रोजगारदाता संस्था र ट्रेड युनियनबीच सहमति

|
फाइल फोटो

काठमाडौं : रोजगारदाता संस्थाहरु र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच लक डाउन अवधिको श्रमिकहरुको तलब भुक्तानीको विषयमा सहमति भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्ध ट्रेड युनियन महासंघबीच लकडाउन अवधिको तलब भुक्तानीका विषयमा सहमति भएको हो।

रोजगारदाता परिषदका सभापति (उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ) चन्द्र प्रसाद ढकालका अनुसार लक डाउनको समयमा चैत महिनाको पुरै तलब दिने तथा बैशाख महिनाको लागि ५० प्रतिशत भुक्तानी दिने सहमति भएको छ । यस्तै जेठ महिनाको हकमा लक डाउनका कारण काममा उपस्थित हुन नसकेकालाई श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति बनेको छ ।

संयुक्त ट्रेड समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यले कुनै पनि श्रमिकलाई लक डाउनको बाहानामा कामबाट ननिकाल्ने र पालैपालो काम दिएर समानुपातिक ढंगले पारिश्रमिक दिने समझदारी भएको बताए। काम गर्न आउने श्रमिक कर्मचारीलाई कार्यस्थलसम्म आउने वातावरण सरकार वा रोजगारदाताले गर्नुपर्ने सहमति भएको उनले बताए।   

यसैगरी लक डाउनको अवधिमा बन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको छ।

उद्योग व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लक डाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित वस्तुगत संघ र सो क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरूले पनि आपसी छलफल गरी सहमति गर्ने समझदारी भएको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.