअरू सबै पनि खुसी नै देखिन्थे। तर, पछाडि पार्किङ गर्ने ठाउँको एक कुनामा उभिएर बेहुलीका बुवा आँसु झारिरहनु भएको रहेछ। बाहिर एकजनालाई बाटो देखाउन निस्कँदा झट्ट उहाँलाई रुमालले आँसु पुछिरहेको देखेँ, अनि नदेखे जस्तो गरी अगाडि गेटतिर नै लागेँ।
'विचरा, कन्यादान गरेको भएर रोएका होलान्' सोच्दै मात्र थिएँ गेटमा लिन गएको मान्छेले नमस्कारभन्दा पनि अगाडि मेरो कानमा आएर 'क्षेत्रीले बाहुनको केटी लगेको रैछ हैन?' भनेर सुटुक्क अभिवादन गर्नुभयो। 'नमस्कार, मैले त कार्ड पनि हेरेर आएको हैन। हुन सक्छ' मैले भने।
त्यसपछि बेहुलीका बा पनि त्यही कारणले पो रुनु भएको हो कि भनेर बुझ्न साह्रै जिज्ञासा लाग्यो। खाना खाने बेला उहाँसँगै गएर छेउमै बसेर खाएँ। 'शुभकामना ! बधाई !' मैले संवाद सुरु गरेँ। 'तिमीले मैले रोएको देखेको थियौ। कसैलाई नभन्नु है बाबु।', उहाँले सिधै मलाई आग्रह गर्नुभयो। मैले सोचेभन्दा सजिलै जानकारी पाउने भएँ भन्ने लाग्यो।
'भन्दिनँ, म कसैसँग खासै बोल्दिनँ। गाह्रो हुन्छ है छोरी बिदा गर्न?', घुमाएर प्रश्न राखेँ। 'छोरी त सानैदेखि होस्टेलमै बसेकी हो बाबु, बिदा गर्न अप्ठ्यारो भएको त हैन। अहिले त छोरी नै त्याग गरेजस्तो भाको छ' मैले प्रश्नको उत्तर पाएँ।
छेउमा अरूहरू भने 'क्षत्री त हो नि। अहिलेको जमानामा क्षत्रीसम्म त चल्छ!' भन्दै खुब आधुनिकताको व्याख्या दिएर प्रगतिशील देखिन खोजिरहेका थिए। यस्ता कुरा सुनेर मेरो शरीरका रौँ ठाडो भएर आए । मैले नजिकै गएर नम्र र जिज्ञासु स्वरमै प्रश्न गरेँ, 'जाति र वर्णको तपाईंहरूलाई किन यति महत्व छ? मलाई बुझाइदिनुस् न।'
कसैले 'बाबु धर्म, धर्म बिर्सिनु हुँदैन कहिल्यै' भन्नु भयो भने कसैले 'परम्परा , परम्परा बिर्सिनु हुँदैन बाबु' भनेर मलाई भन्नुभयो।
अलि jlस्तारमा बुझाउन खोज्नेहरू कसैले यसरी कुरा मिल्दैन परिवारमा बाआमाको चित्त दुख्छ, हजुरबा हजुरआमा रिसाउँछन् , सासूले हेप्छिन् आदि इत्यादि भनेर भन्नुभयो। कसैले त भागवत गीताकै श्लोक सुनाएर भगवान वाणी हो यो, हामीले बनाएको हैन भनेरसमेत भन्नुभयो। त्यसपछि मलाई थप प्रश्न उठाउने इच्छा बाँकी रहेन। विवाहको माहोलमा आफूभन्दा विशिष्टहरूसँग वादविवाद गर्ने चेष्टा पनि मैले गरिनँ किनभने उहाँहरू सबैले आफ्नो अनुभव र जानेका कुराहरू अभिव्यक्त मात्र गर्नुभएको थियो।
