हलुका टिप्पणी गर्दा आफ्नै गरिमा घट्छ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले हडपेको भूमि समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई पदबाट हटाउने खेल सुरु भएको अभिव्यक्ति यही आइतवार दिए।

प्रधानमन्त्री ओलीले यत्ति मात्रै भनेनन् उनले भारतबाट अतिक्रमित नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा प्रकाशित गरेपछि आफूलाई हटाउन विभिन्न होटलमा गतिविधि हुन थालेको भनेर टिप्पणी गरे। 

मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक कार्यक्रममा उनले यस्तो बताएपछि राजनीतिक वृत्तमा यसको विश्लेषण हुन थालेको छ। 

ओलीले जारी स्थायी कमिटी बैठकमा आफ्नो चर्को आलोचनामा उत्रिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालतर्फ लक्षित गर्दै त्यस्तो गतिविधिका लागि कसैले हतारो नगर्न आग्रहसमेत गरेका थिए। 

तर यसलाई केहीले आफ्नो सत्ता टिकाउन र गल्ती ढाकछोप गर्ने गरी हल्ला फैल्याइएको टिप्पणी गरिएको बताए। अर्कातिर केहीले निम्छरो टिप्पणी गरेर ओलीले आफ्नै गरिमा घटाएको बताएका छन्।

सत्ता गुम्ने डर : युग पाठक

ओलीको यो अभिव्यक्तिपछि राजनीतिक विश्लेषक युग पाठकले भने नेपालमा आफ्नो सत्ता टिकाउन यस्ता हल्लाहरू फैलाउने गरिएको टिप्पणी गरेका छन्। 

यसअघि नेपालमा कुनै पनि पार्टीसँग आवश्यक बहुमत नपुग्ने स्थितीमा सरकार परिर्वतन हुँदा विदेशी शक्तिको चलखेल हुनसक्ने भए पनि अहिले नेकपा एक्लैको दुईतिहाइ नजिक बहुमत भएकाले विदेशीको चलखेल भयो भन्ने प्रधानमन्त्रीको दाबीलाई पत्याउन सकिने ठाउँ नरहेको उनले बताए। 

विश्लेषक पाठकले सुरुदेखि नै प्रधानमन्त्रीमा आफ्नो पद गइहाल्छ कि भन्ने मनोवैज्ञानिक समस्या देखिएको बताए। 

यसअघि कुनै पनि समस्या नभएका बेलासमेत प्रधानमन्त्रीले अर्को पार्टी फुटाउने गरी विधेयक ल्याएर विवादमा तानिएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीलाई बनको बाघले नभइ मनको बाघले समाप्त गर्न खोजेको उनको टिप्पणी छ।

गरिमा घटाए : प्राध्यापक कृष्ण पोखरेल

भारतले आफूलाई पदबाट हटाउन खोजेको भन्ने हलुका आरोप लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै गरिमा घटाएको विज्ञहरुले टिप्पणी गरेका छन्। राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्री ओलीले पार्टीभित्रको अबस्थालाई राम्ररी ब्यवस्थापन गर्न नसक्दा अहिलेको अबस्था आएको बताए। 

नक्सा जारी गरेर जनताको साथ र सहयोग पाउने नाममा छिमेकी देशलाई चिढ्याउने किसिमको अभिव्यक्ति दिनु प्रधानमन्त्रीका लागि मात्रै नभएर सिंगो देशकै लागि घातक हुने उनको निचोड छ। पार्टीभित्रैबाट आफूमाथि आइराखेको संकट मोचनका रुपमा दल विभाजनसम्बन्धी अध्यादेशलाई प्रयोग गर्न खोजे पनि त्यसमा प्रधानमन्त्री ओली असफल भएको विश्लेषक पोखरेलको भनाई छ। 

पदमा रहिरहन प्रधानमन्त्रीले स्वयम् अनेक किसिमका अभिव्यक्ति दिँदा सरकार तथा पार्टी सञ्चालनमा संकट आइपरेकोले दुईवटा डुङ्गामा खुट्टा नराख्न उनेको आग्रह छ।

छिमेकीलाई दोष दिनु गलत : दीप कुमार उपाध्याय

उपाध्यायले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले देशको इज्जत र प्रतिष्ठामा आँच ल्याउने काम गरेको बताए। आफ्ना नेता तथा सांसदहरुलाई अविश्वास गरेर सम्पूर्ण दोष छिमेकी मुलुकलाई लगाउनुले नेपालको कमजोर कुटनीतिलाई उजागर गरेको उनले बताए। 

कूटनीतिमा अपरिपक्वता र अदूरदर्शिता एकदमै खतरनाक विषय भएको भन्दै पूर्वराजदूत उपाध्यायले भारतलाई लक्षित गरि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति देशको लागि नै लज्जाको विषय भएको बताए। 

नेपाल सरकारले नक्सा जारी गरेपछि दुई देशबीच उत्पन्न समस्यालाई कुटनीतिक रुपमा सही तरिकाले समाधान गर्नुको सट्टा प्रधानमन्त्री ओलीले छिमेकी देशलाई चिढ्याउने आशयका गैरजिम्मेवार अभिव्यक्ति दिनु शोभनीय उनको भनाई छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पनि टिप्पणी गरेका छन्। 

नयाँ नक्साबारेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रवक्ता शर्माले कडा टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले नक्सासँग जोडेर अभिव्यक्ति दिएपछि शर्माले पारित नक्सा न प्रधानमन्त्रीले दिएको ब्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी ! भनेर उनले टिप्पणी गरेका छन्। 

‘सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनैतिक पहलको च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक !’ शर्माले भनेका छन्, ‘कोरोनासँग जुध्न सरकार असफलतापछि जनताले परिवर्तन खोजेका छन्, सहयोद्धाहरुले जोगाइदिए। तिनलाई धन्यवाद दिनुस्। विदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस।’

उनले हटाउन लागे भनेर सार्वजनिक रुपमा रूवाबासी गर्नु शोभनीय नहुने बताए। ‘थैली राम्रोसँग नबाँध्ने अनि छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन,’ उनले भनेका छन्। 

शर्माले प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन भन्दै प्रश्न पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.