व्यापारिक मार्ग विस्तारमा चरम लापरवाही र ढिलासुस्ती आरोप
व्यापारिक मार्ग विस्तारमा चरम लापरवाही र ढिलासुस्ती आरोप
सिमरा : सम्झौता भएको ५ वर्षमा पनि सन्तोषजनक काम नगरेको भन्दै पथलैया–वीरगन्ज व्यापारिक मार्ग कार्यालयले पप्पु कन्स्ट्रक्सन र शर्मा युनाइटेडको बैंक ग्यारेन्टी रकम जफत गरेको छ। व्यापारिक मार्ग बाटो विस्तारका लागि सडक विभाग र निमार्ण कम्पनीहरुबीच २०७३ असार मसान्तमा २ वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको थियो।
तर सम्झौता भएको ५ वर्षमा ५० प्रतिशत पनि काम नगरेको भन्दै शर्मा युनाईटेडको ८ करोड ७७ लाख र पप्पु कन्स्ट्रक्सनको ४ करोड बैंक ग्यारेन्टी रकम जफत गरिएको व्यापारिक मार्ग कार्यालय पथलैयाले जनाएको छ।
सामान्यतया ठेकदार कम्पनीहरुले आफ्नो ठेक्का सकार गर्दा कुल ठेक्का रकमको ५ प्रतिशत बैंक धरौटी राख्नुपर्नेछ भने ठेक्का सम्झौता गर्दा सुरु सम्झौता रकमको १० प्रतिशत सुविधास्वरुप पेस्की रकम प्रदान गर्नुपर्ने हुन्छ। तर त्यसका लागि बैंक धरौटी भने हुनुपर्दछ।
व्यापारिक मार्ग विस्तार कार्यालयबाट पप्पु र शर्मा युनाइटेडले पेस्कीस्वरुप लिएको सुविधा रकम अन्त लगानी गरेको, समयमै काम सम्पन्न गर्न आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन नगरेको भन्दै कारवाहीस्वरुप बैंक धरौटी जफत गरिएको जनाएको छ।
शर्मा युनाइटेडको हिमालयन बैंकं ठमेल र पप्पुको प्राइम कमर्सियल बैंक कमलपोखरी काठमाडौंमा रहेका बैंकमार्फत ग्यारेन्टी रकम जफत गरिएको हो। व्यापारिक मार्ग कार्यालयका प्रमुख संजय मिश्रले भने, ‘यो रकम ठेकदारहरुलाई पेस्कीवापत दिइएको सुविधा थियो अहिले हामीले बैंकंहरुलाई पत्र पठाएर जफत गरिसक्यौं।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।