कस्तो ज्ञान र कुन तथ्यमा आधारित परम्परा हो जसको लागि लड्न मान्छेले एक अर्काको ज्यान पनि लिन तयार भएको छ? कति भयंकर शक्ति होला त्यो परम्परा ! पछाडि, जसको संरक्षण गर्न यसरी सबै तत्पर छन् र आँसु पनि झार्दछन् ? शास्त्रका ग्रन्थहरू कि समाज? अरू कुनै पनि नियम पालना गर्न नजान्नेलाई यो नियम पालना गर्न कसले बाध्य बनायो? किन मान्छेले जातको सहारा लिएर आफूलाई अरूमाथि राख्न खोजिरहेको छ ? समाजमा विद्यमान भेदभाव तथा आपराधिक घटनाहरू किन वर्णलाई लिएर भइरहेका छन्? प्रश्नहरू धेरै छन् तर तर्क गर्ने धेरै छैनन्। तर्क गर्नेहरू पनि अन्धविश्वासको बबण्डरमा फसेर बोलेको पाउँछु र आफ्नो अहंकारको पोषण गर्न मात्र उत्तरहरू दिएको पाउँछु।
ती कुनै सिद्धान्तका पछाडि तर्क छैन भने त्यो सिद्धान्तलाई धर्मान्ध भनिन्छ धर्मका नाउँमा अन्धो। यो पनि त्यस्तै कुनै सिद्धान्तबाट आएको होला जस्तो अनुभव हुन सक्छ। तर, जुन सिद्धान्त, जुन दर्शनलाई आधार लिएर यो परम्पराको सृजना गरिएको छ।
वेदान्त दर्शन त्यहाँ त सूक्ष्मभन्दा सूक्ष्मस्तरमा तर्क प्रस्तुत गरिएको छ। भौतिक विज्ञानले चिन्ने बाहिरी शरीरदेखि नचिन्ने सूक्ष्म शरीरसम्मको मिहीन ढंगले अति विस्तारमा वर्णन गरिएको छ। जुन सिद्धान्तमा असल जीवनशैलीको वर्णन छ। कुनै पनि अरू सिद्धान्तले वर्णन गर्न नसकेका कुराहरू जहाँ सुन्न पाइन्छन्। जहाँ सेवाभावको महत्त्व देखिन्छ। जहाँ प्रेमबाहेक अरू कुनै बाटो सम्भव नभएको बताइन्छ र जहाँ पुरुष र महिलासमेत एउटै नै हुन्।
हरेक किरा, फट्यांग्रा, वृक्ष , हात्ती, घोडा, मान्छे, कुकुर, बिरालोलगायत : प्राण भएका सबै नै एउटै हुन् भनी अद्वैतको शिक्षा प्रदान गरिएको छ। त्यहाँबाट दीक्षित मानिसमा यति तुच्छ मनोविचारहरू कसरी विकसित भएको हुन सक्छ?
'स' बाट केही सम्भावनाहरू देखिन्छन्। कि त शास्त्रका ज्ञाताहरूले गरेको प्रवचनलाई असलरूपमा बुझ्न नसकेर अल्पज्ञानको सृजना भएको र समय क्रममा घिनलाग्दो रुप लिएको हो। कि त शास्त्रलाई बुझ्ने तर व्यावहारिक बनाउन नसक्ने निरंकुशहरूले आफ्नो फाइदाको लागि यसको दुरुपयोग गरेर, यसको परिभाषा नै परिवर्तन गरेर आफूलाई समाजको माथिल्लोस्तरमा राख्ने दुस्प्रयास गरेका हुन्। इतिहासमा के भएको थियो भनेर ठम्याउन अलि गाह्रो होला। तर अहिलेको अवस्था निकै जटिल भएको र परिवर्तन खोजिरहेको चाँहि प्रस्ट देखिन्छ।
के हो त यो वर्ण? के मान्छेको वर्ण जन्मजातनै हुन्छ त? मलाई त्यस विवाहमा एकजना बुवाले सुनाउनु भएको गीताको चौथो अध्यायको श्लोक १३ मा यो भनिएको छ :
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागश: |
