काठमाडौं : कर्म नेपाली फिल्म क्षेत्रमा रुचाइएका कलाकार हुन्। 'सानो संसार' बाट डेब्यु गरेका कर्मले लुट, रेसम फिलिली, लुकमारी, भ्रम, लभ साशा लगायत थुप्रै फिल्ममा अभिनय गरिसके। कर्मको अभिनय रहेको फिल्म 'लुट-२' प्रदर्शनको तयारीमा छ। त्यसैले उनी अहिले यसै चलचित्रको प्रचारमा व्यस्त छन्।
'लुट-२' को प्रचारमा रहेका कर्मालाई हामीले सोध्यौं, ' कलाकार नबनेको भए तपाई के गर्नुहुन्थ्यो?
कर्मको सोझो जवाफ छ,' आर्मी वा पुलिस बनेर बन्दूक चलाउँथे।'
चलचित्रमा जमेका कलाकारको बन्दूक मोह कसरी? हाम्रो प्रश्नपछि उनले भने :
मेरो फुपाजु ( कृष्ण मोहन श्रेष्ठ) पुलिस फोर्सको चिफ थिए। फुपाजुको व्यक्तित्वबाट प्रभाबित भएर मलाई पनि आर्मी पुलिस बन्न मन लागेको थियो।
उनी भन्छन् 'फुपाजु कहिले काँही हाम्रो घरमा बाबासँग कुरा गर्न आउनुहुन्थ्यो। त्यस बेला म सानै थिए तर पनि उहाँहरुको कुराबाट म एकदमै प्रभावित भएँ र सोचेको थिए कि आर्मी वा पुलिस नै बन्छु।'
आफुमा देशको रक्षा गर्ने देशभक्तीको भावना भएको उनले बताए। आर्मी वा पुलिस बनेर देशलाई सङ्कट परेको बेला सहयोग गर्ने चाहना अझै रहेको उनी बताउँछन्। 'देशको लागि केही गर्ने र बन्दुक चलाउने चाहना पहिला देखि नै थियो। अहिले साथीहरु आर्मी पुलिसमा छन्। कहिले काँही त आफै पनि जाउँ कि जस्तो लाग्छ,' उनले भने।
कलाकारितामा पनि बाल्यकालदेखिकै रुची
आर्मी पुलिस बन्ने सपनापछि फिल्मक्षेत्र उनको अर्को रुचीको विषय थियो। उनलाई गायनमा पनि रुची थियो। अभिनेता बन्ने सपना पालेरै उनले गुरुकुलमा ३ वर्षको प्रशिक्षण लिए।
फिल्ममा प्रवेशको विषयमा कर्म भन्छन् ' म गुरुकुलको विद्यार्थी थिए यहाँको कोर्स सिद्धिए पछि बहिर गएर पढ्ने इच्छा थियो। त्यही बेला सानो संसार फिल्मको लागि अडिसन खुलेको रहेछ एक चोटी अडिसन दिएरै जाउन भन्ने भावना जाग्यो र हाम्रो ब्याजमा पढ्ने प्राय: सबै साथीहरु अडिसन दिन गयौ। अनि म चाँही लिड रोलको लगि छनोट भएँ।'
'सानो संसार' फिल्मको सफलतापछि कर्मले थुप्रै चलचित्रमा अभिनय गरे। सबैमा उनी लिड रोलमै छन् भन्ने होइन। तर जति पनि चलचित्रमा उनले अभिनय गरेका छन्। सबै चलचित्रमा आफ्नो प्रभाव छाडेका छन्। सानो भूमिकामा पनि ठुलो न्याय गर्नसक्ने कर्म 'भर्सटायल एक्टर' का रुपमा चिनिन्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।