|

काठमाडौं : मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीका लागि जाँच नै नहुने छुट्टै बाटो रहेको एक अध्ययनले फेला पारेको छ। विमानस्थलमा बारम्बार अवैध सुनलगायत प्रतिबन्धित वस्तुहरू सजिलै भित्रिन थालेपछि गरिएको अध्ययनले यो तथ्य पत्ता लगाएको हो। 

गत महिना ३३ केजी अवैध सुन विमानस्थलबाटै बाहिरिएपछि सरकारकै एक निकायले गरेको अध्ययनले यस्तो तथ्य फेला पारेको हो। ठूलो परिमाणमा सुन तस्करीको घटना सार्वजनिक भएपछि अर्थ मन्त्रालयले मातहतका निकायमार्फत गरेको अध्ययनमा यो तथ्य सार्वजनिक भएको स्रोतले जनाएको हो।

‘विमानबाट यात्रु बाहिर निस्कँदा सबै एउटै बाटो भएर निस्कनुपर्ने हो, तर वैकल्पिक बाटो पनि प्रयोगमा आएको रहेछ’, भन्सार विभागलाई उद्धृत गर्दै स्रोतले भन्यो।
अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन आन्तरिक टर्मिनल भवन हुँदै सहजै बाहिर आउने गरेको रिपोर्टमा उल्लेख छ। आन्तरिक विमानस्थलमा ब्यागेज चेकिङ नहुने भएकाले तस्करहरूका लागि सजिलो भएको देखिन्छ।

यसरी गोप्य बाटो भेटिएपछि अर्थ मन्त्रालयले सुधारका लागि छलफल सुरु गरेको छ। अवैध सुन बाहिर आएपछि भन्सार विभागले समेत अनुगमन तीब्र बनाएको छ। अनुगमनका क्रममा यात्रुहरूको आवागमन हुने ठाउँबाटै वैकल्पिक बाटो भेटिएपछि निगरानी बढाइएको छ।

पुस २२ मा बरामद भएको ३३ केजी सुन पनि यही बाटो भएर बाहिरिएको हुनसक्ने बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.