तस्य कर्तारमपि मां विद्ध्यकर्तारमव्ययम् || ४ -१३ ||
मया — म द्वारा
चातुर्वर्ण्यं — चार वटा वर्णको
गुणकर्मविभागश: — गुण र कर्मको विभाग अनुसार
सृष्टं — रचना गरिएको छ
तपाईं आस्तिक हुनुहुन्छ कि नास्तिक एकछिनलाई बिर्सिदिनुहोस् र कुनै महाविश्वविद्यालयको कक्षामा बसेर कुनै महान् दार्शनिकको कुरा श्रवण गरिरहनु भएको छ भन्ने सम्झी माथिको श्लोकको पहिलो भागलाई ध्यान दिएर पढ्नुहोस्।
हरेक मानिस, चाहे नेपाली होस् या अमेरिकी, बेलायती होस् या अफ्रिकी, संसारको कुनै पनि भागमा बस्ने मानिसमा त्रिगुण अर्थात् तीन गुणहरू हुन्छन् :
सत्वगुण (उन्नत गर्ने, भद्रता, ज्ञान र सरलताका गुणहरू)
रजोगुण (सक्रिय बनाउने, शक्ति, जोश, अभिलाषा आदि गुणहरू ) र
तमोगुण (अज्ञानता र अन्य विनाशक गुणहरू)
यी गुणहरूको विभिन्न अनुपातको संयोजनले हरेक मानिसलाई उसको अद्वितीय पहिचान प्रदान गर्छ जुन यस ब्रह्माण्डमै एक मात्र हुन्छ। कसैमा सत्वगुण बढी हुन्छ, कसैमा रजोगुण भने कसैमा तमोगुण। यी गुणहरू वंशानुगत गुण हैनन्, अनन्त सम्भावनाको परिणाम हुन् भनेर बुझ्नुहोस्। यिनै गुण र मानिसको कर्मअनुसार चार प्राकृतिक वर्णहरूको सृजना हुन्छ जसको कुन वंशमा जन्म लिएको हो भन्ने कुरासँग केही पनि सम्बन्ध हुँदैन :
सत्व — सत्व : ब्राह्मण
सत्व — रजस :क्षत्रीय
रजस — तमस : वैश्य
तमस — तमस : शुद्र
जसरी सिसाबाट सूर्यको किरण पसेपछि विभिन्न रङहरूमा परिवर्तन हुन्छन्, त्यसरी नै हामी पनि भित्रबाट एक हुँदाहुँदै बाहिरी रूपमा विभिन्न चरित्रका रंग बोकेर फरकफरक हुने गर्दछौँ। प्राकृतिक ब्राह्मण ती हुन् जो आफ्नो ज्ञानलाई विवेकको प्रयोगले प्रकाशित गर्दछन्। प्राकृतिक क्षत्रीय ती महान् योद्धाहरू र महान् राजनीतिज्ञ हुन् जो धर्मको लागि लड्न, आफ्नो देश बचाउन र निराश्रय तथा कम्जोरहरूको रक्षा गर्न सधैं तत्पर र सक्रिय रहन्छन्।
प्राकृतिक वैश्य ती संयोजक तथा व्यवसायीहरू हुन् जो समाजको आर्थिक स्थिति तथा मजदुरहरूको सामाजिक संरचनाको संयोजन गर्ने गर्दछन्। प्राकृतिक शुद्र ती मजदुरहरू हुन् जसले आफ्नो पसिनाले समाजलाई चलायमान राख्दछन्। पुन: याद रहोस् कि यी वर्णहरू तपाईंले जन्मजात ग्रहण गर्ने हैन र यो पनि याद होस् कि यो विभाजनले कसैलाई कोहीभन्दा सानो अथवा ठूलो बनाउँदैन।
