दाङ : सरकारले सिट क्षमता भन्दा आधा मात्र यात्रु राखेर सार्वजनिक यातायातका साधन सञ्चालन गर्ने प्रस्ताव राखेपनि यातायात व्यवसायीहरू यसमा सकारात्मक देखिएका छैनन्।
कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले एकसय भन्दा कम कोरोना संक्रमित भएका जिल्लामा जेठ २५ बाट जिल्लाभित्र मात्र सवारी साधन सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ। तर ती सवारी साधनको क्षमताभन्दा आधा मात्र यात्रु एक पटकमा राख्ने गरी छोटो दुरीका सवारी साधन सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।
यस्तै, असार १ बाट सिट क्षमताको आधा संख्यामा यात्रु राख्ने गरी लामो दुरीमा यात्रुवाहक सवारीसाधन सञ्चालन गर्ने प्रस्ताव छ। यो प्रस्तावमा यातायात व्यवसायीहरुले भने असन्तुष्टि जनाएका छन्। आधा यात्रु मात्र राखेर सञ्चाल गर्दा यातायात व्यवसायीहरु घाटामा पर्ने बताएका छन्।
पूर्ण सिट क्षमतामा सञ्चालन गर्दा पनि ३० प्रतिशत मात्र बचत हुने गरेकोमा अहिले आधामात्रै यात्रु राखी यातायात सञ्चालन गरे यो क्षेत्र नै धरापमा पर्ने त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले बताए। 'आधा यात्रु मात्र राखेर सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सकिन्छ, तर त्यसका लागि २ वटा विकल्प हामीसँग छन्,’ उनले भने, ‘पहिलो विकल्प भाडा वृद्धि हो, यसो नभए सरकारले अनुदान दिनुपर्छ।’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग गरिरहेको वार्तालाई पर्खेको उनले बताए। देशभर दुई लाख ५० हजार सार्वजनिक यातायातका साधन सञ्चालन छन् भने आफ्नो प्रालिमा मात्र ६५० वटा गाडी सञ्चालनमा रहेको उनले बताए।
जिल्लामा भने १५० वटा सवारीसाधन सञ्चालनमा रहेको सो प्रालिका अध्यक्ष हमालको भनाई छ। जिल्लामा आधादर्जन कम्पनीहरुले सार्वजनिक सवारीसाधन सञ्चालन गर्दै आएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।