यी वर्णहरूलाई मनबाट बुझ्न मानिसको शरीर सम्झन सकिन्छ। जसरी हाम्रो बुद्धि, हात गोडा, र भित्री अंगहरूले एक आपसमा समन्वय राख्न सकेनन् भने हाम्रो शरीर जीर्ण हुन जान्छ, त्यस्तै चार वर्णका मानिसहरूले एक आपसमा समन्वय राख्न सकेनन् भने समाजले त्यसको गलत परिणाम भोग्नुपर्ने हुन सक्छ। कुनै तथाकथित उच्च वर्णका व्यक्तिहरूको उदयका निमित्त अरू कुनै वर्णका मानिसहरूको कुशलतालाई बलि चढाउन मिल्दैन।
अमेरिकामा पनि ब्राहमण हुन्छन् जो आफ्नो बुद्धिको हरेक पाटो पल्टाएर विवेकसँग खेल्दै आफ्नो जिज्ञासा को तृप्तिको बाटोमै जीवन निर्वाह गर्छन्। कम्युनिस्ट राष्ट्रमा पनि क्षत्रीय हुन्छन् जो हरेक क्षण ब्राह्मणहरूले निकालेको निष्कर्षलाई जनतासम्म पुर्याएर कार्यान्वयन गर्न लागिरहन्छन्।
वर्णलाई वंशानुगत विभाजन गर्नु पूर्ण अज्ञानता हो र त्यो विभाजनलाई स्थान दिनु पूर्ण मूर्खता हो। यस विषयमा सबैभन्दा पहिले राखिने तर्क : 'यसरी वर्णको निर्माण गर्दा परेको बेला आफ्नो वर्णको मानिसहरूसँग आश्रय लिन मिल्छ र सामाजिक सुरक्षाको भाव सृजना हुन्छ।' तर यसले त सामाजिक समूहवादको सृजना गर्छ।
आफ्नोलाई गर्ने भन्ने जुन धारणा वा भनाइ छ, यही त हो सबै समस्याको कारण, हैन र ? 'आफ्नो' लाई गर्ने कि सबैलाई गर्ने? प्रेमलाई सर्वव्यापी बनाउने कि केही मान्छे भित्र सीमित बनाउने? वंशाणुगत जातीय विभाजनलाई त हाम्रा सन्तहरूले परापूर्वकालदेखि निन्दा गर्दै आउनुभएको छ। आदिशंकराचार्यले पनि भन्नुभएको थियो , 'मेरो कुनै जन्म,मरण अथवा वर्ण छैन' त्यहि पनि किन विद्यमान छ त जातीय भेदभाव? यो संरचनाको सृजना कसरी भयो? इतिहासमा यसको केही व्याख्याहरू छन्।
राम्रो गुणहरू भएका वृक्षहरूलाई एक आपसमा अप्राकृतिक रूपमा प्रजनन गराएजस्तै, मानव जातिमा पनि केही वर्ष पूर्व यस्तै प्रयोग गर्न खोजियो। यसलाई जीवविज्ञानमा विकास गरिएको (eugenics) भनेर बुझिन्छ। मातापितामा भएका गुणहरू सन्तानमा प्रकाशित हुन्छन् भन्ने आशयका साथ यो प्रयोग गरिएको थियो। नभन्दै यो प्रयोग सफल पनि भयो। त्यस समय ब्राह्मणका घरमा प्रकाण्ड विद्वानहरूले जन्म लिए र क्षत्रीयहरूले महान् योद्दाहरूलाई जन्म दिए। सबै वर्णहरूका आफ्ना गुणहरू सन्तानमा प्रस्फुटित भएर देखिन थाले। यो प्रयोग केही शताब्दीसम्मको लागि थियो। किनभने त्यसबेलाका विद्वानहरूलाई थाहा थियो कि धेरै वंशपछि यस प्रयोगले उल्टो परिणाम दिनेछ।
अहिलेको विज्ञानले पनि यो कुरामा समर्थन राख्छ कि धेरै पुस्तापछि ती गुणहरू समाप्त हुँदै जान्छन्। त्यसपछि नजिकको साइनोबाट जन्मिएका (inbreeding) को परिणाम भनेको अत्याधिक बोधो लाटो वा अपांग (mutations) हुन्छ। अर्थात कुरूप सन्तानहरूको जन्म हुन थाल्छ जसको प्रमाण हामी सबै छँदैछौँ। यो प्रयोगको लागि गोत्र परम्परा र कुल देवताको पुजन गर्ने परम्परा को सृजना गरियो, जसको महत्व र त्यस पछाडिको विज्ञान हाम्रो बुद्धिमत्ताले भ्याउने खालको पक्कै छैन। हामीले त्यो सबै बिर्सिसकेका छौं।
हरेक जातिको मान्छेले त्यस जातिको धर्मअनुसार केही नियम पालना गर्नुपर्ने थियो। सबै नियम पालना गरेर एकताको भावले बस्न सकेको भए त्यो राम्रो प्रयोग पनि हुन्थ्यो होला तर केही बुद्धि भ्रष्ट लोभी र विद्यालाई पैसा कमाउने माध्यम बनाएका केही ब्राह्मणहरूले यसलाई समाजमा आफ्नो निरंकुशता स्थापित गर्ने साधन बनाए। त्यसपछि जन्म लियो जातीय भेदभावले। त्यसपछि जातले जातिवादको रुप लिन थाल्यो वा रूप दिन थालियो।
एकपटक आफ्नो वरिपरि हेर्नुहोस् न। के घरमा सबै सन्तानले एकै खालको प्रवृत्ति देखाउँछन् ? के राजनीतिज्ञको घरमा व्यापारमा रुचि राख्ने सन्तानको जन्म हुँदैन? के पण्डितहरूका छोराहरू सबै पण्डित बन्ने इच्छा राख्छन् त? विद्रोहीको घरमा आध्यात्मिक सन्तानले जन्म लिँदैन त? के परेको बेला ब्राह्मणले अस्त्र उठाउँदैनन्? के शुद्रको सन्तानले शास्त्रको अध्ययन गर्ने अधिकार राख्दैनन्?
प्रश्नको उत्तर आफैँ दिनसक्नु हुन्छ। अनि अहिले विद्यमान जातीय अपहेलना, हिंसा, क्रुरता र उत्पातको के अस्तित्व छ बुझ्नुहुनेछ। जबसम्म समाजका हरेक मानिसले यो बुझ्दैनन् र अन्धविश्वासमा रहेर धर्म र शास्त्रको नाम लिएर यो विकृति फैलाउने काम रोक्दैनन्, तबसम्म तथाकथित सानो अथवा ठूलो जातको नाममा हिंसाका गतिविधिहरू भइरहन्छन्। केही पत्रकारको छायामा पर्छन् र थाहा हुन आउँछ तर धेरै त थाहै नपाई दबिएर अप्रिय घटना घटिरहन्छन्।
अबदेखि याद गर्नुहोस कि यदि तपाईं आफ्नो सन्तानको कानमा गएर 'आफ्नै जातिको बिहे गर्नुु' भनेर फुक्नुहुन्छ, नगरेको अवस्थामा रुनुहुन्छ। त्यस विषयमा झगडा निम्त्याउनुहुनेछ। कुनै मानिसलाई आफूभन्दा तल देख्नुहुन्छ, तल्लो र माथ्लो जाति भन्ने शब्दहरूको प्रयोग गर्नुहुन्छ र तर्कहीन समूहवादको सृजना गर्ने प्रयत्नमा लागिरहनुहुन्छ भने जातका नाममा हुने अराजकता र हिंसाका कर्ता ती हिंस्रक मात्र हैन तपाईं पनि हुनुहुन्छ।
यस देशबाट परिवर्तनका नाउँमा धर्म त फ्यालियो। तर, धर्मको अल्पज्ञानबाट सृजना भएको विकृतिको पूजा-आराधना चलिरहेको छ। जबसम्म यस्तै प्रवित्तिको जयकार हुन्छ, तबसम्म समाजको खुसी हुने बाटो पनि खुल्दैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।